सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाहरुको परिवारले आफन्तको सास वा लास दिन माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
Advertisement
महोत्तरीको सोनमा गाउँपालिका–२ बस्ने वीरेन्द्रकुमार यादव सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीका सर्लाही जिल्लाको एरिया कमिटी मेम्बर (एसिएम) थिए । वीरेन्द्रका अनुसार उनलाई खोज्नका लागि नेपाली सेनाको टोली उनको घर गइरहन्थ्यो । ०६० साल कार्तिक २० गते वीरेन्द्रको घरबाट आफ्नो बुबा, काका, दुई भाइसहित ७ जनालाई प्रहरीले गिरफ्तार गरेर लगेको उनले बताए । ‘त्यो दिनदेखि अहिलेसम्म पनि उनीहरुको सास वा लासको अत्तोपत्तो छैन,’ उनले भने ।
राजनीतिक एजेण्डा पूरा नहुँदै पार्टी नेतृत्वले आत्मसमर्पण गरेको भन्दै उनी माओवादी परित्याग गरी हाल मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध छन् । उनले भने, ‘यदि मृत्यु भइसकेको भए पनि लास देखाइदिनु प¥यो, कमसे कम काजक्रिया गरेर घरपरिवारले आफ्नो मन बुझाउँथ्यो । परिवारका सदस्य मरेको वा बाँचेकै थाहा पाउन सकिएन ।’
आफ्नै आँखा अगाडिबाट लगिएका पतिको अवस्था शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि सार्वजनिक हुन नसक्नुले ठुलो पीडा भइरहेको धनुषाको मिथिला नगरपालिका, लालगढकी सिर्जना शाही बताउँछिन् ।
उनी भन्छिन्, ‘उहाँ (पति)को हत्या भएको हो कि जिउँदै हुनुहुन्छ भनेर थाहा पाउन पनि सकिएको छैन, अहिले न म विधवा बनेर हिँड्न सकेकी छु, न त विवाहिता महिला भएर हिँड्न सकेकी छु ।’
पतिलाई प्रहरी वा सेनाले मारेकै भए पनि कम्तीमा चिहान देखाइदेऊ भन्ने आफ्नो माग रहेको उनको भनाइ छ । ‘बरु अस्थिपञ्जर देखेरै भए पनि चित्त बुझाउँथ्यौँ,’ उनले भनिन् । सशस्त्र द्वन्द्वका बेला राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका अधिकांशको अवस्था अज्ञात छ ।
धनुषाको सबैला नगरपालिका–२ बस्ने प्रकाश यादवको परिवारको पीडा पनि करिब करिब उस्तै छ । उनको दाजु शम्भु यादव माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीको जिल्ला नेता थिए । नेपाली सेनाको टोलीले सबैलाको भटिहनबाट शम्भुलाई २०५५ साल कार्तिक १९ मा पक्राउ गरेर लग्यो ।
त्यसपछि प्रहरी प्रशासन, सेना लगायतका निकायमा सोधखोज गर्दासमेत कतै कुनै पनि जवाफ पाउन नसकेको प्रकाश बताउँछन् । बुबाको मृत्युपछि दाजुले नै घर सम्हालेको स्मरण गर्दै उनले दाजुसमेत पक्राउ परेपछि आफ्नो परिवारले निकै दुःख खेपेको बताए ।
बेपत्ता पारिएका व्यक्तिका परिवारले सोमबार आफन्तको सास वा लासको माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएका छन् । माओवादी जनयुद्ध अन्त्य भई शान्ति प्रक्रियामा आएको यतिका लामो समय भइसक्दा पनि द्वन्द्वकालमा बेपत्ता भएकाहरुको वास्तविकता पत्ता लाग्न नसक्नु दुर्भाग्यपूर्ण भएको पीडित परिवारको भनाइ छ । उनीहरुले राज्यबाट १० लाख रुपैयाँ बुझ्ने बाहेक कुनै प्रकारको सान्त्वनासमेत नपाएको गुनासो गरेका छन् ।
सशस्त्र द्वन्द्वको समयमा प्रदेश २ का सप्तरीबाट २८, सिरहाबाट ३७, धनुषाबाट ११ (५ जनाको भव भेटिएको), महोत्तरीका ११, सर्लाहीका १७, रौतहटका २०, बाराका १२ र पर्साका १७ गरी १४८ जना बेपत्ता पारिएका छन् ।
साभार: रातोपाटी