२०८१ मंसिर ३

हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन सुरु

सम्झौता भएको करिव तीन महिनापछि हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना सम्पन्न भई उत्पादन सुरु गरिएको छ । 

उद्योग संघ मकवानपुरको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा प्लान्ट स्थापना गर्न गत जेठ ४ गते अस्पताल प्रशासनसँग सम्झौता गरेको थियो ।


Advertisement


जिल्लामा एउटा पनि अक्सिजन प्लान्ट नहुँदा संक्रमितको उपचारमा समस्या उत्पन्न भएको र अक्सिजनको चरम अभाव रहेको तत्कालिन समयमा कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा दैनिक ५ जनाको हाराहारीमा संक्रमितहरुको मृत्यु हुने गरेको र १ सयका दरले संक्रमित थपिरहेका कारण बिरामीहरुको उपचारमा सहजता प्रदान गर्न अस्पतालसँग उद्योग संघ मकवानपुरले प्लान्ट खरिद र जडानको सम्झौता गरेको थियो । 

निजी क्षेत्रका उद्योग व्यावसायीहरुसंगको समन्वयमा संघले प्लान्ट खरिद गरी आइतबार एक समारोहका बीच अस्पताललाई हस्तान्तरण गरेको हो । 

दैनिक १ सय १५ देखि १ सय २० सिलिन्डर अक्सिजन उत्पादनको क्षमता रहेको उक्त प्लान्ट स्थापनामा ३१ जना उद्योग व्यवसायीले सहयोग गरेको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिए । 

कुल १ करोड २८ लाख लागत अनुमान गरीएको सो प्लान्ट स्थापना र जडान सम्पन्न गर्न १ करोड ३६ लाख ९५ हजार रुपैयाँ खर्च भएको उनले बताए ।  

संघका अध्यक्ष पोखरेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका थिए भने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन आएको छः मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याएको बताएका छन् । मुख्यमन्त्री पौडेलले अक्सिजन प्लान्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देशमा संघीयता स्थापना पश्चत गठन भएको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकास र विस्तार गरी स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन गरेको बताए । 
कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो प्रयास गरेको र प्रदेशका सबै जिल्ला अस्पतालमा प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गरिसकेको भन्दै उनले आगामी दिनहरुमा प्रदेशका नागरिकहरुले अक्सिजन अभावमा ज्यान गुमाउनु नपर्ने बताए ।

उनले हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार सक्रिय ढंगबाट लागिपरेको बताए ।
प्रदेशवासी आम नागरिकहरुलाई सर्वसुलभ र स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा प्रदेश सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको उनको भनाई छ । 

हेटौंडा अस्पतालको स्तरीयतालाई सवल बनाउन तीन जना डाक्टरको सेवालाई ५० जना भन्दा बढी पु¥याइएको उनले बताए ।
उनले आगामी २ वर्ष भित्र हेटौंडा अस्पताललाई पाँच सय शैयाको अस्पताल बनाउँने लक्ष्यका साथ भवन निर्माण, सेवा विस्तार र यन्त्र उपकरणको व्यवस्थापनको काममा प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap