२०८१ मंसिर ८

यसवर्ष बाढी पहिरोले २६२ को मृत्यु, ८ करोडभन्दा बढीको क्षति

Credit: OnlineKhabar

१७ भदौ, काठमाडौं । यसवर्ष चार महिना (जेठदेखि भदौ १७ गतेसम्म) को मनसुने वर्षाका क्रममा आएको बाढी-पहिरोबाट २६२ जनाले ज्यान गुमाएका छन् । बढी-पहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ भने आर्थिक क्षति मोरङमा भएको छ ।

गृहमन्त्रालयको तथ्याङ्क अनुसार पहिरोमा परेर २४६ जनाले ज्यान गुमाए । उनीहरुमा १३५ पुरुष र १११ महिला छन् । यस्तै, १९० जना घाइते भएका छन् भने २० जना हराइरहेका छन् । कुल ३७५ परिवार पहिरोबाट प्रभावित भएको मन्त्रालयको तथ्यांक छ ।

बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् । उनीहरुमा १० जना पुरुष र ६ जना महिला छन् । यस्तै, बाढीमा परेर ५ जना घाइते छन् भने २० जना हराइरहेका छन् । कुल ६२४ परिवार बढिबाट प्रभावित भएका छन् ।

गत वर्षको यही अवधिमा पहिरोबाट ७९ जनाले ज्यान गुमाएका थिए भने ७७ जना घाइते भएका थिए । यसैगरि, दुई हजार नौ सय ९३ परिवार प्रभावित भएका थिए । बाढीबाट ७२ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए । तीन हजार ५२ परिवार प्रभावित भएका थिए ।

कहाँ-कहाँ ठूला पहिरो ?

यस वर्षको मनसुनमा पहिरोबाट सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकले व्यहोरेको छ । गृहमन्त्रालयका सिन्धुपाल्चोकमा मात्रै पहिरोमा परी ५५ जनाले ज्यान गुमाए । उनीहरुमा ३० पुरुष र २५ महिला छन् ।

पहिरो मात्रै होइन बाढीले पनि सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । गत असार २४ गते राति सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा ३ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा त्रासदीपुर्ण घटना जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीमा भएको थियो । गत साउन ३० गते त्यहाँ भयानक पहिरो जाँदा ३७ जनाको ज्यान गयो । पहिरोमा परेका २ जना अझै वेपत्ता छन् ।

सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकामा गत साउन १९ गते पहिरोमा पुरिएर १० जनाको मृत्यु भयो । मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारमा कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा पहिरो खसेको थियो ।

पहिरोले पुरिएका एक जनालाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो । साउन १ गते सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिकास्थित फुल्पिङकट्टीमा दुईवटा घर पुरिँदा ५ जनाले ज्यान गुमाए ।

मराङ र विम पहिरो

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङमा गत साउन २६ गते गएको पहिरोले पनि धेरैलाई झस्काएको छ । बस्ती माथिबाट खसेको पहिरोमा पुरिँदा १९ जनाले ज्यान गुमाए ।

पहिरोमा पुरिएकाहरुमध्ये २ जना अझै बेपत्ता छन् । १० जना घाइते छन् । २७ परिवार प्रभावित भए । सोही दिन म्याग्दीकै मालिका-७ स्थित विम गाउँमा पहिरो जाँदा ८ जनाले ज्यान गुमाए । आठै जना राति आएको पहिरोमा पुरिएका हुन् । पुरिएकामध्ये २ जना अझै वेपत्ता छन् । २ जना घाइते छन् । १० परिवार प्रभावित भएका छन् ।

गृहमन्त्रालयको तथ्याङ्कअनुसार यी दुईवटा पहिरोसहित यसवर्षको मनसुनमा म्याग्दीमा मात्रै ३० जनाले ज्यान गुमाए । १५ जना घाइते छन् । ४३ परिवार प्रभावित भएका छन् ।

नाग्म र महाबै पहिरो

कालीकोटको तिलागुफा नगरपालिका-१ स्थित नाग्म बजारमा पहिरोले चार घर भत्किाउँदा १० जनाको मृत्यु भयो । यहि साउन १३ गते राती नाग्म बजारको पछाडिपट्टकिो भिरालो जमिन भासिएर पहिरो जाँदा घरभित्र रहेकाहरु पुरिएका हुन् ।

कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो । यसअघि कालीकोटको महाबै गाउँपालिका-३ मा साउन ३० गते राती गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको थियो । पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । पहिरोमा महाबै गाँउपालिका-३ नकुका वडा सदस्य रजबहादुर विष्ट समेत परेका छन् ।

यी दुई पहिरोसहित यसवर्ष कालीकोटका बिभिन्न गएको पहिरोका कारण ३७ जनाले ज्यान गुमाए । १७ जना घाइते छन् । ३ जना अझै वेपत्ता छन् ।

व्यास, ऋषिङ र रुरु पहिरो

अविरल वर्षासँगैको पहिरोमा पुरिएर तनहुँ व्यास नगरपालिका-९ माँझफाँटमा ५ जनाले ज्यान गुमाए । यसैगरी, ऋषिङ गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाकै ज्यान गयो । यो सहित यसवर्ष पहिरोमा परेर तनहुँमा १३ जनाको मृत्यु भएको छ । १ जना वेपत्ता छन् र २६ परिवार प्रभावित भएका छन् ।

यसैगरी, गुल्मीको रुरु क्षेत्र ५ आटीपाटामा साउन १६ गते गएको पहिरोले एउटा घर बगायो र घरमा रहेका ४ जना पुरिए । योसहित गुम्मीमा यसवर्षको मनसुनमा विभिन्न ठाउँको पहिरोमा परी ९ जनाले ज्यान गुमाए । २७ परिवार प्रभावित भएका छन् ।


Advertisement


झण्डै ४ करोडको क्षति

यस वर्षको मनसुनमा पहिरोले झण्डै ४ करोडको भौतिक क्षति भएको सरकारी तथ्याङ्क छ । गृहमन्त्रालयका अनुसार पहिरोका कारण ३ करोड ६४ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको भौतिक क्षेति भएको हो ।

गृहमन्त्रालयले क्षतिको जिल्लागत विवरण राखेको छ । सबैभन्दा बढी भौतिक क्षति ताप्लेजुङमा भएको छ । त्यहाँ ५४ लाख बराबरको क्षति भएको गृहको तथ्याङ्क छ ।

गत असार ३ गते वषर्ासँगै आएको पहिरोले ताप्लेजुङ फत्ताङलुङ गाउँपालिका-४ इखावु खानी टोलका केही घर र विद्यालय बगाएको थियो । पहिरोले विद्यालयको चारकोठे पक्की भवन, दुईवटा बाख्रासहितको गोठ, एउटा भान्साघर र एक परिवारका सुँगुर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले ताप्लेजुङपछि पाल्पा बढी क्षति भएको देखाइएको छ । पाल्पामा ४० लाख ७५ हजार बराबरको क्षति भएको आँकडा छ ।

कुन जिल्लामा कति क्षति ?

ताप्लेजुङ : ५४ लाख
पाल्पा : ४० लाख ७५ हजार
पाँचथर : १६ लाख
इलाम : २६ लाख ४७ हजार
मोरङ : ६ लाख
धनकुटा : १२ लाख २५ हजार
तेह्रथुङ : २० लाख
भोजपुर : ७ लाख ४१ हजार
संखुवासभा : ६ लाख ६० हजार
सोलुखुम्बु : ३२ लाख ४५ हजार
खोटाङ : ५ लाख
सिन्धुपाल्चोक : ७ लाख
नुवाकोट : ६ लाख
काठमाडौं : ३ लाख
ललितपुर : २६ लाख १५ हजार
भक्तपुर : २५ लाख
मकवानपुर : १५ लाख
स्याङ्जा : ३ लाख १४ हजार
तनहु : २६ लाख
गोरखा : १७ लाख ५० हजार
बागलुङ : ३० लाख ५ हजार
पर्वत : ७ लाख ६०
अछाम : ५ लाख
बाजुरा : २ लाख
रुकुम पश्चिम : १३ लाख ८० हजार

