


म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले स्वीनडन टाउनलाई ४–१ को फराकिलो अन्तरमा हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो।
Advertisement



म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भा, गाब्रिएल जिसस, इल्केइ गुण्डोगान र पाल्मेरले गोल गरे। स्वीनडनका लागि म्याककिर्डीले सान्तवान गोल फर्काए।
खेलको १४ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २८ औं मिनेटमा गाब्रिएल जिससले गोल गर्दै पहिलो हाफमा सिटीको अग्रता दोब्बर पारे।

एक पक्षीय खेलको ५९ औं मिनेटमा इल्केइ गुण्डोगानले गोल गर्दै सिटीलाई ३-० गोल अन्तरमा अगाडि बढाए। त्यसपछि खेलको ७८ औं मिनेटमा स्वीनडनका लागि म्याककिर्डीले गोल फर्काए।
तर ८२ औं मिनेटमा पाल्मेरले गोल गर्दै सिटीको जित निश्चित गरे। जितपछि म्यानचेस्टर सिटी चौथो चरणमा प्रवेश गरेको छ।


