२०८१ पुष ७

३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

सहरी बासिन्दाले ब्रेकफास्टमा धेरैजसो के खान्छन्? बिस्कुट, पाउरोटी, पफ यस्तैयस्तै।

पछिल्लो समय स्वास्थ्यमा सजग मानिसहरूले भने खानपिन शैली बदल्दै गएका छन्। पोषिला खानेकुराको प्रयोग बढाउन थालेका छन्। यसमा कर्नफ्लेक्स पनि रोजाइमा पर्न थालेको छ।

सामान्य भाषामा मकैको चिउरा भनेर बुझिने कर्नफ्लेक्स विदेशीहरूले धेरै पहिलेदेखि खान्थे। नेपालमा भने स्वस्थ खानेकुरा ठानेर कर्नफ्लेक्स खाने चलन भित्रिएको धेरै भएको छैन। 

नेपालमै मकैबाट कर्नफ्लेक्स उत्पादन गर्ने उद्योग स्थापना भएका छन्। यसमध्ये लोकप्रिय कम्पनी हो ‘हाइलाइफ’। 

कम्पनीका सञ्चालक प्रशान्त घिमिरे भन्छन्, ‘हाइलाइफ भनेको हाइयर द्यान टुडे अर टुमरो हो। ब्रान्डको सन्देश यही हो- उच्चस्तरको।’

हाइलाइफले सन् २०१८ मा कर्नफ्लेक्सको व्यावसायिक उत्पादन थालेको हो।

तीस लाख रूपैयाँ लगानीमा सुरू भएको हाइलाइफ तीन वर्षमा ६५ करोड रूपैयाँको भएको छ। 

कर्नफ्लेक्सबाट उत्पादन सुरू गरेको ब्रान्डले अहिले ८६ वटाभन्दा बढी प्रकारका खानेकुरा उत्पादन गर्दै आएको छ।

प्रशान्तका अनुसार कर्नफ्लेक्समा मात्र वार्षिक १५ करोडमाथिको कारोबार हुने गरेको छ। दुई वर्षअघि दैनिक तीन हजार किलो कर्नफ्लेक्स उत्पादन गर्ने हाइलाइफले हाल पाँच हजार किलो उत्पादन गर्छ।


Advertisement


आफ्नो उत्पादन यति लोकप्रिय होला भनेर प्रशान्तले सोचेकै थिएनन्।

उनी भन्छन्, ‘सुरू गरेको साढे दुई वर्षमै तीन गुणा उत्पादन बढाउन सफल भयौं। यति राम्रो बजार होला भन्ने कल्पना नै थिएन।’

हाइलाइफ ब्रान्डमा ग्राहकले सबभन्दा बढी रूचाएको कर्नफ्लेक्स, चिउरा र ओट्स हो। कम्पनीले यी तीन उत्पादनमै सबभन्दा बढी कारोबार गरिरहेको छ।

कम्पनीले सुरूमा कर्नफ्लेक्स र चिउरामा ब्रान्डिङ गर्न थालेको थियो। बोरामा आएको धूलो चिउरा खाने उपभोक्ताले राम्रो प्याकेजिङ भएको गुणस्तरीय चिउरा पाउन थाले। यसले व्यापार बढायो। 

‘केही महिनाअघि एउटा अध्ययन गरेको थिएँ। बजारमा हाइलाइफ ब्रान्डको कर्नफ्लेक्सले २४ प्रतिशत हिस्सा ओगटेको पाएँ,’ प्रशान्तले भने।

ठूला दाना भएको सुख्खा मकैबाट राम्रो कर्नफ्लेक्स बन्छ। कर्नफ्लेक्स बनाउन सबभन्दा पहिले प्रेसर कुकरजस्तै ठूलो मेसिनमा मकै उसिन्नु पर्छ। मकै पाकेपछि त्यसलाई सफा गरेर भित्रपट्टिको सेतो भाग हटाउनु पर्छ।

कर्नफ्लेक्सका लागि मकैको पहेँलो भाग मात्र चाहिन्छ। यसलाई फेरि उसिनेर रोलरले च्याप्नु पर्छ। यसरी कर्नफ्लेक्स तयार हुन्छ। 

