टिच फर नेपाल (टिएफएन) मा लागेपछि नै हो, मोइन उद्दिनको जीवन स्थिर भएको।
त्यसअघि उनले कहिले रेडियोमा काम गरे, कहिले पत्रपत्रिकामा। विभिन्न संस्थादेखि विभिन्न व्यापारमा समेत हात हाले। टिच फर नेपालमा आएपछि भने उनी सोच्न थालेका छन्, ‘अब जे गर्ने, शिक्षामै गर्ने हो।’
उनले पहिलोचोटि टिएफएनअन्तर्गत सिन्धुपाल्चोक, तालमाराङको श्री तेर्से माध्यामिक विद्यालयमा दुई वर्ष स्वयंसेवकका रूपमा पढाए। अहिले ‘एक्सन डोल्पो’ भन्ने संस्थामार्फत् उपल्लो डोल्पाको धो तारापस्थित क्रिस्टल माउन्टेन स्कुलमा पढाइरहेका छन्।
Advertisement
काठमाडौंमा जन्मे-हुर्केका मोइनले सिन्धुपाल्चोकमा काम गर्दा पहाडको जनजीवन र तामाङ समुदायलाई नजिकबाट बुझ्ने मौका पाएका थिए। त्यसपछिको खाली समय घरमै बसिरहँदा डोल्पामा पढाउने आवेदन देखे। पहाडी जीवनको अनुभव त छँदै थियो, हिमाली जीवनको अनुभव पनि सँगाल्ने हुटहुटी जाग्यो।
मोइनले धेरै नसोची आवेदन भरे। दुई जना मात्र छनोट हुने भनिएकोमा मोइनको नाम थिएन। अन्तिम समयमा एक जना नजाने भएपछि मोइनले अवसर पाए।
एक साताको तालिमपछि उनी चार हजार ८० मिटर उचाइको उक्त स्कुलतर्फ उक्लिए।
‘म आफूलाई भाग्यमानी ठान्छु,’ ३१ वर्षीय मोइनले भने, ‘यहाँ आएपछि धेरै नयाँ अनुभव बटुल्न पाइरहेको छु।’
देश नै कोरोनाका कारण बन्द भएको बेला डोल्पामा भने त्यसको कुनै प्रभाव नभएजस्तो देखिन्छ। उपत्यकाकै स्कुलहरू बन्द भएको एक वर्षभन्दा बढी भयो। गत चैतमा डोल्पा पुगेका मोइन भने निस्फिक्री पढाइरहेको भिडिओ–फोटो अपलोड गरिरहेका हुन्छन्।
‘हामी यहाँ वैकल्पिक माध्यमबाट पढाइरहेका छौं,’ उनले भने, ‘एकदिन टाक्सी भन्ने गाउँका विद्यार्थी आउँछन्, अर्को दिन धो गाउँबाट। यहाँ कोरोनाले त्यति धेरै असर नपुर्याएकाले यसरी पढाउन सम्भव भएको हो।’
यहाँको स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ। मोइन ७ देखि १० सम्मका केटाकेटीलाई अंग्रेजी पढाउँछन्।
सिन्धुपाल्चोकमा पढाउँदा उनलाई सुरूआती दिनमा गाह्रो भएको थियो। राजधानीबाट नजिक भए पनि सानैदेखि विद्यार्थीहरूले नेपाली माध्यमबाट पढेकाले उनले विभिन्न शैली अपनाउनुपर्यो। डोल्पाको यो स्कुल भने उपत्यकाबाट निकै टाढा भए पनि पढाइ अंग्रेजी माध्यममा हुन्छ। विद्यार्थीको अंग्रेजीको शब्दभण्डार समेत राम्रो भएकाले पहिलेभन्दा सजिलो भएको मोइनले बताए।
