कोरोना कहरको दोस्रो लहर बेला नेपालका अस्पतालहरूमा प्राणवायु मानिने अक्सिजनकै अभाव भयो। संकट टार्न सरकारी र सामुदायिक स्तरमा विभिन्न पहल भए। यसले भविष्यमा अक्सिजन अभाव अहिलेजस्तो भयावह नहोला भन्ने आशा गर्न सकिन्छ।
आज हामी आफ्नो घर, छिमेक र समुदायमा प्राकृतिक रूपले अविरल र निरन्तर अक्सिजन प्रवाह कसरी सम्भव तुल्याउन सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं।
हामीले सानैदेखि सुन्दै आएको कुरा हो- स्वच्छ वातावरणका लागि प्रशस्त रूखहरू रोप्नुपर्छ, वनस्पतिले भरिएका उद्यान र वन-जंगल हुर्काउनुपर्छ। आफ्नो वरिपरि बाक्ला, घना र हरिया वन हुर्काउनु नै अक्सिजनको अविरल प्रवाह र दीर्घकालीन जोहो गर्ने सर्वोत्तम उपाय हो। हरिया रूखबिरूवाले कार्बन-डाइअक्साइड सोस्छन् र प्रशस्त मात्रामा शितल हावा (अक्सिजन) दिन्छन्, पानी र माटो बचाउँछन्। त्यही कारणले हरियालीयुक्त वातावरणमा हामी मानव लगायत सम्पूर्ण जीव स्वस्थ र तन्दुरुस्त रहन्छन्।
यहाँ एउटा प्रसिद्ध चिनियाँ उखान सम्झनु उपयुक्त हुन्छ- ‘रूख रोप्ने सबभन्दा उत्तम समय २० वर्षअघि थियो, अर्को उत्तम समय आज हो।’
‘अमरावती कान्तिपुरी नगरी’
म यो अत्यधिक प्रदूषित बन्न लागेको काठमाडौं सहर बाहिर मनोहराको मूलपानीमा जन्मिएको हुँ। टोलको नाम नै वरपिपल, जहाँ वर र पिपलका अतिरिक्त बारीको आलीमा मैले किशोरावस्थामा रोपेका रैथाने उत्तिस, बकैनो, खरी, चाँप, लाँकुरी, असारे र अम्बाका बिरुवाहरू अहिले लक्का-जवान भएर घर वरिपरि सानोतिनो वन नै बनिसकेको छ।
वरपिपलबाट अलि पर प्रसिद्ध राजनिकुञ्ज गोकर्णको वन छ। त्यसदेखि वारि पाखामा दुई-तीनवटा सामुदायिक वन हुर्किइरहेका छन्, जहाँ साँझ-बिहान घुम्दा पर्याप्त अक्सिजनसँगै ऊर्जा र स्फूर्ति मिलेको अनुभूति हुन्छ।
म बालक वा किशोर हुँदा पनि काठमाडौं खाल्डोमा जताततै वन-वनस्पति र हरिया फाँट देखिन्थे। यो उपत्यका मलाई आदिकवि भानुभक्तले बयान गरेझैं ‘अमरावती कान्तिपुरी नगरी’ नै भएको भान हुन्थ्यो। वरिपरि हरिया वन-जंगलले ढाकिएका ककनी, शिवपुरी, नगरकोट, बागेश्वरी, रानीकोट, फूलचोकी, भट्टेडाँडा, चन्द्रागिरि, दहचोक, नागर्जुनजस्ता जैविक विविधतायुक्त पहाड अहिले पनि हरियै छन्, जीवितै छन्।
Advertisement
उपत्यका वरिपरिका ती पहाडबाट कञ्चन पानी बोकेर कयौं नदीनाला बागमतीमा मिसिन आइपुग्छन्। उपत्यकाभित्र नगर तथा गाउँबस्तीबीच थुप्रै हरिया थुम्का, डोल, वन-जंगल, लहलह धान, गहुँ, आलु, काउली आदि बाली झुल्ने खेतबारी अनि फाँटका अवशेष अझै जीवितै छन्।
म सानो छँदा निकै स्वच्छ हावा बहन्थ्यो जस्तो लाग्छ यो काठमाडौं खाल्डोमा। हिजोआज कामको सहजताका लागि भन्दै म प्राय: घना काठमाडौं सहरभित्र बस्छु, जहाँ म पर्याप्त अक्सिजन अभावमा थोरै निस्सासिएको महशुस गर्छु।
तर, जब सप्ताहन्तमा वरपिपल वा पूर्वतिरको मनोहरा फाँट पुग्छु वा त्यस क्षेत्रको गोकर्ण वन वा चांगुनारायण वा नीलबाराहीको वनमा पुग्छु, म पर्याप्त अक्सिजन पाएर पुन: ताजा भएको र शरीरमा नयाँ स्फुर्ति मिलेको महशुस गर्छु। वनको शितल एवं स्वच्छ हावामा घुम्दा वा खेल्दा आफू अत्यन्त ऊर्जाशील भएको अनुभव गर्छु।
रडयार्ड किपलिङको सपनाको उद्यान
काठमाडौं खाल्डो अहिले घरैघर र सहरी बस्ती नै बस्तीले भरिइसकेको छ। पहाडका भित्ता-भित्तासम्म घरहरू बन्ने क्रम तीव्र भइसकेको छ। तर अहिले पनि यो त्यही काठमाडौं हो, जसको बखान प्रसिद्ध अंग्रेजी कवि रडयार्ड किपलिङले सन् १८९३ मा प्रकाशित आफ्नो कवितामा गरेका थिए।
यसबारे वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले गत वर्ष १० साउन, २०७७ को कान्तिपुरमा एउटा लेख प्रकाशित गर्नुभएको थियो। त्यस लेखमै आधारित रहेर काठमाडौंको वानस्पतिक विविधता, सुन्दरता र सम्भावनाको चर्चा पनि भइसकेको छ।
वरिपरि घना वन-वनस्पतिले सुसज्जित एवं सिँगारिएको काठमाडौं खाल्डोलाई १२९ वर्षअघि रडयार्ड किपलिङले आफ्नो कवितामा ‘क्यू’ भनिने ब्रिटेनको शाही उद्यानको ‘वाइल्डेस्ट ड्रिम’ अर्थात् अतिरञ्जित सपना काठमाडौंको वास्तविक यथार्थ अर्थात् ‘फ्याक्ट्स अफ खाटमाडौं’ भएको उल्लेख गरेका थिए।
के काठमाडौंलाई किपलिङको त्यस्तै अतिरञ्जित सपनाको अवस्थामा फिर्ता लैजान सम्भव होला?
नेपालमा तीनथरी वन बचेका छन्- निकुञ्ज वा संरक्षित क्षेत्रका वन, ती बाहिरका सरकारी वन, कुनै मन्दिर क्षेत्र वरिपरिका धार्मिक वन र सामुदायिक वन।
वन मन्त्रालयका अनुसार सन् २०१५ अर्थात् छ वर्षअघिसम्म नेपालको ४४.७४ प्रतिशत भूभाग वन वा झाडी बुट्यानले ढाकेको थियो। देशको कुल भूभागको २० प्रतिशत जमिन त संरक्षित क्षेत्रका रूपमा छुट्याइएको छ।
नेपालमा वन विनाशप्रति चिन्ताहरू व्यक्त भइरहे पनि वनको आँकडा भने आशलाग्दो देखिन्छ। तै पनि काठमाडौं र देशका अन्य केही उपत्यका र समथरको तीव्र सहरीकरण भने चिन्ताको विषय बन्ने गरेको छ।
तथापि विज्ञहरू एउटा कुरामा सहमत हुने गरेका छन्- काठमाडौं उपत्यका मात्र होइन, नेपालको हिमाल, पहाड तथा तराईमा बसाइएका अधिकांश सहर-बजारलाई आउने वर्षहरूमा मनग्गे वन-वनस्पतिको छहारीले सुसज्जित तुल्याउन सकिन्छ र ती सबैतिर प्रशस्त प्राणवायु अक्सिजन प्रवाह गराउन सम्भव छ। नेपालका पहाड तथा भिरपाखाबीच प्रकृतिबाटै वन-वनस्पतिका छहारीप्राप्त थुप्रै बस्तीमा त केही गर्नै नपर्ला। घना बस्ती, सहर तथा बजारमा भने वन-वनस्पतिको छहारी हुर्काउन सके नेपाली नगर-बस्ती अझै स्वस्थ, सुन्दर बन्न पुग्नेछन्।
यसका लागि काम भने गरिहाल्नुपर्छ। त्यो पनि चिनियाँ उखानमा भनिएझैं आजै। किनभने काठमाडौं उपत्यका हेर्दाहेर्दै एउटा घना कंक्रिट जंगलमा बदलिइसकेको छ। यहाँ विभिन्न कामले आउने र यतै अडिने मानिससमेत जोड्दा यो खाल्डोको जनसंख्या ५० लाख पुगिसकेको अनुमान गरिन्छ।
आउँदा दिनमा काठमाडौंमा रहेका खाली भूभागमा वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले सुझाएजस्तै रैथाने जातका वन-वनस्पति तथा उद्यान हुर्काइहाल्नुपर्छ।
स्वप्न नगरी काठमाडौंका वन तथा उद्यान
काठमाडौंमा अहिले पनि प्राचीन वनहरू जीवितै छन्। गोकर्णको वन, पशुपतिको श्लेशमान्तक वन, रानीबारी सामुदायिक वन, बालाजु बाइसधारा उद्यान, स्वयम्भुको थुम्को, युएन पार्क, चोभार आदि पुराना वनका अवशेष हुन्।
बौद्धदेखि उत्तरको कपन, जगडोल र ललितपुरको दक्षिणी भेगमा पनि प्राचीन वन तथा उद्यानहरू जीवितै छन्, जहाँ कोरोना कहरपछि हिँड्ने, दौडने, डुल्ने वा साइकल चढ्नेको भिड बाक्लिन थालेको देखिन्छ।
ती सबै वनमध्ये काठमाडौं महानगरको आकाशमा मडारिने कार्बन सोस्ने र लाखौं मानिसलाई मनग्गै अक्सिजन तथा पानी दिने प्रमुख वन क्षेत्र चाहिँ यी हुन्:
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज
काठमाडौं सहरदेखि उत्तरतिर उपत्यकाको शिर मात्र नभई हावा र पानीको प्रमुख स्रोतका रूपमा रहेको शिवपुरी जलाधार क्षेत्र सन् १९७६ मा स्थापना गरिएको थियो। पछि सन् २००९ मा नागार्जुन क्षेत्रको वनसमेत मिसाएर यसलाई निकुञ्ज बनाइयो।
