


केटीएम रन माघ १५ गते आयोजना हुने भएको छ। शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केटीएम रन टेन केको मिति सार्वजनीक गरेको हो। रन हरेक अंग्रेजी नयाँ वर्षको अन्तिम शनिबार आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको हो।
Advertisement



महिला र पुरुष गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।
दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सातौंदेखि दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ। सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहित आवश्यक सामाग्री उपलब्ध गराउने बताईएको छ।
खेलाडी दर्ता पुस २९ गतेबाट सुरु भएर माघ १३ गते दिउँसो १ बजेसम्म रहने छ। खेलाडीले अनलाईनमा केटीएम रन डट कममा गएर नाम दर्ता गर्न सक्नेछन्। केटीएम सिटीको जावलाखेल, ठमेल, दरबारमार्ग, बौद्ध र पुरानो बानेश्वरस्थित आउटलेटमा गएर समेत खेलाडीले पुस २९ बाट नाम दर्ता गर्न सक्नेछन्।

काठमाडौंको दरबारमार्गबाट सुरु हुने दौड भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुने बताईएको छ।
केटीएम रनका रेस डाइरेक्टर सुशील नरसिंह राणाले १० किलोमिटर दौडको आयोजनाबाट खेलाडीलाई अधिकतम भन्दा अधिकतम फाइदा पुग्ने बताए। ‘खेलाडीले म्याराथन वर्षमा तीन पटक भन्दा धेरै दौडन सक्दैन । तर १० किलोमिटरको दौड ६ पटक भन्दा बढी दौडन सक्छ । यसले खेलाडीलाई एक्सपोजर पनि मिल्छ साथै म्याराथनका लागि खेलाडी तयार पनि हुन्छ,’ उनले भने ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दौडको अनुभव बोकेका राणाले केटीएम रनलाई रेस डिरेक्टरको रुपमा प्राविधिक रुपमा नेतृत्व गर्नेछन् । प्रतियोगिताको प्राविधिक निर्देशकमा राजन खत्री रहेका छन्।
केटीएम रनका म्यानेजर आशिष पौडेलले गौरवमय इतिहास बोकेको एथलेटिक्स प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी लागेको बताए।
उनले नेपालको ब्राण्ड केटीएम सिटीले घरेलु खेलकुदको समग्र विकासमा सहयोग पुर्याउने उद्धेश्यले योजनाबद्ध तरिकाले अघि बढिरहेको बताए।


