२०८१ पुष १२

पदक तालिकामा चीनको अग्रता कायमै, शुक्रबार अमेरिकाको खराब दिन

जापानमा जारी ३२ औं ग्रिस्मकालिन ओलम्पिकमा चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्यसहित ४० पदक जितेको छ।

चीनले शुक्रबार चार स्वर्ण पदक हात पारेको छ । आफ्नै दुई जोडी फाइनल प्रवेश गरेको टेबल टेनिस र ब्याडमिन्टनमा तथा पौडी र महिला ट्रायपलिन जिम्न्यास्टिकमा स्वर्ण पदक जितेको हो ।

यता, १७ स्वर्ण जितेको आयोजक जापान भने दोस्रो स्थानमा रहेको छ। जापानले ४ रजत र ७ कास्यसहित २८ पदक जितेको छ।


Advertisement


तेस्रो स्थानमा रहेको अमेरिकाले हालसम्म १४ स्वर्ण, १६ रजत र ११ कास्यसहित कुल ४१ पदक जितेको छ।  शुक्रबार पौडीको स्पर्धामा अमेरिकी टोली स्वर्ण पदकविहीन भएको छ । यो सँगै अब अमेरिकालाई पहिलो हुने सम्भावना कम भएको छ ।

यस्तै, ओलम्पिकको झन्डामुनी रहेर सहभागिता जनाएको रूस चौथो स्थानमा रहेको छ। हालसम्म रूसले १० स्वर्ण, १४ रजत र १० कास्यसहित ३४ पदक जितेको छ।

९ स्वर्ण, २ रजत र ११ कास्यसहित २२ पदक जितेको अष्ट्रेलिया पाँचौं स्थानमा छ। यता, बेलायत ६ स्वर्ण, ९ रजत र ९ कास्यसहित २४ पदक जित्दै छैठौं स्थानमा रहेको छ।

यस्तै, दक्षिण कोरिया, नेदरल्याण्ड्स र फ्रान्स क्रमश: सातौं, आठौं र नवौं स्थानमा रहेका छन्।

दक्षिण कोरियालले हालसम्म ५ स्वर्ण, ४ रजत र ६ कास्यसहित १५ पदक जितेको छ। यता, नेदरल्याण्ड्सले ३ स्वर्ण, ७ रजत र ५ कास्यसहित १५ पदक जितेको छ।

फ्रान्स ३ स्वर्ण, ५ रजत र ५ कास्यसहित १३ पदक जित्दै नवौं स्थानमा रहेको छ। यता, दशौं स्थानमा रहेको जर्मनीले ३ स्वर्ण, ४ रजत र ९ कास्यसहित १६ पदक जितेको छ।

यसैबीच यसअघिका ओलम्पिक जस्तै टोकियो ओलम्पिक पनि नेपालका लागि सहभागितामै सीमित बन्यो।

शुक्रबार सय मिटर दौडमा सरस्वती चौधरीले प्रतिस्पर्धा गरेसँगै सहभागी भएका नेपालका पाँच जना खेलाडीको चुनौती समाप्त भयो। 

शुक्रबार विहान ओलम्पिक रंगशालामा कुदेकी सरस्वतीले सामान्य प्रदर्शन गरिन्। उनी दोस्रो हिटमा कुदेका नौ खेलाडी मध्ये आठौं स्थानमा रहिन्।

व्यक्तिगत समय समेत सुधार गर्न नसकेकी उनले निर्धारित दूरी १२.९१ सेकेन्डमा दूरी पूरा गरिन्। सरस्वतीको व्यक्तिगत उत्कृष्ट टाइमिङ १२:५५ सेकेन्ड हो।

यसअघि पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाहले राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर दुवै जना हिट चरणबाटै बाहिरिएका थिए। 

गौरिकाले ५० मिटरको पौडी पोखरीमा (लङ कोर्स) मा राष्ट्रिय कीर्तिमान बनाउने क्रममा गौरिकाले १ मिनेट ००.११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्।

सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका एलेक्जान्डरले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए।

यसअघि जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्।

महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्।

नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्। 

कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

Copy link
Powered by Social Snap