नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन्। कुराकानी गर्दै उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने दाबी गरे।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए। तेरो-मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उनले गरे।
प्रस्तुत छ, आसन्न महाधिवेशन, क्रियाशिल सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा कोइरालासँग गरिएको कुराकानी :
Advertisement
आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा?
सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु। अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लाग्न सकेको छैन। यो अन्त्य अन्त्यसम्म आइपुगेको छ। मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियाशिल सदस्यताको अन्तिम टुंग्गो लाग्छ र एउटा खाका तयार हुन्छ, त्यसपछि हामी अधिवेशनतर्फ जान्छौं। अहिले पार्टीको ध्यान नै क्रियाशिलतर्फ छ। आज पनि हाम्रो मिटिङ भएको थियो। क्रियाशिल सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो। केन्द्रीय सदस्यहरू रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरू पनि हुनुहुन्थ्यो। हामी क्रियाशिल सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दे थियौं। क्रियाशिल टुंगो नलगाइकन त हामी महाधिवेशनमा जान सक्क्तैनौं। त्यही नै अवस्था हो।
क्रियाशिल सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन। यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ। कि त्यो आशंका गलत हो?
यो महिना भित्र क्रियाशिल सदस्यता टुंगा लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि। यति जटिल छ नि क्रियाशिल सदस्यको बारेमा, हरेक जिल्लामा केही न केही छ। भन्छन् ४६ जिल्लामा भइसक्यो। त्यसमा पनि उजुरीहरू आएको छ, त्यसलाई पनि हेर्नुपर्यो। तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन। प्रश्न चिन्ह चाहिँ छ। तर, हाम्रो ध्यान त्यतैतिर गएको छ र हामी क्रियाशिल सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौं।
अहिले शीर्ष नेताका तीन जना पुत्र नेताहरूको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन्। अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रित गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन्। खासमा के थियो तपाईंहरूको बैठकमा?
खासमा बिमलेन्द्र निधिले नै इनिसियट गरेको हो। सबैभन्दा पहिले उहाँको वैवाहिक सम्बन्धको ३५ वर्षगाँठको दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो। दोस्रो पटक यहीँ मिटिङ गर्यौं र तेस्रोपल्ट प्रकाशमानजीकोमा। हाम्रो भनाइ के थियो भने हामी पनि एकै ठाउँमा उभिनुपर्यो। सभापतिका लागि हामी तीन जनामध्ये कोही लड्छ भने ठिकै भयो। हामीमध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो। यसमा धेरै कुराहरू उत्पन्न छन्।
बिमलेन्द्र निधिले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ। दोस्रो कुरा हामी तिनै जनामध्ये एक जना लड्ने, तर त्यतिले पुग्दैन। रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ, प्रकाशमान र म त छँदैछु। बिमलेन्द्र निधि हुनुहुन्छ। मैले के भने भने, हामी तीन जनाबाट पाँच जना गरौं, पाँच जनाबाट सात जना गरौं। ताकि हामी एउटै सूत्रमा बाँधिन सकौं भन्ने धारणा हाम्रो थियो। तर, यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन।
हामी तीन जना एक ठाउँमा उभियौं भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ बिमलेन्द्र निधिले। राम्रो पनि भयो। नकारात्मक पक्षहरू पनि छन् तर त्यो भन्दाभन्दै पनि हामीले तिनै जना एकै ठाउँमा (नेता पुत्रहरू) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकै ठाउँमा आउँछ भन्ने संकेत चाहिँ प्रष्टै रुपमा दिएको हो।
मुलुकको राजनीतिक अवस्था प्रतिकूल भएकाले नेतृत्व परिर्वतन नगरौं भन्ने आवाज पनि छ। फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईंहरूको पहल पनि भइरहेको छ। ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको?
समय त आएको छ। मेरो भनाइ के हो भने अधिवेशन आउँदै छ। हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ। किनभने हाम्रो दुर्दशा भएको छ अहिलेको अवस्थामा। यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौं। कसरी हुन्छ परिर्वतन? कसले गर्छ परिर्वतन? त्यो प्रश्न त आजसम्म यथावत नै छ। तसर्थ, हामी तीन जना, पाँच जना, सात जना हुँदै समूहलाई ठूलो पार्दै गयौं भने एकै ठाउँमा उभिन सक्ने सम्भावना हुन्छ। त्यसले पार्टीलाई पनि मजबुत पार्छ। एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एक जना मात्रै उम्मेदवार भयो भने हामी सजिलोसँग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो।
तिनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ, कि त व्यवस्थापन गर्न पर्यो, कि त तिनै जना लड्नुपर्यो। व्यवस्थापन गर्न सकिन्छ? कुनै उपाय छन्?
यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ। होइन भने त तिनै जना लड्नुपर्यो। वार्तामा बसेर कुनै टुंगोमा त पुर्याउनुपर्यो नि। हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर। एक जना मात्रै उभिनुपर्यो नि! तिनै जना उभियौं भने त फेरि परिर्वतन हुँदैन। त्यसैले हामी तीन जनाले यति चाहिँ के भन्नुपर्छ भने हामीमध्ये एक जना उभियौं भने सजिलोसँग नेतृत्व हस्तान्तरण हुन्छ।
अनि त्यो समयमा रामचन्द्र र शेरबहादुरजीको व्यवस्थापन कसरी गर्नुहुन्छ?