ककनी, काभ्रेस्थली, शिवपुरीदेखि मणिचुरको टाकुरासम्म फैलिएको शिवपुरी निकुञ्जको आकार बढेपछि प्रकृति संरक्षण अझै प्रभावकारी हुने अपेक्षा छ। पहाडमा घना वन-वनस्पतिको हरियो बाक्लो पछ्यौरी ओढेका शिवपुरी र नागार्जुनका पहाड नहुँदा हुन् त पूरै काठमाडौं उपत्यका सायद कुनै उराठलाग्दो पठारजस्तै देखिन्थ्यो होला।
तर घना वन रहेका नागार्जुन र शिवपुरीले राजधानी उपत्यकालाई स्वच्छ अक्सिजन र पानीसँगै शब्दमा वर्णन गर्नै नसकिने सौन्दर्यले परिपोषित गरिदिएका छन्। बाक्लो सहरसँगैका तिनै घना वन क्षेत्रमा चितुवा, भालु, बनेल, रतुवा लगायत वन्यजन्तु रमाउने गर्छन्।
यो निकुञ्जमा ७० भन्दा बढी प्रजातिका चराचुरुंगी, १०० भन्दा बढी पुतली प्रजाति र १३० थरी च्याउ पाइन्छन्। काठमाडौं उपत्यकासहित नुवाकोट र सिन्धुपाल्चोकका कयौं गाउँवासीसमेत शिवपुरी-नागार्जुनले दिने स्वच्छ अक्सिजन, पानी र वन पैदावारमा आश्रित छन्।
निकुञ्ज वरिपरिका तीनवटै जिल्लामा पर्ने गाउँहरूलाई समेटेर मध्यवर्ती क्षेत्र संरक्षणका कामहरू चलिरहेका छन्। तर पछिल्ला वर्षहरूमा मध्यवर्ती क्षेत्रमा समेत सहरी विकासको क्रम तीव्र भएकाले स्वच्छ हावा र पानीका लागि वन क्षेत्र बढाउन कठिन भइरहेको प्रस्ट छ।
निकुञ्जको फेदैसम्म घरघडेरी विकासका काम सुरू भइसकेकाले संरक्षण चुनौती अझै थपिएको देख्न सकिन्छ। शिवपुरी निकुञ्जभित्रै सुन्दरीजलदेखि माथि रहेका मूलखर्क र ओख्रेनी गाउँ स्थानान्तरण गर्ने योजना अलपत्र छ। शिवपुरी-नागार्जुन निकुञ्ज अझै विस्तार गर्न सके घना काठमाडौंलाई भविष्यमा अक्सिजन र पानीको दु:ख नहुने प्रस्ट छ।
महामञ्जुश्री-नगरकोट क्षेत्र
शिवपुरीदेखि पूर्वतिर झुलेदेखि अलि पारि जहरसिंह पौवाको बाक्लो वन छ। त्यसको लगत्तै पूर्वपट्टि सुरू हुन्छ महामञ्जुश्री समेत भनिने प्रसिद्ध पर्यटकीय गन्तव्य नगरकोट क्षेत्र, जहाँका हरिया र घना वनले वर्षौंदेखि वरिपरिका बासिन्दालाई मनग्गे स्वच्छ अक्सिजन र पानी दिइरहेका छन्।
नगरकोटको पर्यटकीय क्षेत्रबाट सुरू हुने वन काभ्रेको साँगा क्षेत्रसम्मै फैलिएको छ, जहाँ सरकारी वनसँगै स्थानीय समुदायले सामुदायिक वनहरू हुर्काइसकेका छन्। नगरकोटको बाक्लो वन भक्तपुर र पारिपट्टि काभ्रेवासीको पिउने पानीको जलाधार अर्थात् पानीको मुहान पनि हो।
सूर्यविनायक, फूलचोकी क्षेत्र
साँगादेखि दक्षिणपट्टिको पहाड पनि प्राचीन एवं प्राकृतिक वन-वनस्पतिले ढाकेको छ।
अलि पश्चिम लागेपछि प्रसिद्ध तीर्थस्थल सूर्यविनायक र माथिपट्टि रानीकोट क्षेत्रको वन त्यस क्षेत्रका बासिन्दाको जीवनाधार हो।
यही क्षेत्रमा सरकारले नयाँ चिडियाखाना बनाउने योजना अघि सारिसकेको छ। रानीकोटदेखि पश्चिमतिर लाँकुरी भञ्ज्याङ र लामाटार क्षेत्र स्वच्छ हावा र पानीको अर्को स्रोत हो। घना वनयुक्त यी हरिया पहाडविना सूर्यविनायक, दधिकोट र लुभू महालक्ष्मी नगरपालिकाको सौन्दर्य कति बुच्चो लाग्थ्यो होला!