कर्नफ्लेक्स उत्पादनका लागि हाइलाइफसँग चिनियाँ, भारतीय र युरोपेली प्रविधिका मेसिन भएको प्रशान्त बताउँछन्। 

हाइलाइफले अहिले तीन प्रकारका कर्नफ्लेक्स उत्पादन गर्दै आएको छ। रातो, हरियो र गुलाबी रङले प्रकार छुट्याउँछ। यी सबैको अलग अलग विशेषता छ। 

प्रशान्तका अनुसार रातो रङको कर्नफ्लेक्स ‘ओरिजिनल’ हो। यसमा चिनी राखिएको हुन्छ। हरियो रङको कर्नफ्लेक्समा चिनी राखिएको हुँदैन। गुलाबी रङकोमा चाहिँ फाइबर, भिटामिन राखिएको हुन्छ।

गुलाबी कर्नफ्लेक्स मधुमेहका बिरामीलाई र तौल घटाउन चाहनेलाई लक्षित गरेर उत्पादन गरिएको हो।

उनले भने, ‘मधुमेहका बिरामीले प्रायः मकैको च्याँख्ला बनाएर खाने चलन छ। त्यही समूहलाई लक्षित गरेर हामीले राम्रो विकल्प ल्याएका छौं।’ 

बजारमा माग भने रातो कर्नफ्लेक्सको बढी छ। 

दूध र कर्नफ्लेक्सले खाना बराबरकै काम गर्ने हुँदा पनि कर्नफ्लेक्सले ब्रेकफास्टमा प्राथमिकता पाएको उनको भनाइ छ। 

‘व्यस्त जीवनशैली हुनेका लागि कर्नफ्लेक्स झनै बढी प्राथमिकतामा पर्‍यो,’ उनी भन्छन्, ‘खाजा बनाइरहन झन्झट भएन। दूध ततायो, कर्नफ्लेक्स हाल्यो, खायो।’ 

हाइलाइफले कर्नफ्लेक्स उत्पादन गर्न बुटवल र भैरहवामा तीनवटा उद्योग राखेको छ। 

सुरूमा प्रशान्तलाई यति धेरै कारोबार गर्न सकिएला भन्ने लागेको थिएन। ग्राहकले रूचाउँदै गएपछि उत्पादन र कारोबार बढ्दै गयो। स्वदेशमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि हाइलाइफका उत्पादनको माग बढेको छ। प्रशान्तका अनुसार जापानका विभिन्न कम्पनीबाट चिउरा, कर्नफ्लेक्स र सोयाबिनको माग आउँछ। यसले उनको खुसी पनि बढाएको छ।

हाल कम्पनीमा हाल ४५० जना कामदार छन् जसमा ८० प्रतिशत युवा छन्।

हाइलाइफलाई ब्रान्डका रूपमा चिनाउने प्रशान्तको रूचि भने खानाको व्यवसायमा थिएन। काठमाडौंमा हुर्केका प्रशान्त बाल्यकालदेखि नै प्रविधिमा रूचि राख्थे। आधुनिक प्रविधिको क्षेत्रमा केही काम गर्ने सोच थियो। उनले स्कुले जीवनमै सफ्टवेयर बनाएर बेचेका थिए। 

ती दिन सम्झिँदै प्रशान्तले भने, ‘कक्षा सातमा पढ्दा पढ्दै सफ्टवेयर बनाएर बेचेँ। आम्दानी राम्रै हुन्थ्यो। कलेज गएर पढ्नेभन्दा पनि राम्रा सफ्टवेयर कसरी बनाउने भनेर अध्ययन गर्थेँ। यसमै भविष्य देखेको थिएँ।’ 

उनले रोबोटिक्स एसोसिएसनमा केही समय काम पनि गरे। भारतको एउटा सफ्टवेयर कम्पनीमा छ महिना काम गरे तर त्यसलाई निरन्तरता दिन सकेनन्। परिवारको एक्लो सन्तान भएकाले उनी पारिवारिक व्यवसायतिर मोडिए। 

