२०८१ पुष २६

देउवा सरकारको पहिलो निर्णय- यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको सपथग्रहण गरेपछि सिंहदरबारमा देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो।

पाँच सदस्यीय मन्त्रिपरिषद बैठकले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ।


Advertisement


पहिलो बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय भएको बताए। कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साताभित्र उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारी दिए।

मन्त्री कार्कीका अनुसार कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ। 

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याउने उनले बताए।

‘विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्रराष्ट्र लगायत सबै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने सरकारको योजना छ,’ उनले भने।

मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिए।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश गरेको थियो। त्यसैअनुरूप राष्ट्रपति कार्यालयले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको हो।

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले उक्त कुरा उल्लेख नगरी नियुक्तिपत्र जारी गरेपछि विवाद उत्पन्न भएको थियो। उक्त भाषा परिमार्जन गर्नुपर्ने भन्दै साँझ ६ बजे राखिएको सपथग्रहणमा देउवा सहभागी भएका थिएनन्। 

भाषा सच्याएर संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति भएको व्यहोरा थप्न राष्ट्रपति कार्यालय सहमत भएपछि मात्र देउवाले सपथ लिएका थिए।

सपथलगत्तै सिंहदरबार गएर देउवाले सरकारको कार्यभार सम्हालेका हुन्। पहिलो चरणमा उनले आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् जसमा कांग्रेसबाट दुई जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री छन्।

कांग्रेसबाट कानुनमन्त्री कार्कीसहित बालकृष्ण खाँड गृहमन्त्री भएका छन् भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ मन्त्रालय र पम्फा भुसाललाई ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।

चारै जना मन्त्रीलाई राष्ट्रपति भण्डारीले मंगलबारै सपथ गराएकी छन्।

सपथग्रहणपछि प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार आउँदाको दृश्य- तस्बिरहरू:

Copy link
Powered by Social Snap