लुम्बिनी — राति चार/पाँचपटक उठेर छोरालाई दूध चुसाउनुपर्छ । दिसा–पिसाब गरे/नगरेको हेर्नुपर्छ । बिहान ६ बजेदेखि नै प्रशिक्षण । त्यसैले ८ महिने छोरा अमनलाई काखी च्यापेर दाङ लमही–७ हसनापुरकी अनिता चौधरी क्रिकेट खेल्न मैदान पुगिन् ।
प्रशिक्षण सुरु भएपछि छोरालाई मैदानबाहिर सुताएर खेल्न थालिन् । बेलाबेला रोए/नरोएको हेर्ने र दूध चुसाउने कार्य निरन्तर चलिरह्यो । दुधे बालक स्याहार्दै खेल्दै गरिरहेकी अनिता एक वर्षको अन्तरालपछि क्रिकेट मैदान फर्किएकी हुन् । त्यसैले उनलाई अभ्यास थाल्न सहज भने भएन । ‘हात र ढाड दुखेर सुरुका दिन केही अप्ठ्यारो भयो,’ उनले सुनाइन्, ‘तर प्रशिक्षणले पुनः लयमा फर्किएँ ।’
Advertisement
उनी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटका लागि लुम्बिनीस्तरीय छनोट खेल्न भैरहवामा आइपुगेकी हुन् । २४ वर्षीया अनिताको ‘कमब्याक’ को यो पहिलो प्रतियोगिता थियो । दुई वर्षअघि विवाह गरेर आमा बनेपछि उनले मैदान टेक्न पाएकी थिइनन् ।
बोल्न लजाउने र पातलो ज्यानकी उनी बलिङ गर्न माहिर छन् । सानोमा गाउँका दाइहरूले चौरमा क्रिकेट खेलेको हेर्दै हुर्केकी उनी भन्छिन्, ‘सुरु–सुरुमा ब्याट र बल देख्दा डर लाग्थ्यो, बल छोप्न नसकेर भाग्ने र ब्याट फालिदिने गर्थें । तर साथी र दाइहरूसँग खेल्दाखेल्दै ब्याट र बल नै प्यारो लाग्न थाल्यो ।’
ढुंगोजस्तो साह्रो ड्युज बल समात्दा नडराएकी होइनन्, धेरैपल्ट छोडेर भागिन् पनि । तर गुरुले हातमै थमाएर धेरैबेर समात्न सिकाएपछि आफूलाई बानी पर्दै गएको अनिताले सुनाइन् । उनी दाङ महिला क्रिकेट टोलीकी तेस्रो ब्याचकी खेलाडी हुन् । दाङ टोलीबाट लगातार १० वर्षसम्म खेलिरहेकी छन् । त्यसबीचमा उनले आठ राष्ट्रिय, दुई प्रधानमन्त्री कप र अन्य धेरै प्रतियोगितामा भाग लिएकी छन् ।
मिडियम पेस बलर अनिताले २०७२/७३ मा इटहरीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा एकै खेलमा चार विकेट लिएकी थिइन् । ‘प्लेयर अफ द म्याच’ को उपाधि नै चुमिन् । त्यो आफ्ना लागि स्मरणीय उपलब्धि भएको उनी सुनाउँछिन् । विवाहपछि अनिताले खेल्छिन् कि खेल्दिनन् भन्ने साथीहरूबीच बहस नै हुन्थ्यो रे । त्यसमाथि कोरोना महामारीका कारण महिला क्रिकेट प्रतियोगिता नभएको अवस्था थियो भने अनिता पनि आमा बनेकी थिइन् ।
प्रधानमन्त्री कपका लागि लुम्बिनीस्तरीय छनोट हुने निधो भएपछि साथीहरूले अनितासँग मैदान फर्कने या नफर्कने कुरा बुझे । घरमा बसुन्जेल मैदानको याद र बल समात्न पाए हुन्थ्यो भन्ने कुराले सताइरहने अनितालाई साथीहरूको त्यो खबरले उत्साही बनायो । ‘छोरासँगै केही गर्न सक्छु भन्ने आँट गरेर मैदान पस्न सुरु गरेकी हुँ । जहाँ गएर भए पनि खेल्न तयार हुन्छु भनेर अभ्यास थालिहालें,’ उनले भनिन् ।
प्रशिक्षक सन्जु क्षत्री पनि अनितालाई अत्यन्तै अनुशासित र क्रिकेटमा लगाव भएकी खेलाडी मान्छिन् । भन्छिन्, ‘अनिता टिममा भएपछि आफूहरूलाई पनि ऊर्जा मिल्छ । अरू खेलाडीलाई पनि प्रेरणा हुन्छ । उनको बलिङमा जादु छ ।’ अनितालाई दाङको टोलीमा ल्याउन पूर्वप्रशिक्षक देवेन्द्रसिंह ठकुरीको विशेष हात छ । उनी अनिताको बलिङबाट खुबै प्रभावित भएका थिए ।
चार दिन चलेको छनोट स्पर्धामा अनिताका छोरालाई हेरचाह गर्न अनिता र टिमका अरू खेलाडीले पालो दिएर सघाए । १४ खेलाडीमध्ये एक जनाले पालो दिएरै अनितालाई मैदान पठाउने गरे । आठ महिनाकी सुत्केरी आमा भएकाले निरन्तर अभ्यास गरिरहँदा छिटो थाक्ने र ढाड दुख्ने गरेको उनी बताउँछिन् । तर आफू प्रशिक्षणमा खटिरहन पनि उनी तत्पर छिन् । आफूले निरन्तर क्रिकेट खेल्ने र छोरालाई समेत आफ्नो खेल देखाउने रहर उनको छ । भन्छिन्, ‘छोरालाई समेत क्रिकेट खेलाडी बनाउने धोको छ ।’
आमा भएपछि खेलमा लागिरहेका धेरै खेलाडी भए पनि मैदानमै बच्चा च्यापेर जाने र दूध चुसाउने आमा खेलाडीको सूचीमा अनिता उदाहरणीय बन्न सक्ने प्रतियोगिता संयोजक कैलाश रोकामगर ठान्छन् । अनितालाई प्रोत्साहन गरी अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनले सुनाए । नेपाली महिला खेलाडीले विवाहपछि खेल्न पाउने मौका नै कम हुने र चौधरी समुदायको प्रतिनिधित्व गरेकी अनिताले छोरालाई साथमै लिएर पनि खेल्न तयार भएकाले उनीजस्ता खेलाडीले मौका र हौसला दुवै पाउने रोकामगरको भनाइ छ । ‘हरेक खेल उत्तिकै महत्त्वपूर्ण र रमाइलो लाग्छ,’ अनिताले भनिन्, ‘खेलबाटै चिनिन पाउँदा झनै सन्तुष्टि मिल्छ ।’
बुबाआमाले क्रिकेटबारे केही नबुझेको भए पनि आफ्नो रहर र मिहिनेतलाई भरपूर साथ दिएको उनी सुनाउँछिन् । काठमाडौंमा जागिरे रहेका उनका पति मिलन चौधरी पनि उनको खेलप्रति सहयोगी छन् । ‘कमब्याक’ का लागि सासूससुरा र पतिको हौसलाले थप ऊर्जा मिलेको अनिताले सुनाइन् । उनको टिम फाइनलमा रूपन्देहीसँग १८ रनले पराजित भएको थियो । प्रयासका बाबजुद उनी लुम्बिनी प्रदेश टिमको १४ सदस्यीय टोलीमा पर्न सकिनन् । लुम्बिनीले धनगढीमा प्रधानमन्त्री कपमा पहिलो दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ ।