२०८१ पुष २६

क्यानले ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ जनालाई बन्द प्रशिक्षणमा बोलायो

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग खेल्न १९ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ।

ओमानमा हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडेललाई बन्द प्रशिक्षणमा बोलाएको हो।

युवा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका हुन्। 


Advertisement


घोषणा टोलीमा अन्य भने पुरानै नाम छन् । युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले टोलीमा पूनरागमन गरेका छन् । अन्तिम २० सदस्य टोलीमा पारस खड्का पनि नाम छ । तर पारसले नेपाली टोलीबाट सन्न्यास लिई सकेका छन् । नेपाली टोलीले बुधबारबाटै अभ्यास थालि सकेको छ ।

विश्व कप लिग-२ को पुरानो खेल तालिका अनुसार नेपालले ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज यो वर्ष मार्च १९ देखि २८ तारिखसम्म खेल्ने तालिका रहेको थियो। तर कोभिड-१९ का कारण यो वर्ष फेब्रुअरीमा सिरिज स्थगित गरिएको थियो। सिरिजको लागि नेपालले ३२ सदस्यीय प्रारम्भिक टोलि घोषणा गरेर बन्दप्रशिक्षणनै सुरु गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व कप लिग-२ मा अन्तिम पटक गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासँग नै घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो। त्यसपछि लिग-२ को खेलहरु कोरोनाका कारण बारम्बार सर्दै आएको छ। पछिल्लो पटक स्पेनमा जुलाई २० तारिख देखि निर्धारित नामिबिया र स्कटल्याण्डसंगको सिरिज नामिबियामा कोरोना महामारीको लहर बढेपछि यात्रा प्रतिबन्ध हुँदा स्थगित गर्नु परेको थियो। नेपालले सिरिजको लागि प्रशिक्षणनै सुरु गरिसकेको थियो तर सिरिज स्थगित भएपछि बन्दप्रशिक्षण स्थगित भएको थियो।

नेपालको प्रमुख प्रशिक्षकमा गत वर्ष पुषमा डेभ व्हाटमोर नियुक्त भएपछि नेपालले एउटा मात्र प्रतियोगिताको रुपमा वैशाखमा नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जसमा नेपाल विजयी भएको थियो।

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो र अन्तिम सिरिज गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग खेलेको थियो। उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरकालाई पराजित गर्दा ओमनासंग भने दुवै खेलमा पराजित भएको थियो। विश्वकप लिग-२ अंकतालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग-२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरु खेल्न बाँकी रहेको छ।

विश्वकप लिग-२ अंकतालिकाको शिर्ष-३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको लागि छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ। विश्वकप लिग-२ को शिर्ष-३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्ले-अफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

Copy link
Powered by Social Snap