उनका बुबा तुलसी घिमिरे खानेकुराका व्यवसायी थिए। बुबाले २०५८ सालमा कर्नफ्लेक्स उत्पादनका लागि भैरहवामा उद्योग स्थापना गरेका थिए। त्यस बेला ‘महिमा’ नामको ब्रान्ड थियो। 

प्रशान्त भन्छन्, ‘बुबाले भैरहवामा एउटा फ्याट्री खोल्नुभएको थियो। त्यहीँबाट दैनिक सय किलो कर्नफ्लेक्स उत्पादन हुन्थ्यो तर बजार थिएन।’ 

उनका अनुसार त्यो बेला नेपालमा कर्नफ्लेक्स उत्पादन गर्ने अरू कुनै उद्योग थिएन। त्यति बेला दालमोठमा मिसाउने कर्नफ्लेक्स पनि आयात हुन्थ्यो। बिस्तारै उनीहरूले दालमोठ उद्योगसँग काम गर्न थाले। 

‘कर्नफ्लेक्स खाने मान्छे थिएनन्। हामी दालमोठ फ्याक्ट्रीलाई दिन्थ्यौं। बाँकी घरमा खाइन्थ्यो,’ प्रशान्त सम्झन्छन्, ‘पछि बुबाले आफन्त र छरछिमेकीलाई बाँड्नुभएछ। सबैतिरबाट राम्रो प्रतिक्रिया आएपछि उत्पादन बढाउनुभएको हो।’

तर महिमा ब्रान्डको कर्नफ्लेक्स ग्राहकले रूचाएनन्। यसमा प्रशान्तको आफ्ने बुझाइ छ, ‘मानिसहरूलाई थाहा पनि थिएन, कर्नफ्लेक्स के हो, कसरी खाने।’

काठमाडौं, पोखरा लगायत केही सहरमा कर्नफ्लेक्स पुग्थ्यो। उत्पादनको २० प्रतिशत जति मात्र प्याकेटमा बिक्री हुन्थ्यो। 

‘यो व्यवसायमा बुबाले आशा मारिसक्नुभएको थियो। उहाँको चाहना थियो, छोरोले सम्हालोस्,’ प्रशान्तले भने, ‘हामीलाई पनि लगानी गरेर डुब्ने पो हो कि भन्ने डर थियो। व्यवसायका लागि म झनै नयाँ थिएँ।’

बुबाले उत्पादन गरेको कर्नफ्लेक्स खाँदै हुर्केका भए पनि प्रशान्तले त्यही व्यवसाय गर्छु भन्ने सोचेका थिएनन्। बिस्तारै उनले कर्नफ्लेक्सको बजार र भविष्यबारे अध्ययन थाले। यसैमा छ महिना बिताए। 

उनले हामीकहाँ अन्तर्राष्ट्रिय स्तरको ‘केलग्स’ ब्रान्डको कर्नफ्लेक्स उपयोग हुने गरेको पाए। यसमा सम्भावना देखेपछि नयाँ योजनाका साथ अघि बढ्ने सोचे।

‘केलग्स ब्रान्डले यति धेरै बेचिरहेको छ भने हामी किन सक्दैनौं भन्ने भयो। अनि कर्नफ्लेक्स उत्पादनबाटै पहिलो पाइला अघि बढाएँ,’ उनले भने।

अनि उनले हाइलाइफलाई ब्रान्डका रूपमा अघि सारे। उनका अनुसार कम्पनीको ब्रान्डिङका लागि हाइलाइफ जरूरी थियो। बुवाले सुरू गरेको महिमा कर्नफ्लेक्सबाटै खाद्य व्यवसायमा हाइलाइफ सुरू गरेका हुन् उनले। महिमा ब्रान्ड अहिले पनि छँदैछ।

थोरै परिमाणमा उत्पादन गर्दै प्रशान्त बजार धाउन थाले। ग्राहकको प्रतिक्रिया लिँदै सुझावअनुसार सुधार गर्दै अघि बढे।

‘बजार र चोकमा माइकिङ गरेरै कर्नफ्लेक्स चखाउँदै प्रतिक्रिया लिएँ। धेरै कुरा सुधार्ने अवसर पनि पाएँ,’ प्रशान्तले संघर्षका सुरूआती दिन सम्झे।