‘धेरैलाई डोल्पा निकै पिछडिएको ठाउँ भएकाले पढाइ स्तर पनि राम्रो छैन भन्ने लाग्छ। तर मैले यहाँको स्कुलमा धेरै फरक पाएँ,’ उनले भने, ‘यहाँ विभिन्न दाताहरूले सहयोग गरेर पढाइरहेकाले उनीहरूको पढाइ काठमाडौंमै रहेका केही स्कुलभन्दा राम्रो छ।’
सिन्धुपाल्चोक हुँदा उनले तामाङ भाषा र समुदाय बुझ्ने मौका पाएका थिए। डोल्पामा तिब्बती भाषा र शेर्पा समुदायलाई बुझ्दै छन्। उनी यहाँ आएदेखि हिउँ पर्न थालेको थियो। अहिले हिउँ छैन, हुरी भने चलिरहन्छ। प्रायः चिसो नै हुने यो ठाउँमा आलु र उवा उब्जन्छ। अन्य खानेकुरा र तरकारी भने कतिपयले ‘ग्रीन-हाउस’ मा उत्पादन गर्छन्।
उनी बस्ने पनि ग्रीन-हाउसमै हो। आफ्ना लुगाधरि त्यहीँ सुकाउने गरेको उनी बताउँछन्।
यहाँ बोलिने भाषाका नाम पनि मोइनलाई अनौठो लागिरहेको छ। उनीहरू प्रायः बार, तिथि, मितिलाई जोडेर आफ्नो नाम राख्ने गरेको बताउँदै उनले आइतबारदेखि शनिबारसम्म भनिने नामहरू सुनाए– निमा, दावा, मिंग्मार, लाक्पा, फुर्वा, पाल्साङ र पेम्बा।
‘केटाकेटी दुवैको एकैखाले नाम छ,’ उनले भने, ‘नाम पछाडि जोडिने अर्को नामले मात्र उनीहरूलाई फरक भनेर चिन्न मद्दत गर्छ। जस्तो- केटाको नाममा तेन्जिङ र केटीको नाममा स्याङ्मो।’
सिन्धुपाल्चोकमा होस् या डोल्पा, मोइन आफ्नो पढाउने शैलीबाट पनि प्रख्यात छन्।
एमबिएस पढेका मोइन विद्यार्थीहरूलाई परम्परागत ढाँचाभन्दा व्यवहारिक पढाइमा केन्द्रित गर्छन्। किताबी ज्ञानसँगै बाहिरी कुरामा पनि विद्यार्थी राम्रो हुनुपर्छ भन्ने उनको धारणा छ। सिन्धुपाल्चोकमा दुई वर्ष पढाउँदा उनले विद्यार्थीलाई स्कुल क्यान्टिन सञ्चालन गर्न लगाएका थिए। ‘करिअर एक्सपोजर ट्रिप’ भन्दै उनीहरूलाई वर्षको तीनपटक काठमाडौं घुमाउनसमेत ल्याए। यसबाट विद्यार्थीहरूले व्यावसायिक स्थल, कला संग्रहालय, नाटक घर, शैक्षिक मेला लगायतको अनुभव लिन पाए।
ती सबै गतिविधिबाट आफ्नो भविष्यबारे सोध्दा ‘थाहा छैन’ भन्ने विद्यार्थीले सपना देख्न थालेको मोइन बताउँछन्।
हरेक दिनलाई आफ्नो क्यामरामा कैद गर्नु मोइनको रूचि हो। त्यसैले उनी दैनिक ‘भ्लग’ बनाउँछन्। त्यसलाई आफ्नो युट्युबदेखि सामाजिक सञ्जालमा राख्छन्। उनकै भ्लग हेरेपछि सिन्धुपाल्चोकमा उनले पढाएको स्कुललाई नमूना स्कुल बनाउने भन्दै मेलम्ची गाउँपालिकाले २० लाख रूपैयाँ बजेट दिएको उनी बताउँछन्। त्योसँगै सिंगापुरदेखि मान्छे आएर सिन्धुपाल्चोकमा पुस्तकालय बनाउन सहयोग पनि गरेका थिए।
भ्लग बनाउने क्रम डोल्पामा पनि जारी छ। यहाँ उनले आफ्ना विद्यार्थीलाई अभिनय गर्न लगाएर चार छोटा फिल्म पनि तयार गरेका छन् – आस्क फर हेल्प, प्याड इज नट ब्याड, आइ ह्वान्ट टु बी अ रिर्पोटर र कन्डोलेन्स।