शेरबहादुरजीको त धेरै उमेर पनि भइसक्यो। रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ। उहाँको राजनीति धेरै उतारचढाब भयो। तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रुपमा लिनुपर्ने हो ठाउँ। तर उहाँ पनि प्रत्यासी त हुनुहुन्छ। उहाँलाई हामीले सम्झाउन सक्नुपर्यो कि तपाईं अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस्। मलाई लाग्छ शेरबहादुरजीको पनि त्यही नै अवस्था देखिन्छ। धेरै बुढो भइसक्नुभयो। उहाँहरू कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरू आफैं लड्ने विचार गर्दै हुनुहुन्छ। यसरी चाहिँ अप्ठयारो हुन्छ।
अहिले महामन्त्री हुनुहुन्छ। तपाईंको आफ्नो तयारी कस्तो छ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ?
सबैभन्दा पहिले त मैले देशभरिका कांग्रेसका कार्यकर्ताहरूसँग भेटघाट गरिरहेको छु। उनीहरूको राय, सल्लाहा, सुझाव एउटा त्यो भयो। दोस्रो कुरा नेताहरूबीचमा पनि संवाद हुनु जरुरी छ। हुन त कुरा भइरहेको छ, नभएको होइन। शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्रजीसँग पनि कुरा त भइरहेको छ। हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुंगोमा पुग्छौं। म हुन्छु वा को हुन्छ। जो सुकै होस् एक जना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो।
आफ्नो कार्याकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्तिहरू गर्यो, त्यसमा दह्रो गरी बोलेनन्। नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरू भए, त्यो बेला पनि बोलेनन्। जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायत विषयमा त्यसबेला बोले किन?
म भन्न चाहन्छु। एउटा त शेरबहादुर हाम्रो सभापति हुँदा यत्रो हार भयो चुनावमा। उहाँलाई विरोध गरे। म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेण्ड गरें। मैले के भने भने उहाँको मात्रै गल्ती होइन। हामी पनि पदाधिकारीहरू हौं। हाम्रो पनि उतिकै गल्ती हो। म ढाल बनें शेरबहादुरजीको। मैले शेरबहादुरजीलाई धेरै सेभ गरेको हो। र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्नभिन्न छन्, झन् बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुरजीको प्रोटेक्ट गरेको हुँ। नत्र भए त मैले पनि त बोल्न सक्थेँ नि। तपाईंले भन्नुभयो किन बोलिनस् भनेर? त्यही उत्तर म तपाईंलाई दिँदै छु। मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपर्थ्यो। विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टीभित्र? त्यो हिसाबले मैले नबोलेको।
तर यता पार्टी विधान, संविधान भन्दाबाहिर गएर बोलेको चाहिँ? एक पटक होइन तीन-तीन पटक धर्मको बारेमा बोल्दिनुभयो। जुन बेला समय नै थिएन।
हाम्रो संविधान बन्दै थियो। त्यो बेला मैले सशील दालाई भने- हेर्नुहोस् सुशील दा, यो बिपी कोइरालाले बनाएको पार्टी, यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो। तपाईंले धर्मनिरपेक्षता किन गर्दे हुनुहुन्छ? उहाँ हतारमा हुनुहुन्थ्यो। ५-७ दिन मात्रै बाँकी थियो। उहाँले भन्नुभयो- यो प्रेसर छ मलाई के गर्छस्। पछि यो चेञ्ज गरौंला। त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन। किनभने संविधान नै दिनुभएन भने त सुशील कोइराला पनि फेलियर भएर जानुहुन्छ। उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि। यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धी हो नि। त्यो उपलब्धी पनि जान सक्ने संभावना देखेँ। त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई।
सभापतिको उम्मेदवारी दिँदै गर्दा यहाँका मुद्दाहरू के-के हुनेछन्?
सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ। हाम्रो धरासायी हुने प्रथम काराण के हो भने टुक्रा-टुक्रा भएको, गुट-उपगुटहरूले ध्वस्त पारेको छ। सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ। उहाँ त सबैको सभापति हो नि। उहाँले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँ नै सफल सभापति हुनुहुन्थ्यो। तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे, मेरो मान्छे’ भन्नुहुन्छ। म के चाहन्छु भने पार्टीलाई एक बनाऔं। पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन। बिपी कोइरालाले सभापतीय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरू चाहिँ मनोनित हुनुपर्छ भन्नुभएको थियो। किनभने प्रेसिडेन्सियल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्यो तर ऊ आइसकेपछि उसले आफ्नो शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्यो।
महामन्त्री एक जना, उपसभापति…यस्तै गरेर उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्यो। सबैले लडेर हुँदैन। अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु।
शासकीय स्वरुपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ। यसमा तपाईंको टिप्पणी के छ?
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै वर्षदेखि उठिरहेको छ। म चाहीँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु। पहिले दलको नेता हुन्छ। हाउसमा आपफ्नो बहुमत ल्याउँछ। त्यही अनुसार हामी जानुपर्छ। प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्सको, त्यो हाम्रो लागि राम्रो हुँदैन।
अब महाधिवेशनकै प्रसंग, क्रियाशिल सदस्यको छिनोफानो, उम्मेदवारको लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला?
सबैभन्दा पहिला त क्रियाशिल सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ। त्यसमा हामी लागिरहेका पनि छौं। समिति बनाएर जिम्मा पनि लगाएका छौं। अरु पार्टीबाट आएका पनि समावेश हुनुपर्यो। विजय गच्छदारको पार्टी, सुनिल थापाजीको पार्टीको क्रियाशिलहरू पनि समावेश हुनुपर्यो र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्यो। मलाई लाग्छ यो शीघ्र नै सम्पन्न हुन्छ। त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ।