काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ ।
Advertisement
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दुई चरणमा चुनाव गराउन सकिने प्रस्ताव गरिएको जानकारी दिएको छ । वैशाख १४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सम्भव नभए दुई चरणमा गर्न सकिने प्रस्ताव आयोगको छ ।
आयोगले प्रधानमन्त्रीलाई पटक–पटक भेटेर स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरिएको पनि उल्लेख गरेको छ ।
“कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोस्रो चरण २०७९ वैशाख २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको व्यहोरा विदितै छ,” विज्ञप्तिमा भनिएको छ ।
साथै, आयोगले वैशाख मसान्तभित्र निर्वाचन गर्न आयोग तयार रहेको पनि जनाएको छ ।
आयोगले सरकारसमक्ष यथाशीध्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्दै निर्वाचन व्यवस्थापनका लागि १२० दिन समय माग गरेको छ । सो अवधिमा आयोगले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरूको पुनरवलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका कार्यहरू पूरा गर्ने आयोगले जनाएको छ ।
आयोगले निर्वाचनको मिति तोक्न विलम्ब भए निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक रूपमा जटिल हुने भएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा मिति तोक्न सरकारसँग आग्रह गरेको छ ।