२७ वर्षका हज्जु अलीको सुर्खेतको वीरेन्द्रनगरमा आफ्नै मोबाइल पसल छ।
त्यतिमात्र होइन उनले अटो रिक्सा किनेर भाडामा चलाउन दिएका छन्।
कोरोना महामारीको दोस्रो लहरपछि वैशाख १४ देखि सुर्खेत प्रशासनले निषेधाज्ञा जारी गर्यो, यता उनको पसल बन्द भयो। मान्छे घरभित्रै बस्न थालेपछि अटो रिक्सा चल्ने कुरै भएन।
हज्जु लकडाउनको केहीपछि चिनजानका एक बिरामीका आफन्तलाई पुर्याउन अटोरिक्सा लिएर कर्णाली प्रदेश अस्पताल पुगेका थिए।
केहीबेर रोकिए। उनले अस्पतालबाट घर हिँडेका र अस्पताल पुर्याउन बिरामी र उनीहरूका आफन्तले अटो रिक्सालाई पैसा तिरेको देखे। बिरामी र बिरामीका आफन्तले रिक्साचालकसँग बार्गेनिङ गरेको दृष्यले उनको मन खायो। कतिको त खल्तीमै रिक्साले मागेजति पैसा पनि हुन्नथ्यो। उनीहरू मायालाग्दो गरी चालकलाई हेर्थे।
कोभिड-१९ को संक्रमण फैलिरहेका बेला संक्रमितलाई अस्पताल लैजान पहिलेजस्तो सार्वजनिक सवारी साधन पाइँदैनन्।
मुस्किलले पाउने भनेको एम्बुलेन्स हो। निजी एम्बुलेन्समा तिरिनसक्नु भाडा हुन्छ। नि:शुल्क सञ्चालन गरिएका सरकारी एम्बुलेन्समा सबैको पहुँच पुग्दैन।
सुर्खेतमा अहिले जताततै सहज रूपमा उपलब्ध हुने सवारी साधन भनेको अटोरिक्सा हो। निषेधाज्ञाका बेला प्रशस्तै नपाए पनि बिरामीका लागि आवश्यक परिहाले गुहार्न मिल्ने अटो हुन्। कतिपय अटोरिक्सा चालक त डरले बिरामी बोक्नै मान्दैनन्। बोकिहाले भने पनि मूल्य चर्को लिन्छन्।
Advertisement
‘मान्छे हेरेर २/३ किलोमिटर मात्र हिँडालेको ६/७ सय रुपैयाँ अटोरिक्सावालाले लिएको देखियो,’ हज्जुले भने, ‘सक्नेले त जति भने पनि तिरेर अटोमा आउने जाने गरे। गोजीमा दुई/तीन सयमात्र बोकेर अस्पताल गएको मान्छे त कति निरिह हुने। उसको लागि केही विकल्प पनि थिएन।’
त्यसपछि उनले मनमनै सोचे- आफ्नै रिक्सा अघिपछिकै मूल्यमा चलाउँछु बिरामी र आफन्तका लागि।
‘अस्पताल परिसरमा एकछिन बसेर हेरेपछि मैले अटोलाई चाहिने तेल खर्चमात्र उठ्ने गरी अटोमा कोभिडका बिरामी बोक्ने सोच बनाएँ,’ उनले भने।
त्यसपछि उनले आफ्ना लागि स्यानिटाइजर, मास्क, भाइजर र पिपिई सेट किने, सुरक्षित भएर अटो चलाउन। त्यसपछि सुरू गरे अटोमा ‘एम्बुलेन्स’ सेवा।
हज्जुले आफ्नो अटोमा अस्पताल जाने वा अस्पतालबाट घर जाने मानिससँग पैसा नभए नि:शुल्कै सेवा दिन्छन्।
‘तेल खर्चमात्र उठाउने गरेका छौं, आर्थिक स्थिति नाजुक भएर हामी पैसा नै दिन सक्दैनौं भन्नेहरूलाई त नि:शुल्क पनि सेवा दिएकका छौं। त्यस्तो मानिसलाई उल्टै खाना–खाजा किनेर खुवाउँछौं,’ उनले भने।
मान्छेको सामाजिक दायित्व र मानवीयता हुनुपर्छ भन्ने उनलाई लाग्छ। अबरमा परेका मानिसबाट नाफा लिन खोज्नु पाप भएको उनले बताए।
‘यस्तो बेला हरेक व्यक्तिको सामाजिक दायित्व हुन्छ नि। त्यही सम्झिएर आफूले सकेको काम गर्ने हो,’ उनले भने।
हज्जु भने आफ्नो अटो रिक्सामा भनेकै बेला बिरामी बोक्न तयार हुन्छन्। सस्तो मूल्यमा अस्पताल–घर, घर–अस्पताल पुर्याई दिने उनी फोन गर्नेबित्तिकै सेवा गर्न तयार हुन्छन्।
केही समयअघि सुर्खेतको एक अस्पतालले एकजना वृद्ध महिलालाई कोभिड अस्पतालबाट डिस्चार्ज गर्यो। उनीहरू श्रीमान–श्रीमतीमात्र थिए। सहायता गर्ने अरू कोही नभएपछि एम्बुलेन्स जोहो गर्ने उपाय भएन।
सुर्खेतमा सामाजिक कार्यमा संलग्न भएका युवाहरूले उनै हज्जुलाई फोन गरेर घरसम्म पुर्याइदिन लगाए। बेलुका ६ बजे उनीहरूलाई घर पुर्याउन गएका हज्जु राति १२ बजेमात्र घर आएर खाना खाए।
