२०८१ मंसिर ३

‘सरकारले हामीलाई भत्ता नदिए हुन्छ तर बिरामीलाई अक्सिजन पुर्‍याइदेओस्’

बिरामीलाई दिइरहेको अक्सिजन सिलिन्डर जब रित्तिन थाल्छ, स्वर्णिम क्षेत्रीको मुटुको ढुकढुकी बढ्न थाल्छ।

उनी बुटवल धागो कारखानामा रहेको कोरोना अस्पतालकी नर्स हुन्।

जब आफैंले औषधि दिइरहेका बिरामी अक्सिजन अभावमा छटपटिन्छन्  उनका आँखा भरिन्छन्।

‘बिरामी मृत्युको मुखमा जान लाग्दैछन् भन्ने थाहा हुँदाहुँदै पनि केही गर्न नसकेकोमा त्यसपछि छटपटी आफ्नै सुरू हुन्छ,’ उनले भनिन्,’बिरामीको सकस देखेर हाम्रा आँखा भरिन्छन्।’

वैशाख २९ गते एकै पटक ५ जना बिरामीको अक्सिजन अभावमा मृत्यु भएको घटनापछि उनी सिलिन्डर खाली हुन थालेपछि आत्तिन थालेकी छन्।

‘अब अक्सिजन सकिँदै छ भन्ने थाहा पाएपछि बिरामीहरू मलाई बचाइदिनुस् भनेर रून थाल्नुहुन्छ, अक्सिजनकै लागि बिरामीका आफन्तले गरेको अनुनय देख्दा उकुसमुकुस भइन्छ, त्यही पनि सकेको गर्छौं,’ स्वर्णिम भन्छिन्।

भैरहवाकी स्वर्णिमले बिएससी नर्सिङको अध्ययन पूरा गरेको ५ वर्ष भयो। नर्सिङ अध्ययन गर्दा नै जोखिम मोलेर काम गर्न मन पराउने स्वर्णिमले तीन वर्ष बुटवलको निजी अस्पतालको एनआइसियूमा काम गरिन्।

२०७६ चैतदेखि नेपालमा कोरोना संक्रमण फैलिएपछि भने उनले जोखिम मोलेरै भए पनि कोरोना संक्रमितको उपचार गर्ने अठोट गरेकी हुन्। लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालन गर्न लागेको कोरोना अस्पतालको लागि करारमा नर्सिङ स्टाफ माग गरेको थियो।


Advertisement


स्वर्णिमले निजी अस्पतालको सेवा छोडिदिइन्।  कोरोना अस्पतालमा करारमा काम गर्ने बाटो रोजिन्। चैतबाटै कोरोना अस्पतालमा करारमा काम गर्न गएकी स्वर्णिम अहिले त्यहाँको एचडियु इन्चार्ज छन्।

झन्डै १४ महिना कोरोना अस्पतालमा काम गरे पनि कोरोना संक्रमण हुनबाट जोगिएकी छिन्।

आफ्नो तर्फबाट नियमित नर्सिङ सेवा र औषधि दिइरहेका बिरामीको अक्सिजन नपाएर मृत्यु हुँदा उनलाई नर्सिङ विषय नै किन पढिएछ जस्तो लाग्छ।

‘हाम्रो तर्फबाट हामीले सकेको सबै गरेका हुन्छौं, नियमित औषधि दिने, बिरामीलाई ढाडस दिने, कत्तिको अप्ठेरो भएको छ उनीहरूलाई कसरी सहज बनाउन सकिन्छ भनेर हामी लागिपरेका हुन्छौं,’ उनले भनिन्, ‘तर श्वासप्रश्वासका बिरामीलाई चाहिने मुख्य अक्सिजन नै नभएपछि हामीले के गर्न सक्छौं र त्यस्तो बेला हामीले गरेका प्रयास र मेहनत सबै बेकार भएजस्तो लाग्छ, यो पेसा नै किन रोजिएछजस्तो लाग्छ।’

नर्सिङ पढ्दा महामारी तथा जोखिमपूर्ण अवस्थामा कसरी आफूलाई सुरक्षित राख्दै बिरामीको सेवा गर्न सकिन्छ भनेर सिकेकी थिइन्। उनलाई त्यतिखेर अहिलेको जस्तो कोरोना महामारी आउला र यसरी काम गर्नुपर्ला भनेर उनले सोचेकी थिइनन्।

‘सामान्य अवस्थामा त जसले पनि काम गरेको हुन्छ। महामारीको समयमा काम गर्न अनुभवको हिसाबले र मानवीयताको हिसाबले पनि विशेष हुन्छ,’ उनले भनिन्, ‘पढ्ने बेला मैले यस्तो महामारी आइहाल्ला सोचेकै थिइनँ।’

उनी कार्यरत कोरोना अस्पतालमा एक महिनायता दैनिक २/३ जनाको मृत्यु भइरहेको हुन्छ। तीमध्ये अधिकांश बिरामीको मृत्यु अक्सिजनकै अभावमा हुने गरेको उनी बताउँछिन्।

संक्रमण निको हुँदै गरेका बिरामीलाई अक्सिजन अभावमा गुमाउनु पर्छ।

‘कतिपय बिरामीको त संक्रमणमुक्त हुँदै गरे पनि अक्सिजन अभावमा मृत्यु हुने गरेको छ,’ उनले भनिन्।

अघिल्लो वर्ष अस्पताल आउने केहीलाई मात्र अक्सिजन आवश्यक पर्ने भए पनि अहिले भने अस्पतालमा भर्ना भएका सबै बिरामीलाई पहिलो आवश्यकता अक्सिजनको हुन्छ। तर अस्पतालमा आउने अक्सिजन आइसियूका बिरामीलाई मात्र पुग्ने भएपछि एचडियुमा भर्ना भएका अधिकांश बिरामीका आफन्त आफैंले अक्सिजन लिएर आउने गरेको उनले बताइन्।

महामारीको समयमा जोखिम मोलेरै काम गरेकी छन्। नियमित तलब र भत्ता नपाएकोमा उनलाई कुनै गुनासो हुने थिएन, त्यसको साटो बिरामीलाई अक्सिजन पुर्‍याइदेओस् भन्ने उनको माग छ।

‘अहिलेको परिस्थितिमा हामीलाई भत्ता दिन सकिनँ भन्यो सरकारले भने पनि केही थिएन। तर बिरामीलाई अक्सिजनको व्यवस्था गरिदिए हुन्थ्यो। हामीलाई नियमित तलबमात्र भए पनि काम गर्छौ तर आफ्नै आँखाअगाडि बिरामी मरिरहेको दृश्य हेर्न नपरोस्,’ स्वर्णिम भन्छिन्।

आफूले सुरक्षाका सामग्री प्रयोग गर्ने र सावधानी अपनाउन सके संक्रमणबाट केही भए पनि सुरक्षित रहन सकिने उनको अनुभव  छ।

‘मैले दुई डोज खोप लगाइसकेको भएर पनि अब संक्रमण हुँदैन कि भनेर ढुक्क छु, त्योसँगै ड्युटी सकिएपछि दिनभरि लगाएको पिपिई, मास्क, ग्लोभ्स निकाल्ने समयमा नाकमुखमा छोइन्छ कि भनेर सावधानीपूर्वक निकाल्ने गर्छु, कसैले हातखुट्टा मात्र धोएर हिँड्ने गर्नुहुन्छ, म भने नुहाएरमात्र घर जान्छु, घरमा गएपछि पनि फेरि नुहाएर कोठामा पस्छु,’ उनले भनिन्।

कोरोना अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई अस्पतालले गतवर्ष होटलमै राखेको भए पनि यस वर्ष भने आर्थिक अभाव भन्दै घरबाटै आउने-जाने गरेको उनले बताइन्। उनी भने भैरहवास्थित घरमा नगई तिलोत्तमा नयाँमिलस्थित मामाको घरमा छुट्टै फ्ल्याटमा बस्ने गरेकी छन्।

बुवाआमा र आफन्तको सहयोग र प्रोत्साहनबाट नै जोखिम मोलेर काम गर्ने उर्जा आउँछ उनलाई।

‘कोरोना अस्पतालमा काम गर्न मैले हिम्मत देखाएको भनेर बुवाआमा पनि खुसी हुनुहुन्छ, तिमीले बिरामीको सेवा गर्‍यौ भने तिमीलाई भगवानले हेर्छन् भनेर हिम्मत दिनुहुन्छ,’ स्वर्णिम भन्छिन्।

Copy link
Powered by Social Snap