२०८१ मंसिर ३

प्रधानमन्त्री र शिक्षा मन्त्रीविरूद्ध निर्वाचन आयोगमा कांग्रेसले दियो उजुरी

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मौन अवधिमा अपिल सार्वजनिक गर्दै गृहमन्त्रीसमेत रहेका पार्टी उम्मेदवार रामबहादुर थापा बादलका पक्षमा भोट मागेपछि कांग्रेसले आयोगमा प्रधानमन्त्री र शिक्षामन्त्रीविरूद्ध कारवाही माग गर्दै उजुरी दिएको छ।

आज बागमती प्रदेशमा रिक्त रहेको एक राष्ट्रिय सभा सदस्यका लागि चुनाव भइरहेको छ। बुधबार प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठले बादलका पक्षमा मत माग गर्दै अपिल जारी गरेका थिए।


Advertisement


‘मौन अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीको अध्यक्षको हैसियतले र शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिलमार्फत् मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकोले निर्वाचन आचार सहिंताको ठाडो उलंघन भएको छ,’ कांग्रेसले दिएको उजुरीमा उल्लेख छ।

कांग्रेस संसदीय दलका अधिकृत विजयेन्द्र वीर आलेले दिएको जानकारीअनुसार आचारसंहिता विपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई विजय गराउन मतदातालाई अपिल गर्नुले निर्वाचनमा प्रभाव पर्ने देखिएकोले कारवाही गर्न पत्र दर्ता गरिएको हो।

‘आचार संहिताविपरीत सरकार प्रमुखले नै अमुक उम्मेदवारलाई नै विजय गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको आधारभूत सिद्धान्त विपरित भएको छ,’ उनले भने।

Copy link
Powered by Social Snap