तराईमा बाढीले विनाश

यसवर्षको मनसुनमा तराईमा बाढीका कारण ४ करोड ४० लाख २४ हजार बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्क छ । गृहका अनुसार बाढीका कारण सबैभन्दा बढी मोरङमा ३ करोड २३ लाख १६ हजार बराबरको धनमाल क्षति भएको छ ।

असार तेस्रो साता मोरङका बिभिन्न ठाउँमा बाढीले विनाश गरेको थियो । त्यसबेला कतिपय ठाउँमा पानी पस्दा बस्ती नै बिस्थापित भएका थिए । चिसाङ खोलाको बाढीले मोरङको कानेपोखरी गाउँपालिका ५ दुखीटोल कटान गरेको थियो । यस्तै, खोला धान खेतमा पस्दा सयौँ बिगाहा धान खेत बगाएको थियो ।

बाढीले कुन जिल्लामा कति क्षति ?

मोरङ : ३ करोड २३ लाख १६ हजार
पाँचथर : १४ लाख ५० हजार
झापा : १५ लाख ७ हजार
सुनसरी : ११ लाख १० हजार
तेह्रथुङ : १७ लाख
उदयपुर : ४ लाख
नुवाकोट : १८ लाख
भक्तपुर : ९० हजार
काभ्रेपलान्चोक : १८ लाख
पाल्पा : ४ लाख
बर्दिया : १५ लाख

नवपपरासी पश्चिम : १ लाख ४६ हजार

यसकारण जान्छ वर्षेनी पहिरो

भूगर्भविद श्री कमल द्विवेदी

नेपालमा वर्षेनी पहिरो जान्छ । पहिलो कारण मानवीय नै हो । हामी पहिलेदेखि नै भिरालो जमिनमा समेत बस्दै आएका छौं । भिरालो जमिनमा खेती गर्दै आएका छौं । पहिरोको मुखमै गएर धान रोपेको हुन्छ । ठूलो पहिरोको छेउमा कुलो लगेर धान रोपेर खान खोजेपछि त समस्या भइहाल्छ ।

दोस्रो कारण हो – बाटो । सडक बनाउँछौं, एउटै पहाडमा तीन वटासम्म । टोल टोलमा, घरघरमा बाटो । अहिले सिंहदरवार गाउँ-गाउँ पुगेपछि त झन् विकास भनेको बाटो नै हो भने जस्तो भएको छ ।

अब पनि समाधान गर्ने उपाय- एकीकृत बस्ती निर्माण हो । जहाँ पहिरोको जोखिम कम भएको छ त्यहाँ बसोबास गराउने । पहाडमा अहिले भएकै अवस्थामा हरेक घरमा बाटो पुर्याउन सकिँदैन । यस्तो कार्य रोक्नुपर्छ ।

बाटो बनाउँदा माटो र पहिरोको बारेमा व्यवसायिक इन्जिनियरले हेरेर, डिजाइन गरेर काम गर्नुपर्ने हुन्छ । तर, नेपालभरी बाटो बनाउने ठाउँमा प्रोफेसनल इन्जिनियरिङ भएको पनि पाइन्न, यो रोक्नुपर्छ ।

भिरालो जमिनमा ड्राइ खेती गर्न सकिन्छ । धानै रोप्नुपर्ने चिन्तन छोड्नुपर्छ । यसो नगर्दासम्म पहिरोको जोखीम रहन्छ ।

Copy link