उनले यसरी नै पाँच महिना बिताए। बजारको प्रतिक्रिया राम्रो पाएपछि व्यावसायिक हिसाबले यात्रा अघि बढाए।

यो मेहनतको नतिजा उनले अहिले पाएका छन्। केही दिनअघि एउटा बजार अध्ययन गर्दा ओट्स र कर्नफ्लेक्समा हाइलाइफले केलग्सलाई जितेको पाएको प्रशान्त बताउँछन्।

उनले बजार विस्तारमा प्रविधिको खुबै उपयोग गरेका छन्। आफ्नो रूचिको क्षेत्रलाई हाइलाइफसँग जोडेर डिजिटल माध्यममा कम्पनी अघि बढाइरहेको उनले बताए।

‘काम गर्न सक्छु भन्ने आत्मविश्वास आएकै डिजिटल माध्यमको विकासले हो। बजार प्रविधिमैत्री छ। सफ्टवेयरबाटै काम हुन्छ,’ उनी भन्छन्।

कम्पनीको फेसबुकइन्स्टाग्राम र वेबसाइट छ। कम्पनीले त्यहाँ आएका कमेन्ट र सुझावमा तुरून्तै प्रतिक्रिया दिन्छ। बजारमा हाइलाइफको गुणस्तर सबैले रूचाएको प्रशान्तको भनाइ छ। 

कम्पनीले उत्पादन सुरू गर्दा देशमा कोरोना संक्रमणले लकडाउन थियो। लकडाउनमा मानिसहरूले स्वस्थ खानेकुरा खोज्न थाले। प्रशान्तका अनुसार लकडाउनपछि कर्नफ्लेक्सको माग ह्वात्तै बढ्यो। उत्पादनमा वृद्धि भयो। एकातिर हाइलाइफले कर्नफ्लेक्समा बजार बढायो, अर्कातिर लकडाउनले विदेशी उत्पादन आयात घट्यो। 

प्रशान्त भन्छन्, ‘हाम्रो प्रतिस्पर्धी अन्तर्राष्ट्रिय ब्रान्ड हुन्। कोभिडले उनीहरूको सामग्री आयातमा समस्या भयो अनि हाइलाइफले बजार लियो।’

गुणस्तरीय खानपिनमा मानिसको जोड बढ्दै गएको छ। कम्पनीले खानाको गुणस्तरमा पनि उत्तिकै ध्यान दिएको उनले बताए। कर्नफ्लेक्स उत्पादन बढे पनि मकै उत्पादन बढ्न सकेको छैन। स्वदेशमा उत्पादन भएको मकै अपुग भएकाले हाइलाइफले ठूलो परिमाणमा आयात गर्छ। 

उनका अनुसार कुखुराको दाना बनाउने उद्योगतिर मकैको खपत बढी हुन्छ। स्वदेशी मकै सस्तो पर्छ। तुलनामा आयातित मकैमा दस प्रतिशत मूल्य बढी पर्छ। मकैको तौलको करिब ५५ प्रतिशत कर्नफ्लेक्स उत्पादन हुन्छ। अर्थात् सय किलो मकैबाट ५५ किलो कर्नफ्लेक्स तयार हुन्छ।

कम्पनीले खानेकुरालाई ब्रेकफास्ट, स्न्याक्स, लगायत विभिन्न समूहमा वर्गीकरण गरेको छ। ब्रेकफास्ट अन्तर्गत कर्नफ्लेक्स, ओट्स, चोकोज, म्युस्ली, जाम लगायत छन्। स्न्याक्स अन्तर्गत चिउरा, सोयाबिन, केचप पर्छन्। किचन अन्तर्गत पास्ता, ग्रिन टी, आँटा, तेल, दालको पापड लगायत छन्। 

‘अब बिस्कुट र अचारको नयाँ उत्पादन थप्ने भएका छौं,’ प्रशान्तले भने, ‘उत्पादनहरू निर्यात गर्ने लक्ष्य पनि छ।’

Copy link