तर अलि दक्षिणतिरको गोदावरी र फूलचोकीका घना वन-वनस्पतिले उत्तरी ललितपुरको प्राकृतिक सम्पदालाई अझै धनी बनाइदिएका छन्।
गोदावरीमा २०१९ सालमा स्थापित नेपालकै पहिलो वनस्पति उद्यान छ, जसको प्रारूप ब्रिटेनका डिजाइनरले तयार गरिदिएका थिए। हरियाली क्षेत्रको बीचबाट गोदावरी नदी बहने यस उद्यानमा कम्तिमा १,००० प्रजातिका वनस्पति संरक्षित छन्।
गोदावरी उद्यानको ठीक दक्षिणतिर माथि फूलचोकीको टाकुरा छ, जहाँ पुग्न घना वन क्षेत्र भएर उकालो लाग्नुपर्छ। यो क्षेत्र चराचुरुंगीको स्वर्ग हो, जहाँ चराप्रेमीको भिड लाग्छ।
अलि पश्चिमतिर सन्तानेश्वरको थुम्कोनजिकै बज्रवाराहीको धार्मिक वन (२० हेक्टर) छ। अझै दक्षिणतिर टीकाभैरव क्षेत्रमा पनि बाक्लो वन छ। उपत्यकाबाट दक्षिणतर्फ मकवानपुरतिर बाहिरिने तीनपाने भञ्ज्याङदेखि पूर्व र पश्चिम पहाड पनि वनैवनले ढाकिएका छन्।
पश्चिमतिर भट्टेडाँडा माथिकै बाटो उपत्यकामा विदेशी विमान अवतरण गर्ने गर्छन्। यो पहाडदेखि देवीचौरसम्मै हरिया वन छन्, जहाँ शितल हावा र स्वच्छ पानीको अभाव खट्कदैन।
दक्षिणकाली-चम्पादेवी-चन्द्रागिरि
चोभारदेखि तलबाट बागमती नदी आफ्नो घुमाउरो बाटो काठमाडौं उपत्यकाबाट बाहिरिने क्रममा महाभारत पहाडमा ठोकिँदै मकवानपुरतिर झर्न थाल्छिन्। जसको किनारै-किनार हिजोआज काठमाडौं-निजगढ द्रुतमार्गको चौडा सडक निर्माणको काम धमाधम चलिरहेको छ।
द्रुतमार्गदेखि पश्चिमपट्टीको निकै अग्लो तर बाँझो भीरमा वृक्षरोपण गरेर वन हुर्काउनुपर्ने देखिए पनि समग्रमा हेर्दा यो क्षेत्र वन सम्पदामा गरिब देखिदैन। सहरदेखि जति पर गयो उति धेरै हरियाली देख्न सकिन्छ।
वरिपरिका पहाड नियालेर हेर्दा पछिल्ला वर्षहरूमा खनिएका डोजर सडकले ठाउँ-ठाउँमा पहाड कोपरेको स्पस्ट देखिन्छ। तै पनि चोभारदेखि तल फर्पिङ र दक्षिणकाली क्षेत्रमा प्राचीन वन र तिनका अवशेष मासिइसकेका छैनन्। अधिकांश ठाउँमा ती जीवित नै लाग्छन्।
पश्चिम र उत्तरपट्टि चम्पादेवी, हात्तीवन, चितलाङ र चन्द्रागिरिका पहाडमा निकै बाक्लो, घना हरिया वन देखिन्छन्। तिनको दीर्घकालीन संरक्षणका लागि शिवपुरी-नागार्जुनजस्तै निकुञ्ज बनाउनुपर्ने सुझाव संरक्षणविद्ले दिने गरेका छन्।
कारण प्रस्ट छ- मध्य नेपालको बागमती प्रदेश र वरपर प्रचुर मात्रामा अक्सिजन प्रवाह गर्ने यी पहाडी हरिया वनले निकै धेरै परिमाणमा वायुमण्डलबाट कार्बन-डाइअक्साइड पनि सोसिरहेका छन्।
श्लेशमान्तक वन
पशुपतिनाथ मन्दिरदेखि पूर्वपट्टि बागमती नदीपारि गौचर क्षेत्रसम्म फैलिएको वनलाई श्लेशमान्तक वन भन्ने गरिएको छ। यो वनबारे रोचक प्रसंग हिन्दू धर्मशास्त्रमा समेत समेटिएको पाइन्छ।
प्राचीन एवं धार्मिक वन भएकाले जोगिएको यो घना हरियो वनले मध्य र पूर्वी काठमाडौंको आकाशको कार्बन-डाइअक्साइड सोस्ने र अक्सिजन प्रवाह गर्ने काम गरिरहेको छ। यहाँका मठमन्दिर वरिपरिका झाडी-बुट्यानबीच अग्ला र ठूला प्राचीन रूखहरू ठडिएका छन्। यो वनभित्र रहेको भनी वर्णित पौराणिक मृगस्थलीको स्वरूपलाई जीवन्त राख्न यहाँ वर्षअघिदेखि केही मृगहरू समेत पालिएका छन्।
मृगस्थलीदेखि पूर्वपट्टिको वन क्षेत्रमा नेपाली सेनाको एउटा ब्यारेक छ। केही वर्षअघि (२०६४ सालतिर) श्लेशमान्तक वनको लगभग बीचतिर पर्ने एउटा खोल्सीबाट ताम्रगंगादेखि तिलगंगा जोड्ने सडक खनियो। तर त्यहाँ सडक चालू गर्दा विश्वरूपको प्रचीन मन्दिरलाई असर पर्न सक्ने भन्दै युनेस्कोले समेत चिन्ता व्यक्त गरेपछि त्यो सडक बन्द गरिएको छ।
यो कदमले श्लेशमान्तक वन संरक्षणमा योगदान दिन सक्छ। श्लेषमान्तक वन २२ हेक्टरमा फैलिएको भनिए पनि पशुपतिनाथको नाममा थुप्रै जग्गा रहेको र तिनको सदुपयोग नभएका विवरण बाहिर आएका छन्।
प्रश्न उठ्छ- के ती सबै जमिनमा श्लेशमान्तक वन तथा उद्यान विस्तार गर्न सम्भव होला? सम्भव हुने भए पहल कहिले थालिएला?
