


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उद्घाटन गरेका छन्।
Advertisement



केन्द्रीय कार्यालय थापाथलीबाट आज ६३ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सहमतिमा जोड दिएका हुन्।
‘हामीले हरेक समयमा सहमतिलाई जोड दिएका छौं,’ अध्यक्ष ओलीले भने, ‘सकेसम्म सहमति र एकतावद्ध भएर मन नखुम्च्याइँकन सहमतिमा पुग्न र अगाडि बढ्न म आग्रह गर्दछु।’
उनले सहमति नभए निर्वाचनमा जान पनि आग्रह गरेका छन्। सबै मिलेर अधिवेशन गर्दा नै चुनौतीहरू सामना गर्न सकिने उनको भनाइ थियो।
एमालेले आज अधिवेशन हुन नसकेका १४ जिल्लामा पछि अधिवेशन गर्ने बताएको छ।
गत मंसिरमा महाधिवेशन गरेको एमालेले जिल्ला अधिवेशन आज र प्रदेश अधिवेशन माघमा गर्ने तयारी गरेको छ।

आज अधिवेशन हुन नसकेका ठाउँमा केही दिनमा अधिवेशन गरिने ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले एमालेका दस्तावेजहरू अध्ययन गर्न र कमीकमजोरी देखाए उनीहरूलाई धन्यबाद दिने पनि बताएका छन्।
‘हाम्रा नीतिमा कमी छन् भने देखाउन आग्रह गर्दछौं। तर दस्तावेजमा नगई केही पनि छैन भनेर आलोचना गर्ने?,’ उनले भने, ‘हाम्रो परिवेशअनुसार हाम्रो पार्टीले लिएका नीति अरूका भन्दा कम छैनन्।’
उनले पार्टीले स्पष्ट विचार राख्ने गरेको पनि बताए। उनले हिजो सरकारमै रहेका कम्युनिष्ट पार्टीहरू विरोधीसँग मिलेको पनि बताएका थिए।


