


नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वडिआइजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्।
उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए।
Advertisement



पूर्वडिआइजी खरेलले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए।
‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौं। हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौं। अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ। कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ’, पूर्वडिआइजी खरेलले भने, ‘हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौं। देशमा समृद्धि भएको छैन। राजनीति गर्नेहरूलाई म राजनीतिक पेशाकर्मी भन्छु। हामी पनि राजनीतिकर्मी हुन्छौं।’

उनले अगाडि भने, ‘मैले साथीहरूलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन। राजनीतिमा लागेकाहरू पेशाकर्मी भए, मेवा खाए, नागरिकहरूलाई केही वास्ता गरेनन्। हामी तपाईंहरूलाई कहिल्यै पनि धोका दिँदैनौं।’
पूर्वडिआइजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए।
उनले सबै नागरिकको चासो र आवश्यकतालाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए।


