


नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार कम्युनिष्टका नाममा बदनाम सरकार भएको बताएका छन्।
Advertisement



झन्डै साढे २ महिनापछि स्वदेश फर्किएका नेता खनालले सोमबार त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले कम्युनिष्ट पार्टीको सरकार ढाले भनेर गोहीको आँशु बगाउन जरूरी नरहेको बताए।
‘केपी ओलीको सरकार निरंकुश थियो, त्यो ढल्नु भनेको निरंकुश सरकार ढल्नु हो,’ खनालले भने,‘कम्युनिष्ट सरकारका नाममा त्यो बदनाम थियो।’
उनले आफूहरूले पसिना बगाएर बनाएको एमाले पार्टीमा पछिल्लो समय गुटवाद, अहंकारवाद, व्यक्तिवाद हाबी भएको बताए।
‘त्यसका विरूद्ध हामीले पार्टीभित्रै अन्तरसंघर्ष गर्यौं तर त्यो प्रवृत्ति यति जब्बर थियो कि हामीले सकेनौं र विद्रोह गर्यौं,’ खनालले भने,‘यो विद्रोह झिल्को हो, सिर्जनाको झिल्को।’

नेता खनालले नेपालमा सबै पक्षको सहमतिबिना एक पाइला पनि अघि बढ्न नसकेको इतिहास भएकाले गठबन्धनको सरकार चलाउनुको विकल्प नभएको बताए।
फरक प्रसंगमा उनले आफू ७१ वर्ष पुगिसकेकाले कुनै कार्यकारी पद नमाग्ने बताए।
एमालेको नवौं महाधिवेशनमा ७० वर्षको प्रावधान राख्नेमध्ये आफू एक भएकाले आफूले त्यो प्रावधान मान्ने खनालको भनाइ थियो।


