२०८१ पुष २६

प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्बाङको विषयमा छानविन गर्न मन्त्रालयलाई अनुरोध गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा छानविन गर्न खेलकुद मन्त्रालयलाई अनुरोध गरिने भएको छ। 

एन्फाको शुक्रबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। यसअघि प्रमुख प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुकमा लेखेका थिए। 


Advertisement


लगत्तै नेम्बाङले अलमुताइरीको आरोप खण्डन गर्दै छानविनको माग गरेका थिए। त्यसपछि दुवैले छानविन गर्न एन्फामा निवेदन दिएका थिए। 

‘एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ तथा पुरुष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानविन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो,’  एन्फाले जनाएको छ। 

यस्तै बैठकले अक्टोबर पहिलो साता हुने साफ च्याम्पियनसिप नेपालमा आयोजन गर्न आवश्यक पर्ने कुल दश करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने निर्णय पनि गरेको छ।

साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न सरकारबाट स्रोत सुनिश्चितता प्रतिबद्धता पत्र प्राप्तसहित प्रतियोगिता आयोजन गर्न आर्थिक सहयोग पाँच करोड रुपैयाँ प्रादन गर्ने मन्त्री स्तरीय निर्णय भएको पनि एन्फाले जनाएको छ।  

महिला राष्ट्रिय टिमले एएफसी वुमन्स एशियन कप भारत २०२२ को छनोटअघि तयारी स्वरुपमा इरान राष्ट्रिय टिम वा अन्य देशको महिला टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्रचार भएकाले आवश्यकता अनुसार महिला राष्ट्रिय टिमको आयोजना तथा सहभागी गर्ने पनि निर्णय पनि एन्फाले गरेको छ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय पुरुष टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्रचार भइरहेकोले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण गर्ने पनि एन्फाको निर्णय छ।

Copy link
Powered by Social Snap