नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सत्तारूढ गठबन्धनका नेताहरूसँग भेटेर कुराकानी गर्ने भएका छन्।
आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले भेटवार्ता गरिसकेका छन्।
आजै बसेको स्थायी कमिटी बैठकमा उनले मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे भइरहेका कुराकानीबारे पनि जानकारी गराएका थिए।
Advertisement
नेता नारायणकाजी श्रेष्ठका अनुसार आज प्रचण्डले नेताहरूसँग छलफल गर्नेछन्। सोमबार अपरान्ह ३ बजे स्थायी कमिटी बैठक बोलाइएको उनले बताए। उक्त बैठकमा सरकारमा सहभागी हुने मन्त्री छान्नेबारे निर्णय हुनेछ।
श्रेष्ठकाअनुसार मन्त्री छान्ने काम स्थायी कमिटीले गर्छ। अहिलेसम्म अध्यक्ष प्रचण्डलाई त्यो अधिकार दिइसकिएको छैन।
श्रेष्ठले मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने बताए। यतिन्जेल जसपाले आधिकारिकताका लागि पर्खन भनेको र जसपाले आधिकारिकता पाइसकेको उनको भनाइ छ।
अब माधवकुमार नेपाल पक्षले पनि सरकारमा जानेबारे निर्णय दिनुपर्ने श्रेष्ठ बताउँछन्।
‘अब ढिला गर्न हुन्न। जसपाले निर्णय गरिसकेको छ। अरू पार्टीसँग पनि कुरा भइरहेका छन्। एक/दुई दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ,’ उनले भने, ‘माधवजीहरूले पनि अब आवश्यक निर्णय गर्नुहुन्छ। उहाँहरूले निर्णय दिनुहुन्छ।’
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा माओवादीबाट २ र कांग्रेसबाट २ मन्त्री र एक राज्यमन्त्री छन्। साथै आज बसेको माओवादी स्थायी कमिटी बैठकले गठबन्धनलाई अझै बलियो बनाएर लैजानेबारे छलफल गरेको छ।