२०८१ पुष ८

एसियन युथमा पदक जितेका बक्सर भन्छन्-‘अबको लक्ष्य युथ विश्व च्याम्पियनसिप’

युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ विश्व च्याम्पियनसिप’ भएको बताएका छन्। 

प्रतियोगितामा सहभागी भई यूएईबाट आज फर्किएका खेलाडीहरुले त्रिभुवन विमानस्थलमा पदक जित्नका लागि स्रोतसाधन र वातावरण आवश्यक भएको बताए।


Advertisement


पुरुष ५४ किलोमा कास्य पदक जितेका छिरिङवाङ्दी शेर्पाले दुई महिनाको अभ्यासका कारण सफलता प्राप्त भएको सुनाए। “संघ, परिवार र प्रशिक्षकको सहयोगले नै पदक प्राप्त गर्न सम्भव भएको हो,” उनले भने, “अबको लक्ष्य युथ विश्व च्याम्पियनसिपमा पदक जित्ने हो ।” 

यस्तै महिला ५२ किलोमा कास्य जितेकी स्वस्तिका तिरुवाले आवश्यक वातावरण पाएमा नेपालका बक्सिङ खेलाडीले पनि पदक जित्न सक्ने यूएईमा सम्पन्न जुनियर च्याम्पियनसिपबाट प्रमाणित भएको बताइन्।

“अभ्यास र प्रतियोगितामा सहभागिता हुन पाउनु खेलाडीका लागि मुख्य कुरा हो,” उनले भनिन्, “दुवै कुरा उपलब्ध भए पदक जित्न सकिन्छ भन्ने लागेको छ।” 

यसैगरी प्रतियोगितामा महिला ५७ किलोतर्फ कास्य पदक प्राप्त गर्न सफल नरिका राईले यूएई च्याम्पियनसिपबाट थप ऊर्जा मिलेको बताइन्। 

“खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आवश्यक छ, विश्वका अन्य खेलाडीको खेलबाट धेरै सिक्न पाइन्छ,” उनले भनिन्। घरेलु प्रतियोगिताबाट मात्र खेलाडीको वृद्धि विकास सम्भव नभएको उनको भनाइ थियो । 

खेलाडीसँगै यूएईबाट फर्किएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जुनियर बक्सिङ च्याम्पियनशिपबाट नेपालले ऐतिहासिक पदक प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गरे।

“स्वदेशको प्रतियोगितामा मात्र सीमित रहनु हुँदैन,” उनले भने, “बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले खेलाडीसँगै प्रशिक्षकलाई पदक प्राप्त गर्न मद्दत पुग्छ।”

पछिल्लो समय बक्सिङ सङ्घको सक्रियताले खेलको स्तर वृद्धिका साथै उपलब्धि हासिल हुँदै गएको उनले सुनाए। उनले बक्सिङमा थप सफलता हासिल गर्नका लागि विद्यालयस्तरीय प्रतियोगिता गराउनुपर्नेमा जोड दिए। 

एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ६ खेलाडीसहित १२ सदस्यीय टोली सहभागिता जनाउन यही भदौ २ गते यूएई प्रस्थान गरेको थियो।

सहभागी खेलाडीमध्ये शेर्पाले पुरुष ५४ किलो, तिरुवाले महिला ५२ किलो तथा राईले ५७ किलोमा प्रतिस्पर्धा गर्दै कास्य पदक प्राप्त गरे।

शेर्पा सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए। सो स्पर्धामा नियाजले नै स्वर्ण पदक जिते। त्यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई ५–० अङ्कले पराजित गरेका थिए।

यस्तै तिरुवा र राई सेमिफाइनलमा भारतीय खेलाडीसित पराजित भएका थिए। 

प्रतियोगितामा नेपालबाट पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए।

Copy link
Powered by Social Snap