२०८१ पुष १२

दुई स्टार खेलाडी एम्बाप्पे र नेइमारसँग एकै क्लबबाट खेल्न पाउँदा धेरै खुसी लागेको छ-मेसी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसीले यो क्लब सबै ट्रफीहरू जित्नका लागि प्रतिस्पर्धा गर्न तयार रहेको भन्दै आफ्नो लक्ष्य पनि खेलाडीका रूपमा विकसित भइरहने अनि उपाधिहरू जितिरहने भएकाले यो क्लबमा आएको बताए।

पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेसीले पेरिस आएदेखि आफूले खुशी अनुभव गरिरहेको भन्दै चाडै नै ट्रेनिङ सेसनमा सहभागी हुने बताए।

मेसीले आफू कहिले डेब्यू गर्ने भन्नेबारे अहिले यकिन भन्न नसकिने बताए।  ‘म भर्खर छुट्टिबाट फर्केको छु। अब केहि समय प्रि-सिजन बिताएर म ठिक अवस्थामा आउन चाहन्छु । प्राविधिक टोलीसँग नजिक रहेर मिहिनेत गर्नेछु,’ उनले भने।

उनले दुई स्टार खेलाडीसँग एकै क्लबबाट खेल्न पाउदा धेरै खुसी लागेको बताएका छन्। क्लबमा नेयमार र केलियन एमबाप्पेजस्ता विश्वप्रसिद्ध खेलाडीसँग खेल्न पाउँदा आफुलाई निकै खुसी लागेको उनले प्रतिक्रिया दिएका छन्।


Advertisement


‘नेयमार र एमबाप्पेसँग खेल्न पाउँदा धेरै खुसी छु। म संसारकै सर्वश्रेष्ठ खेलाडीसँग खेल्दै छु। यो पागलपन हो र मलाई धेरै इर्ष्या लाग्यो तर, यो सधै राम्रो र उत्कृष्ट हुन्छ,’ मेसीले भने।

मेसीले बार्सिलोना छाड्नु आफ्ना लागि निकै कठिन भएको बताएका छन्।

‘बार्सिलोनाबाट बाहिरिनु मेरो लागि धेरै गाह्रो थियो। तर, सक्दो चाँडो म यहाँ आइपुगे ।  म धेरै खुसी छु र म  आगमनको आनन्द लिइरहेको छु । म टिमसँग चाँडो प्रशिक्षण गर्न चाहन्छु,’ उनले अगाडि थपे, ‘गत साता मलाई जे भयो, निकै कठिन थियो। भावनात्मक रुपमा पनि मलाई निकै गाह्रो भयो। अब म र मेरो परिवार नयाँ सुरुवातलाई लिएर उत्साहित छौं । अघिल्लो साता जे भयो, त्यसलाई समयसँगै अघि लग्नुपर्छ ।’

यसैबीच स्टार फुटबलर लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई इतिहास बनाउन मद्दत गर्ने क्लबका अध्यक्ष तथा प्रमुख कार्यकारी नासेर अल–खेलाईफीले बताएका छन्।

३४ वर्षीय मेसीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका हुन् । पीएसजीले मेसीलाई सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ।

६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन्।

‘मेसीको आवागमनले म निकै खुशी छु। लियोनल मेसी पेरिस सेन्ट जर्मेन मा सामेल हुने भएका छन्। र हामी उनी र उनको परिवारलाई पेरिसमा स्वागत गर्न पाउदाँ गर्व गछौ’, खेलाइफीले भने।

मेसीले धेरै उच्चस्तरमा प्रतिस्पर्धा गरिसकेको भन्दै उनले धेरै अनुभवसहित ट्रफी जितेका मेसीको आवागमनले हामीले ट्रफी जित्ने इच्छा राख्नु रहस्यमय कुरा  नभएर स्वाभाविक रूप मा एक क्लब को रूप मा हाम्रो महत्वाकांक्षा भएको प्रतिक्रिया दिए।

‘विश्वस्तरीय हाम्रो टोली मा मेसी थपिएका छन् । अझैं हाम्रो धेरै रणनीतिक र सफल स्थानान्तरण विन्डो जारी छ। हाम्रा उत्कृष्ट कोच र स्टाफको नेतृत्वमा उत्कृष्ट खेलाडीको साथ हाम्रा विश्व भरिका प्रशंसकका लागि हामी नयाँ इतिहास बनाउन तत्पर छौ र मेसी यस इतिहासको सबै भन्दा विषेश पात्र हुन्,’ उनले भने।

बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेसी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए।

मेसीको आगमनसँगै पीएसजीमा मेस्सी, एमबाप्पे र नेयमारको अग्रपंक्ति हुनेछ। यससलाई अहिलेको विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा लिईएको छ।

यसअघि मेसी आइतबार स्पेनिस फुटबल क्लब बार्सिलोनबाट बिदा भएका थिए।

बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भक्कानिएका थिए।

यसअघि शुक्रबार बार्सिलोनाले मेसी अब क्लबमा नबस्ने बताएको थियो।

आर्थिक र संरचनागत अवरोधका कारणले ३४ वर्षीय मेसी क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो।

१३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो।

यसअघि बार्सिलोना र मेसीबीच पाँच वर्षका लागि नयाँ सम्झौता हुन लागेको र मेसीको तलब आधा घट्ने बताइएको थियो।

सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै फ्याक्स पठाएका थिए।

तर बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भए मात्र मेसीले क्लब छाड्न सक्ने बताएको थियो। जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुने बाटो कठिन बनेको थियो।

अन्य क्लबमा जाने प्रयासमा बार्सिलोना बाधक बनेपछि मेसीले आफ्नो प्रिय क्लबविरुद्ध कानुनी लडाइँमा नलड्ने भन्दै एक वर्ष बार्सिलोनामै बस्ने बताएका थिए।

मेसीले गत सिजनमा बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिएनन्। उनी कोपा अमेरिकाअघि छुट्टी मनाउनका लागि जाँदा एइबारविरुद्धको खेल गुमाएका थिए।

सिजनमा बार्सिलोना ला लिगामा तेस्रो भयो। बार्सिलोना २००८ पछि ला लिगामा तेस्रो भएको थियो।

बार्सिलोना तेस्रो भए पनि मेसी ला लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए।

मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए।

मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष भएको छ।

मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।

त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्। उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन्।

फ्रेन्च क्लब पिएसजीले सन् २०१७ मा विश्व कीर्तिमानी २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) मा बार्सिलोनाबाट ब्राजिलियन फरवार्ड नेइमारलाई भित्र्याएको थियो।

Copy link
Powered by Social Snap