आफ्नो अटो रिक्सालाई महामारीको बेला एम्बुलेन्सको रूपमा सञ्चालन गरेयता उनले यस्ता थुप्रै दिन आफूलाई अबेरसम्म व्यस्त राख्नु परेको छ।
महामारीलाई लक्षित गरी उनले आफ्नो अटोरिक्सालाई ‘अटो एम्बुलेन्स’का रूपमा सञ्चालन गरिरहेका छन्।
उनले सुरूमा सामाजिक कार्य गरिरहेका केही युवासँग यो विषयमा कुरा राखेका थिए। उनीहरूले पनि थप प्रेरणा दिएपछि हज्जुले आफूसँग भएको अटोलाई कोभिडका बिरामी बोक्ने एम्बुलेन्स बनाएका हुन्।
उनले भाडामा दिएको अटोलाई पनि एम्बुलेन्सका रूपमा चलाउन भनेका थिए। तर भाडामा लिएका व्यक्तिले डराएर चलाउन मानेनन्। त्यसपछि हज्जुले आफैं यो काम गरेका हुन्।
‘पहिलेको भन्दा कोरोनाको अहिलेको भेरियन्ट खतरा छ, त्यसले गर्दा मान्छेहरू बढी डराइरहेका छन्। फेरि यहीबेला मानिसलाई अस्पताल पनि गइरहनु परेको छ,’ उनी भन्छन्, ‘एक त कोरोनाको मर्का धेरैलाई परेको छ, त्यसैमाथि सवारीसाधनले मनपरी पैसा लिँदा झन् मर्का पर्छ।’
उनी आफूले अटोरिक्सामा बिरामी बोक्दा पटक्कै डराएनन्। बरू वरपरका मानिस डराए। पिपिई लगाएर अटोरिक्सा चलाउन थालेपछि उनीदेखि नजिकका मानिस डराउँछन्। जुन स्वभाविकै पनि हो भन्ने उनलाई लाग्छ।
हज्जुलाई बिहान ५ बजेदेखि राति १२ बजेसम्म पनि फोन आइरहन्छ। हज्जुले आफ्नो एम्बुलेन्सका रूपमा अटोलाई सञ्चालन गरेयता १०० भन्दा धेरै कोभिडका बिरामी र उनीहरूका आफन्तलाई बोकेका छन्।
वीरेन्द्रनगर उपत्यकाबाहिर बोटेचौर, छिन्चु, गर्पनलगायत ठाउँबाट अटोमा बिरामी बोकेको उनले बताए।
यस क्रममा कतिपयले दिएका आर्शिवाद पनि आफूलाई कमाइसरह लाग्ने उनी बताउँछन्।
हज्जुलाई एकरात साढे ११ बजे फोन आयो। एकजना कोभिड संक्रमितलाई साह्रै समस्या भएर आफन्तले उनलाई फोन गरेका थिए। बाहिर ठूलो पानी परिरहेको थियो। तैपनि उनी राति अटो लिएर १२ बजे संक्रमितको घरमा पुगे। राति साढे १२ बजे नगर अस्पततालमा पुर्याइदिए । त्यसबेला एकजना वृद्ध महिलाले उनलाई चित्त भरिने गरी आर्शिवाद दिइन्।
त्यो क्षण उनका लागि आफ्नो कामप्रति आफैंले गर्व गर्ने क्षण बन्यो।
‘कसैको ज्यान बचाउन पाउँदा खुसी महशुस गर्छु, कमाई भन्ने कुरा त यो महामारीलाई पराजित गराउन सकियो भने छँदैछ नि,’ उनले भने।
यो क्रममा हज्जुलाई दु:ख लागेको विषय भनेको फोन गरेका जतिलाई सेवा दिन नपाउनु हो। उनलाई धेरैले फोन गरिरहेका हुन्छन्। कतिपय फोन उनले बिरामीलाई लैजाँदै गरेका बेला आउँछन्। भनेको समयमा सेवा दिन मिल्दैन।
अहिले सुर्खेतमा उनको अगुवाइमा एम्बुलेन्सका रूपमा सञ्चालनमा आएका अटोक्सिा तीन वटा मात्र छन्।
उनले भने,‘हामीसँग तीनवटा मात्र अटो छन्। बढाऔं भने अरू आउन मान्दैनन्। फोन आए जतिकालाई सेवा दिन सकिएको छैन।’
फोन आएजतिलाई सेवा दिन नसक्नुको एउटा कारण अस्पताल भरिभराउ हुनु पनि हो।
धेरैजसो समय बिरामीलाई अस्पतालमा पुर्याइसकेपछि पनि आधा घन्टासम्म सवारी साधनमै राख्नुपर्छ। किनभने उता अस्पतालमा ठाउँ खाली हुन्न। अनि उनको अरूलाई सेवा दिन सकिने समय खेर जान्छ।
‘भित्र भर्ना प्रक्रिया मिलाउँदासम्म सवारी साधनमै बिरामी राख्नुपर्छ,’ उनले भने, ‘कहिले त अस्पतालभित्र ठाउँ हुन्न। ठाउँ नहोउन्जेल रिक्सामै राख्नुपर्छ।’
महामारीको समयमा जुनसुकै बेला पनि अटोलाई एम्बुलेन्सका रूपमा चलाउने हज्जुलाई सुन्नमा आउने प्रतिक्रियाले पनि दु:खी बनाउँछन्।
‘हामीलाई यिनीहरूले लुटेका छन् भनेर पनि प्रतिक्रिया आउँछ, तर हामी लुट्नका लागि भन्दा पनि समाजका लागि केही गर्नुपर्छ भनेर लागेका हौं,’ हज्जुले भने, ‘सके हौसला बढाइदिनू, त्यति नसके पनि यस्ता चित्त दुख्ने प्रतिक्रिया नदिएको भए हुन्थ्यो।’