२०८१ पुष ७

माधवकुमार नेपालले भने- तत्काल कुनै पनि पार्टीसँग एकता गर्दैनौं

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्।

आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन्।


Advertisement


सञ्चारमाध्यममा एकीकृत समाजवादी पार्टीले अन्य पार्टीसँग एकता गर्न लागेको, अरूको पार्टीमा गएर बिलिन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उनले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गरे।

आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरू विद्यमान रहेको भन्दै उनले पार्टी एकता नहुने स्पष्ट पारे।

‘अहिले नै हामी अरू कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौं। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहन्छु। यही सन्देश जाओस् मिडियाबाट’, उनले भने, ‘कसै-कसैले के भन्ने गर्‍याछन् भने अरूको टाङमुनि छिर्न गइरहेका छन्, अरूको कार्यकर्ता बन्न गइरहेका छन्। तुरून्तै अर्को पार्टीमा समाहित भएर बिलिन हुन गइरहेका छन्। त्यो सबै वाहियात प्रचार हो। त्यसमा कुनै सत्यता छैन। हाम्रो संगठनको संरचना गाउँ, टोल, बस्ती, जिल्ला-जिल्लामा छ। जनसंगठन र समानान्तर रूपमा सबै कमिटीहरू विद्यमान छन्।’

अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान र समृद्ध बनाउन र जनतालाई गरिबीको चक्रबाट मुक्त गर्न आफूहरूको ध्यान केन्द्रीत हुने बताए। उनले पार्टीमा युवालाई महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढाउन तयार रहेको पनि बताए। 

‘अर्थतन्त्रलाई गतिशील, चलायमान र समृद्ध बनाउनका लागि नेपाली जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि, युवाहरूलाई व्यापक रूपमा आशा जगाउन, रोजगारीको प्रबन्ध गर्न, सीप विकास गर्न, युवाको खुबी, क्षमता, प्रतिभालाई उजागर गर्न हाम्रो ध्यान केन्द्रीत हुनेछ। पार्टी भित्र पनि हामी युवाहरूलाई पार्टीको सदस्य बनाउन, कमिटीका जिम्मेवारी प्रदान गर्न र भोलि गएर नयाँ पुस्तालाई एकपछि अर्को जिम्मेवारी सुम्पिनका लागि तयार भएर बसेका छौं,’ उनले भने।

उनले आफूहरू मार्क्सवादबाट निर्देशित भएर वर्गिय दृष्टिकोण आत्मसात् गर्दै अघि बढ्ने बताए। नेता, कार्यकर्ताहरूले दृष्टिकोणमा विचलन आउन नदिन र गैरसर्वहारा प्रवृत्ति हटाउन विशेष ध्यान दिनुपर्ने उनको भनइ छ।

Copy link