उनले सिन्धुपाल्चोकमा पनि चार फिल्म बनाएका थिए – हेयरकट, होमवर्क किन नगरेको?, लंगडो र परिवर्तन।
फिल्मका लागि विद्यार्थीलाई उनले सामान्य तालिम दिए। बाँकी उनीहरूले आफ्नै हिसाबले गरेका हुन्। ‘उनीहरूले आफ्नै शैलीमा बोल्दा संवाद झनै प्राकृतिक र रमाइलो भएको छ,’ उनले अनुभव सुनाए।
फिल्मको स्क्रिप्ट लेख्ने, खिच्ने, सम्पादन गर्नेदेखि सामाजिक सञ्जालमा हाल्नेसम्मको काम मोइन आफैं गर्छन्। उनको फिल्म ‘हेयरकट’ ले ग्लोकलद्वारा आयोजित प्रतियोगितामा तेस्रो पुरस्कार पाएको थियो।
आफूलाई सबै काम छिटो गर्नुपर्ने बताउने मोइनको भविष्यमा लामा फिल्म बनाउने पनि योजना छ। भन्छन्, ‘मसँग काम गर्दाको अनुभव र कथा छन्। तिनलाई भविष्यमा लेखनमा होस् या फिल्ममा उपयोग गर्ने मन छ।’
विद्यार्थीलाई प्रयोगात्मक शैलीमा पढाइरहँदा कहिलेकाहीँ उनी आफैंदेखि दंग पर्ने बताउँछन्, ‘ओहो! मैले यस्तो पनि गरेको थिएँ है भन्ने हुन्छ कहिलेकाहीँ।’
अनि कहिले सोच्छन्, ‘हाम्रा शिक्षकले पनि हामीलाई यसरी नै पढाएको भए कति रमाइलो हुन्थ्यो।’
मोइनलाई फिल्मसँगै लेखनमा पनि रूचि छ। अघिल्लो लकडाउनभरि उनले प्रत्येक दिन कविता लेखेका थिए। त्यसलाई छाप्ने कोही भेटिए उनी छाप्न पनि चाहन्छन्।
त्यसो त सन् २०१३ तिर लेखक बन्ने इच्छा राख्दै उनी सांग्रिला प्रकाशनका संस्थापक मणि शर्मालाई भेट्न गएका थिए। त्यो बेला उनी अनामनगरस्थित काठमाडौं नेसनल मेडिकल कलेजमा कम्प्युटर अपरेटरका रूपमा काम गर्थे। बेलाबेला लेख पनि प्रकाशित गर्ने भएकाले उनको लेखलाई त्यहाँका नर्सहरूले पनि ‘कति राम्रो’ भनेर प्रतिक्रिया दिन्थे।
त्यही क्रममा उनले एक नर्सलाई प्रस्ताव गरे, ‘म तपाईंको जीवनकथा लेखौं?’
प्रस्ताव स्वीकृत भएपछि उनले कथालाई लम्ब्याएर एउटा किताबको पाण्डुलिपि तयार गरे। प्रायः अंग्रेजीमा लेख्ने मोइनले सातादिन लगाएर नेपालीमा लेख्न सिके। एकदिन पत्रिका पढ्दै गर्दा उनले सांग्रिलाका प्रकाशक भनेर मणि शर्माको नाम पढे। त्यसपछि उनले मणिलाई आफ्नो किताबको पाण्डुलिपिसहित इमेल पठाए।
मणिले केही दिनको अन्तरालमा उनलाई कमलादी, गणेशथान नजिकै भेट्न बोलाए। उनीसँगै लेखक आन्विका गिरी पनि थिइन्।
मणिले सुरूमै उनको किताब छापिने/नछापिने बताएनन्। बरू भूमिका बाँधेर सोधे, ‘तिमी लेख्छौ मात्र कि पढ्ने पनि गरेका छौ?’
मोइनले सोझो जवाफ दिए, ‘त्यति पढ्दिनँ।’
मणिले फेरि सोधे, ‘नेपाली साहित्य र लेखकबारे कति थाहा छ?’
उनी फेरि अलमल परे। त्यसपछि मणिले भने, ‘पहिला धेरै पढ र देश-दुनियाँ घुम।’
मोइनको मनमा यो कुरा यति गढेर बस्यो, उनले त्यसपछिका समय पढेर मात्र बिताए। टिच फर नेपालमा पुगेपछि देश-दुनियाँ बुझ्ने अवसर पनि पाइरहेका छन्।
सन् २००९ मा उनी ‘आरजे’ बन्ने सपना बोकेर रेडियो स्टेसनहरू पनि धाएका थिए। टाइम्स एफएममा तीन महिना काम गरे। त्यसपछि हिट्स एफएम पुगे। हिट्स एफएममा साढे दुई वर्ष काम गरेपछि चार महिना भारत भ्रमणमा जाँदा उनको जागिर गुम्यो।
त्यही समय द हिमालयन टाइम्सले ‘इन्टर्न’ मागेको थियो। केही समय इन्टर्न गरेपछि उनले दुई वर्षसम्म ‘लाइफस्टाइल’ मा लेखे।
त्यसपछिको केही समय उनी असनस्थित आफ्नो पुर्ख्यौली पोते व्यवसाय सम्हाल्न थाले। नाम कमाइरहेको पत्रकारिताबाट व्यापारमा लाग्दा कहाँ उनी रम्न सक्थे र?
त्यही उल्झनबीच उनका बुवालाई प्यारालाइसिस भयो, आमालाई पनि मुटुको समस्या देखियो। केही समय उनीहरूकै उपचारमा यताउता धाए। उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएपछि उनी व्यापारमा फर्केनन्। केही समय रेकर्ड नेपालमा लेख्न थाले। केही समय कम्प्युटर अपरेटरका रूपमा काम गरे।
त्यही बेला थियो, उनलाई किताब लेख्ने हुटहुटी जागेको।
यी सबै अनुभवलाई उनी जीवन बुझ्न गरेको ‘एक्सपेरिमेन्ट’ भन्छन्, ‘यिनै अनुभव नै त जिन्दगीका सम्पत्ति हुन्, जसले जीवन बुझ्न सजिलो बनाएको छ।’
मणिसँगको भेटपछि भने उनी आफ्नो जीवनलाई फरक ढंगबाट हेर्न थालेका छन्।
२०७५ सालमा टिच फर नेपालमा काम गर्दा उनले ‘रिफ्रेन्स’ मा दुई जनाको नाम उल्लेख गर्नुपर्ने थियो। एउटा नाम उनले मणिकै राखेका थिए।
पढाउन जाने बेला मोइनले एकपटक मणिसँग भेटेका पनि थिए। त्यो भेटमा उनले परामर्श पनि पाए, ‘तिमी तराई त जति बेला जान पनि सक्छौ। पहाडमा धेरै कथा भेटिन्छन्, त्यतै जाऊ।’
मोइनको त्यति बेलाको उद्देश्य पनि पढाउनुभन्दा कथाहरू सँगाल्नु थियो। पढाउन थालेपछि उनलाई थाहा भयो, यहाँ त कति धेरै सम्भावना रहेछन्, ‘यहाँको समुदाय बुझ्ने, कथालाई फिल्म बनाउने, लेख्ने, शैक्षिक क्षेत्रमा नै लाग्ने लगायत धेरै अवसर पो हुने रहेछ।’
आफ्नो जीवनलाई ‘एक्सपेरिमेन्ट’ गर्ने क्रममा उनले आफूले इच्छाएका कुरा पाएका छन्। त्यही भएर उनलाई लाग्छ– देखेका सपनाहरू पूरा हुन्छन्। मिहिनेत गर्न भने छाड्नु हुन्न।
उनी अनुभवका आधारमा यो पनि भन्छन्, ‘तपाईंले गरेको काम राम्रो भए पनि सबैले प्रशंसा नगर्न सक्छन्। तर उनीहरूले जान–अन्जानमा थाहा पाइरहेका हुन्छन्। आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न भने छाड्नु हुन्न। अरूले के सोच्छन् भन्दा पनि आफूलाई जे राम्रो लाग्छ र जेबाट सन्तुष्टि मिल्छ त्यही गर्ने हो।’
लामो समय एउटै काम गरेपछि हामी एकोहोरो महशुस गर्न थाल्छौं। तर त्यही एकोहोरोपनभित्रै ‘सन्देश’ हुन्छ भन्ने मोइन अहिले बुझ्दैछन्।
‘सबैभन्दा ठूलो कुरा स्थिरता रहेछ। समस्या त आउँछन् तर स्थिर हुन सकियो भने भविष्यमा त्यसले हामीलाई राम्रो परिणाम दिन्छ,’ उनले भने।