भण्डारखाल बगैंचा
पशुपतिदेखि पश्चिमतर्फ गौशाला र सिफल चौरबीच रहेको भण्डारखाल बगैंचा पनि प्राचीन विस्तारित श्लेशमान्तक वनकै अवशेषझैं लाग्छ।
केही वर्षअघि भण्डारखाल वनभित्र व किनारै किनार हिँड्न र दौडन सहज हुने गरी ढुंगा छापिएको पदमार्ग बनाइयो। कुनै पश्चिमा सहरको उद्यानको झल्को दिने गरी बनाइको बगैंचाको बीचमा एउटा चोक पनि छ। यहाँ बिहान र साँझ हिँड्ने र घुम्ने स्थानीयवासीको घुइरो लाग्ने गरेको छ।
विशाल प्राचीन वृक्षसँगै झाडी-बुट्यान भण्डारखालका निधि हुन्, जसले देवपत्तन वरपरका क्षेत्रको सौन्दर्यसँगै हावा (अक्सिजन) को गुणस्तरसमेत बढाएको छ। कुनै बेला बन्द रहने गरेको भण्डारखाल बगैंचा हिजोआज घना सहरबीच शितल हावा र स्वच्छ अक्सिजन पाइने सुन्दर खेल तथा घुमफिर गन्तव्य बन्न पुगेको छ।
तर केही आलोचकहरूले भण्डारखाल बगैंचाभित्र हिँड्ने संरचना बनाउने क्रममा कयौं प्राचीन रूखहरू मासेर वनलाई ‘छियाछिया पारेको’ आरोप लगाउने गरेका छन्।
गोकर्ण क्षेत्र
श्लेशमान्तक वनदेखि पूर्वतिर पहिले-पहिले गौचर भनिने त्रिभुवन विमानस्थल छ। यहाँदेखि पूर्व गोठाटार मनोहरा क्षेत्रमा तीव्र सहरीकरण रोकिएको छैन। यस क्षेत्रमा हरियो वनबाट प्राप्त हुने शितल एवं स्वच्छ अक्सिजन खोज्ने हो भने गोकर्णको वरपर नै पुग्नुपर्छ।
यहाँ १९१९ सालमा जंगबहादुर राणाले वरिवरि इँटाको पर्खाल लगाई सुरक्षित गरेको राजनिकुञ्ज अहिले १८ होलको गल्फ मैदान (तथा गोकर्ण रिसोर्ट) छ, जुन अहिले एसियाकै प्रसिद्ध गल्फखेल गन्तव्य बनिसकेको छ।
झन्डै ४,५०० रोपनीमा फैलिएको गोकर्णको वनमा १०० भन्दा बढी प्रजातिका वनस्पति पाइन्छन्। डेढ सय वर्षभन्दा पुरानो गोकर्णको वनमा लेकपाङ्ग्रे, रिट्ठा, कपुर लगायत रूख, थरिथरिका जडिबुटीसहित रैथाने वन-वनस्पतिसँगै हरिण लगायत वन्यजन्तु विचरण गर्छन्।
कपन, जगडोल-तारेभीर
गोकर्णको वनसँगै जोडिएको गोकर्णेश्वर क्षेत्र पनि हरियो वन र शितल हावापानीमा धनी छ। गोकर्णेश्वरदेखि पश्चिमपट्टिको सल्लाघारीयुक्त क्षेत्रलाई जगडोल सामुदायिक वन स्थापना गरेर संरक्षण गरिएको छ।
अलि पश्चिमतिर कपनको थुम्को छ, जहाँ धेरै भवन बने पनि हरियाली हटिसकेको छैन। जगडोलको सल्लाघारी वनमा निजामती कर्मचारी उद्यान तथा सहिद स्मारक पनि बनाइएको छ। यहाँ शितल र स्वच्छ अक्सिजनसँगै पुनर्ताजगीका लागि हरेक दिन सूर्योदयदेखि सूर्यास्तसम्म खासगरी स्थानीय युवायुवतीको भिड लाग्ने गर्छ।
जगडोलदेखि अझै उत्तरतर्फबाट सल्लाघारीले ढाकेको लाम्चो पहाडी क्षेत्र सुरू हुन्छ, जुन बुढानिलकण्ठ र शिवपुरी निकुञ्जको तारेभीरसँग जोडिन पुग्छ। यो क्षेत्र निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले संरक्षित रहन सक्ला, तर नगर विस्तार र घरघडेरी विकास क्रम अन्यत्रजस्तै यस क्षेत्रमा पनि शिवपुरी पहाडको फेदी-फेदीसम्मै तन्किसकेका दृश्य सामान्य भइसकेका छन्।
नीलवाराहीको वन
नागबेली परेर बहने मनोहरा नदीले काठमाडौं र भक्तपुर जिल्लाको सिमानाको काम गर्छ। गोठाटार-मूलपानीबाट हेर्दा नीलवाराहीको नाममा रहेको घना वन मनोहरापारि देखिन्छ।
नीलवाराही मन्दिर वरिपरिको घना वनलाई मध्यपुर थिमिको सबभन्दा महत्त्वपूर्ण प्राकृतिक एवं साँस्कृतिक सम्पदा भन्दा फरक पर्दैन। यहाँबाट बहने शितल र स्वच्छ अक्सिजनको प्रत्यक्ष लाभ नजिकैको बोडे, थिमि र दुवाकोटवासीले लिइरहेको हुनुपर्छ।
नजिकै दुवाकोटको पाखा र पूर्वतिर झौखेलका डोलमा पनि सानातिना वन-बुट्यान देख्न सकिन्छन्। अलि धेरै नै हावा चाहिने हो भने चाँगुनारायणको पहाड नै उक्लनुपर्छ। त्यहाँबाट पूर्वतिर खोरिया, छालिङ, तेलकोट र नगरकोटसम्मैका पहाड अझै प्रशस्त वन-वनस्पतिले ढाकेका छन्।
