२०८१ पुष ९

विवादित ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्न पौडेल पक्षको माग

क्रियाशील सदस्यता विवादित रहेका वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट नयाँ अधिवेशन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग गरेको छ।

मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा बसेको बैठकले क्रियाशीलबारे देखा परेका विवाद छिटो टुंग्याउन नेतृत्वसँग माग गरेको छ।


Advertisement


यस्तै समयमै महाधिवेशनको प्रक्रिया थाल्न पनि पौडेल पक्षको माग छ। बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी र मिनेन्द्र रिजाललगायत नेता उपस्थित थिए।

आजको बैठकमा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू पनि सहभागी थिए। बैठकपछि पूर्वसहमहामन्त्री केसीले विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट नयाँ अधिवेशन गर्नुपर्ने बताए।

यस्तै वडालगायत चार तहबाट आएका क्रियाशीललाई मात्रै सदर गरिनुपर्ने उनको माग छ। बारा, सप्तरीलगायत जिल्ला र करिब एक सय वडामा क्रियाशीलबारे विवाद छ।

‘मापदण्ड पुगेका क्रियाशीललाई सदर गरौं। विवादित ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट अधिवेशन गरौं,’ केसीले भने। विधान र केन्द्रीय समितिबाट भएका निर्णयअनुसार क्रियाशीलमा अगाडि बढ्नुपर्ने उनी बताउँछन्।

कांग्रेस महाधिवेशन आउन २७ दिन बाँकी छ। तर अझै क्रियाशीलका विषय टुंगिएका छैनन्। सभापति शेरबहादुर देउवालाई भेटेर मापदण्ड पुगेकालाई मात्रै क्रियाशील सदस्यता दिन आग्रह गर्नेसमेत आजको बैठकमा छलफल भएको थियो।

केसीले विशेष महाधिवेशन गर्न सकिने प्रस्तावसमेत राखेका छन्। अरू पार्टीबाट आएका केन्द्रीय सदस्यलाई यथावत् राखेर २०१२ र १०१४ सालमा गरेजस्तै गरी विशेष अधिवेशन गर्न सकिने पनि उनले बताए।

Copy link
Powered by Social Snap