छालिङको पहाडी वन क्षेत्र लगभग शंकरापुर साँखुसम्मै फैलिएको छ, जसले ती क्षेत्रमा प्रशस्त अक्सिजन प्रवाह गरिरहेकै छ।
साँखु सलम्बु बज्रयोगिनी
हरिया वनले ढाकिएका शिवपुरीको मणिचुर, झुले, जहरसिंहपौवा, कार्तिके, नगरकोट र छालिङको आवरण पाएको शंकरापुर साँखु क्षेत्रको हावापानी अझै शितल र स्वच्छ छ। साँखु प्रवेशद्वारमै रहेको सलम्बुदेवी सामुदायिक वन पहिले धार्मिक वन रहेकाले यो क्षेत्र प्राणवायु अक्सिजन प्रवाहका दृष्टिले अझै पनि निकै भाग्यमानी नै मान्नुपर्छ।
शंकरापुर भनिने यो क्षेत्र अझै रमाइलो किन छ भने साँखुदेखि ठिक उत्तरपट्टि बज्रयोगिनीको मन्दिर तथा घना वन छ, जसले यो नगरलाई आदिमकालदेखि नै धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हिसाबले सुरक्षा दिइरहेको भान हुन्छ।
वरिपरि पहाडका घना, हरिया वनले कृषिप्रधान साँखु क्षेत्रमा उत्सर्जन हुने विषाक्त कार्बन अवशोषण गर्दै जीवनका लागि आवश्यक अक्सिजन प्रवाह गरिरहेका छन् निरन्तर।
रानीवारी सामुदायिक वन
शिवपुरीको फेदमा बसेका सबैजसो बस्ती वन-वनस्पतिको हरियाली र स्वच्छ शितल हावापानीका दृष्टिले भाग्यमानी नै छन्। तर काठमाडौं महानगर प्रवेशमा गर्ने हो भने जति-जति भित्र पस्यो वन तथा वनस्पति भेट्टाउन उत्ति नै मुस्किल पर्छ। सडक छेउका रूखहरू मासिने र फेरि रोपिने क्रम जारी छ।
त्यसैले ‘काठमाडौं उपत्यकाको ३६.९४ प्रतिशत भूभागमा वन क्षेत्र रहेको छ’ भन्ने सरकारी आँकडा पत्याउन सकिने स्थिति छैन। जानकारहरू भन्छन् वन वा कृषि क्षेत्र मासिएपछि नै सहरी ‘विकास’ भएको हो।
तीव्र तथा अव्यवस्थित सहरीकरणपछि मनोहरा, बागमती, रुद्रमती, टुकुचा विष्णुमतीजस्ता नदी नगरको फोहर तथा लिदी बग्ने नालीमा परिणत भए।
यस्तो विषमताबीच नारायणहिटीको थोरै हरियालीपछि मध्य महानगरमा कतै हरियाली छ भने त्यो रानीवारीमा छ।
घना सहरले फाल्ने कार्बन सोसेर शितल तथा स्वच्छ अक्सिजन प्रवाह गरिरहेको रानीबारी वनको क्षेत्रफल मुस्किले सात हेक्टर छ। तर यो सानो तथा सुन्दर सामुदायिक वन लैनचौर, लाजिम्पाट र सामाखुसीवासीको लागि भूस्वर्ग हो भन्दा फरक पर्दैन।
मध्यभागमा एक मन्दिरसमेत रहेको यो वन वर्षेपानी संकलन तथा चरा अवलोकनका लागि पनि प्रसिद्ध छ। रानीवारीदेखि उत्तरतर्फ नेपाल प्रहरीको तालिम केन्द्र रहेको भूभागमा पनि केही वन जीवितै छ।
स्वयम्भुनाथ-कीर्तिपुर-चोभार
रानीवारीदेखि पश्चिमतर्फ हरियाली खोज्ने हो भने कि त शिवपुरी-नागार्जुनको जामाचो पुग्नु पर्यो, जुन संरक्षित निकुञ्ज भइहाल्यो। नागार्जुनको छहारीप्राप्त बालाजुमा प्रसिद्ध बाइसधारा उद्यानमा प्रशस्त शितल हावा बहन्छ। मनग्गे अक्सिजन दिने अर्को हरियो वन स्वयम्भुनाथको थुम्को वरिपरि छ, कि त त्योभन्दा पारि पश्चिमतिर सेतो गुम्बा क्षेत्रमा छ।
अझै दक्षिणतर्फ स्युचाटारमाथि ‘स्विट्जरल्यान्ड पार्क’ क्षेत्रमा पनि प्रचुर हरियाली छ। नजिकैका भीमढुंगा वा दहचोकका पहाड पनि वन सम्पदामा धनी छन्, जहाँ प्राचीन वनका अवशेष अझै जीवितै छन्। यसले यो क्षेत्रमा स्वच्छ, शितल हावा मनग्गे बहन्छ र खोल्साहरूबाट अझै पनि कञ्चन पानी कलकल बगिरहन्छन्।
उपत्यकाको पश्चिम पहाडमा फैलिएका यी वनले कलंकी क्षेत्रले उत्सर्जन गर्ने कार्बन-डाइअक्साइड सोसेर प्राणवायु अक्सिजन दिइरहेको प्रस्ट छ।
अब कलंकीबाट दक्षिण लागौं। जहाँको दृश्य यस्तो छ- बल्खुदेखि दक्षिणतर्फ कार्बन सोस्ने र अक्सिजन दिने काम कीर्तिपुर क्षेत्रमा त्रिभुवन विश्विद्यालय क्याम्पस हातामा हुर्काइएका वन-वनस्पतिले गरिरहेको देखिन्छ। तर के त्यत्रो ठूलो आबादीका लागि यति थोरै वन पर्याप्त होला?
अझै पर चन्द्रागिरिको स्वच्छ हावाले सहयोग गरेको हुनसक्छ, वा अझै दक्षिण चोभारको पहाड र बागमती किनारका हरिया वनले यस भेगको प्राणवायु अक्सिजनको माग धानिरहेको देखिन्छ।
बागमती किनारको युएन पार्क
चोभारबाट पूर्व र दक्षिणको ललितपुर हेरौं। बागमतीपारि ललितपुरका दक्षिणी भेगमा प्रशस्तै हरिया वन भए पनि पाटन क्षेत्रमा वन-वनस्पति र उद्यानको अभाव छ। जावलाखेलको चिडियाखाना क्षेत्रमा केही हरियाली भए पनि अन्यत्र कंक्रिट जंगलको दबदबा छ। बागमती किनार पछ्याउँदै केही पूर्व लागेपछि मात्र आँखा नै शितल हुने केही हरियाली देखिन्छ। यो युएन पार्कले सम्भव तुल्याइदिएको हो।
करिब १,२०० रोपनी क्षेत्रफलमा फैलिएको यो पार्कको शिलान्यास राष्ट्रसंघ स्थापनाको ५० औं वर्षगाँठको अवसरमा सन् १९९७ मा गरिएको थियो। तर यसको निर्माण केही वर्षअघि मात्रै पूरा भएपछि ललितपुरको ज्वागल र काठमाडौंको बानेश्वर-बबरमहल क्षेत्रबीचबाट बग्ने बागमती किनारमा राम्रै हरियाली छाएको छ।
अझै पूर्वतिर शंखमूल उद्यान छ। उपत्यकाभित्रका नदी किनारका बगर समेटेर कसरी स्वच्छ अक्सिजन र शितल छहारी दिने हरिया वन तथा उद्यान हुर्काउन सकिन्छ भन्ने उदाहरण युएन पार्कले प्रस्तुत गरिदिएको छ।
नगरमा घना हरियो वन किन?
यहाँ आउजाउ गरिरहने मानिसको बाक्लो संख्यासमेत जोड्दा काठमाडौं उपत्यकाको जनसंख्या ५० लाख नाघिसकेको अनुमान गरिँदैछ। ती मानिस बस्ने घरहरूको संख्या पनि बढेको बढ्यै छ, किनभने यहाँको वार्षिक सहरीकरण दर ४ प्रतिशत पुग्न लागिसकेको छ। घर निर्माण तीव्र भएर हरियाली घटेको अनुमान छ, तर काठमाडौं उपत्यका विकास प्राधिकरणको भनाइमा उपत्यकाको वन क्षेत्र धेरै मासिएको छैन। तर सडक विस्तार, ‘स्मार्ट सिटी’ र बाहिरी चक्रपथजस्ता पूर्वधार निर्माण क्रममा नगरमा बचेखुचेका रूख मासिने चिन्ता जीवितै छन्।
एउटा कुरा चाहिँ सत्य हो- तीव्र सहरीकरणका कारण काठमाडौंको हावा र पानी मात्रै होइन, समग्र पर्यावरण नै प्रदूषित भइसकेको छ। विज्ञहरूको भनाइमा त्यसलाई क्षतिपूर्ति गर्ने एउटा उपाय हो, धेरैभन्दा धेरै रूख रोप्नु र (वृक्षरोपण गर्ने मात्र होइन) बिरुवाको हेरचाह गरेर तिनलाई हुर्काएर संरक्षण गर्नु।
बढ्दो वायु प्रदूषणविरुद्ध लड्न पनि त्यो अत्यावश्यक भइसकेको छ। हेर्नुस् न, भर्खरै सकिएको हिउँद र त्यसपछिको वसन्तको सुरूमा शिवपुरीसहित नेपालको पहाड र तराईका थुप्रै वनमा डढेलो लाग्दा काठमाडौंको वायु प्रदूषण सूचकांक एक्यूआई ५०० नजिक पुग्यो, जुन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ।
नेपाली आकाशमा धुवाँ र तुवाँलो मडारिन थालेपछि पूर्वको भद्रपुर, विराटनगरदेखि मध्यको हेटौंडा र सुदूरपश्चिमको धनगढीसम्म वायु प्रदूषण स्तर कयौं दिनसम्म भयावह अवस्थामा रहिरह्यो।
नेपालमा वायु प्रदूषण त्यति भयावह तहमा पुगेको त्यो पहिलोपटक होइन। औद्योगिक तथा सवारी साधनको धुवाँजन्य प्रदूषण बढ्दा वायुमण्डलमा पुग्ने कार्बन-डाइअक्साइडले पृथ्वी नै तताइदिन्छ। त्यो कार्बन सोसेर पृथ्वीको वातावरणमा सन्तुलन बनाइराख्ने काम बाक्ला, घना तथा हरिया वनले मात्र गर्न सक्छन्।
विज्ञहरूका अनुसार एउटा वयस्क रूखले वर्षमा २० किलोभन्दा बढी कार्बन सोस्न सक्छ। घना हरियो वनले गर्मीलाई समेत २ देखि ८ डिग्री सेल्सियसले कम गर्दै शितलता थप्न सक्छ।
अनि बाक्लो, घना हरियो वनले आकाशबाट बर्सिने पानी सोसेर वा रोकेर पृथ्वीको जलभण्डार बचाइराख्न मद्दत गर्छन्। वन-वनस्पति तथा झाडी-बुट्यानले माटो वा भूसंरक्षणमा समेत बल दिन्छन् र बाढी, पहिरो, भूक्षयजस्ता विपद् रोक्न सहयोग गर्छन्। बाक्लो, घना तथा स्वस्थ हरियो वनले बढाइदिने शोभा र सौन्दर्यको त झन् बयान गरेर साध्य छैन।
बागमती किनारमा अरू उद्यान?
काठमाडौं वरिपरिका पहाड र खोल्साहरूबाट बगेर ६० भन्दा बढी नदीनाला बागमतीमा मिसिन आइपुग्छन्। तर, के युएन पार्क जसरी नै बागमती किनारमा खेर गएका वा मानव अतिक्रमणमा परेका जमिनको सदुपयोग गरेर रूखबिरुवा हुर्काउन सकिएला?
ललितपुरको ज्वागलछेउको बागमतीमा जस्तै सबै नदीनालाका किनारमा खेर गएका बगरमा त्यस्तै उद्यान बनाउन सकिएला?
त्यो काम त्यति सहज नहोला। किनभने नदी किनारमा बसे-बसाइएका स-साना घर-टहरा हटाउनसमेत सरकारी निकायहरू अहिलेसम्म विफल रहँदै आएका छन्। उपत्यकामा जनसंख्या तथा सहरीकरण दर बढेसँगै नदी किनारहरू समेत अतिक्रमणको चपेटामा परेको र अतिक्रमित जमिन फिर्ता लिन निकै कठिन भइरहेको अनुभव बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले सुनाउने गरेका छन्।
उनीहरू बागमती र मनोहरा नदी किनारलाई २०२१ सालको नाप-नक्साअनुसार सीमांकन गर्न अझै पूरै सफल भइसकेका छैनन्।
तीव्र सहरीकरणले चुनौती थपिदिएका छन्। तर विज्ञहरूले भन्ने गरेका छन्, नगर योजनाकारहरूले लन्डन, न्यूयोर्क वा अन्य विकसित देशका ठूला सहरमा जस्तै काठमाडौं र नेपालका अन्य नगरमा पार्क तथा उद्यानको परिकल्पना तथा निर्माण गर्न अझै ढिला भएको छैन।
उनीहरू भन्छन्, सबै नगरवासी र समुदाय प्रचुर मात्रामा सुन्दर एवं सजीव रैथाने वन-वनस्पति उमार्न र हुर्काउन आजदेखि नै जुर्मुराउन र हातेमालो गर्न थाल्ने हो भने काठमाडौं उपत्यका पुन: रडयार्ड किप्लिङको कवितामा बयान गरिएकै जस्तो स्वरूपमा फर्किन सक्नेछ।
वा भनौं, आदिकवि भानुभक्त आचार्यले बखान गरेजस्तै पुन: हराभरा तथा स्वस्थ ‘अमरावती कान्तिपुरी नगरी’ भन्न सुहाउने हुनसक्छ। अनि काठमाडौंले हरियाली र प्रशस्त अक्सिजन प्रवाहको बाटोमा जान पूरै नेपाल र देश बाहिरका गाउँ तथा नगरलाई समेत अभिप्रेरित गर्न सक्नेछ।
वातावरण दिवसको संयोग
जुन ५ तारिख, शनिबार विश्व वातावरण दिवस हो। यो वर्ष ‘इकोसिस्टम रेस्टोरेसन’ अर्थात् ‘पारिस्थितिकीय प्रणालीलाई पुनर्जीवन’ भन्ने नाराका साथ वातावरण दिवस मनाइयो। हामीले हाम्रो वरिपरिको प्राकृतिक जीवनचक्रलाई पुनर्जीवन दिन के-के गर्न सक्छौं?
गएको १०० वर्ष अवधिमा पृथ्वीमा पहिले कहिल्यै नभएको दरमा जैविक विविधता र प्राकृतिक स्रोत विनाश भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरिरहेका बेला अब विश्वभर ‘पारिस्थितिकीय प्रणाली पुनर्जीवन’ को दशक थालनी भएको छ।
यसअनुसार आउने दस वर्षमा पृथ्वीमा प्रकृतिलाई पुनर्जीवन दिन करोडौं रूख रोपेर हुर्काउने, नगरहरू वातावरणमैत्री र हरित बनाउने, उद्यानहरू पुन: जंगली अवस्थामा फर्काउने, मानिसले आहारा बदल्ने र नदी तथा समुद्री तटहरू सफा गर्ने योजना अघि सारिएका छन्।