हामीमध्ये धेरैको बिहान चियाबाट सुरू हुन्छ। दिउँसो पनि नभइ हुँदैन। कसैको त सुत्ने बेला पनि चिया खाने बानी हुन्छ।
यस्तै केही पारखीलाई त चियाले व्यवसायतिरै तानेको पनि छ। तिनैमध्ये एक युवा हुन् काठमाडौंका सुजन कायस्थ।
चाबहिल, गोपीकृष्णमा उनको साथीहरूको चिया पसल छ। हरेक बिहान क्याम्पस जाँदा साथीको पसल छिर्थे। चिया पिउँथे। गफ गर्थे।
Advertisement
त्यहाँ उनले आफूजस्तै चियापारखी देख्थे। युवाहरूको चियाप्रति रूचि र आकर्षण नियाल्थे। त्यतिबेलै हो उनलाई पनि भविष्यमा कफी वा चिया पसल खोल्ने सोच फुरेको।
‘साथीहरूको चियापुर नामको पसल छ। त्यहाँ धेरै स्वादका चिया पिएको थिएँ। त्यहाँ पारखीहरूको जमात देख्थेँ। त्यसैले यही व्यवसायमा लगानी गर्छु भन्ने लागेको थियो,’ सुजनले भने।
पसल खोल्ने सोचे पनि कहिले र कुन ठाउँमा भन्नेबारे उनले योजना बनाएका थिएनन्। चियामा लगानी गर्न उपयुक्त ठाउँ खोजीमा लागे।
सुजनका नजिकका आफन्त दाइको गुह्वेश्वरी चोकमा सहकारी छ। उनी दाइको अफिसमा पनि आउने-जाने गरिरहन्थे। उनलाई त्यो ठाउँ मनपर्थ्यो। भेटघाटका लागि जाने क्रममा उनले त्यहीँ एउटा सटर खाली भएको जानकारी पाए।
‘दाइकै अफिस तल सटर खाली भएछ। ठाउँ पनि राम्रो लाग्यो। मुख्य कुरा ठाउँ र पार्किङ हो। त्यो दुबै पाएपछि आट गरेँ,’ उनले भने।
यो यात्रामा उनलाई साथ र सहयोग दिन आइपुगे सञ्जय तामाङ। उनीहरू बाल्यकालदेखिकै साथी हुन्।
रोजगारीका क्रममा सात वर्ष परदेश बसेका सञ्जयलाई स्वदेशमै लगानी गर्ने सोच थियो।
‘साथी परदेशमै हुँदा पनि कफी वा चिया पसल खोल्ने विषयमा हाम्रो कुराकानी भइरहन्थ्यो,’ सुजन सम्झिँदै भन्छन्।
त्यति बेला सञ्जय स्वदेश फर्किसकेका थिए। दुई साथीबीच यही व्यवसायमा लगानी गर्ने कुरा भयो। तर चिया पसल खोल्ने कि कफी, दोधारमा थिए।
कफी सपका लागि त्यो ठाउँ सानो भयो। तर ठाउँ राम्रो र केन्द्रमा भएकाले यसै जान दिन मन मानेन। अनि त्यसैलाई चिटिक्क पारेर चिया बेच्ने योजना बनाए।
चिया पसल त खोल्ने, तर नाम पो के राख्ने?
गुह्वेश्वरी चोक मन्दिरको आसपास भयो। बागमती करिडोरका छेउछाउमा पार्क पनि छन्। मान्छहेरू बस्न आउँछन्।
यो दृश्य नियालेपछि उनको दिमागले नाम फुरायो, चियापार्क।
‘नाम फुरेपछि हामी पसलको सजावटतिर लाग्यौं। साथीभाइसँग बसेर सल्लाह गर्यौं। सानो भए पनि राम्रो, सफा र चिटिक्क देखियोस् भन्ने सोचेका थियौं। त्यस्तै बन्दैछ,’ सुजनले भने।
चियापार्कको साजसज्जामा विशेष ध्यान दिएका छन् उनले।
केटाकेटीदेखि पाका उमेरसम्मकालाई बस्न मिल्ने गरी साना-ठूला टुल र टेबल मिलाएर राखिएका छन्। एउटा चिटिक्कको सानो सोफा छ। स–साना बिरूवाका गमला पनि देखिन्छन्। अनि भित्तामा मट्का (माटोका) कप डोरीमा मिलाएर झुन्ड्याइएको छ। चियापार्कमा यी मट्काले आकर्षण थपेका छन्।
अहिलेसम्म यो पसलमा ५ लाख बढी लगानी गरिसकेको सुजनले बताए। अझै पनि उनीहरू सजावटमा काम गरिरहेका छन्। बस्नका लागि सटरबाहिर पनि ठाउँ बनिरहेको छ।
चियापार्क आधिकारिक रूपमा खुलेको दुई साता पनि भएको छैन। तर मानिसहरूको चहलपहल हेर्दा वर्षौंदेखि चलिरहेको चिया पसलजस्तो देखिन्छ।
बाहिर सजावटको काम हुँदै गर्दा, भित्र पसलमा उनीहरूको व्यापार भइरहेको छ। चिया पिउनेहरू बिहानदेखि साँझसम्मै हुन्छन्। सुजनका अनुसार पशुपति र गुह्वेश्वरी मन्दिर आउनेहरू चियापार्कका ग्राहक बनिरहेका छन्।
‘दैनिक डेढ सयभन्दा बढीले चिया पिउनुहुन्छ,’ सुजनले उत्साहित हुँदै सुनाए, ‘छोटो समयमै राम्रो चल्दा खुसी लागेको छ।’
चियापार्कमा अहिले दस थरी स्वादको चिया पाइन्छ- मट्का, मसला, ब्याल्क, ग्रीन टी लगायत। यी चिया स्वाद हेरेर २५ रूपैयाँदेखि ७० रूपैयाँसम्म पर्छ।
त्यस्तै कित्लीमै चिया लिएर पिउन चाहनेका लागि पनि सुविधा छ। एक कित्ली मसला चियाको तीन सय ५० रूपैयाँ पर्छ। यसमा ७ कप चिया हुन्छ।
‘समूहमा जानेहरूले कित्ली नै लिएर चिया पिउन रूचाउँछन्। थप कित्ली लिँदा छुट पनि दिन्छौं,’ उनले भने।
सुजनको योजना विस्तारै नयाँ स्वादका चिया थप्ने छ। सकेसम्म नेपालमा नपाइने स्वाद पस्किने मन हो। उनी भन्छन्, ‘छिट्टै कश्मिरी चियाको स्वाद ल्याउँछौं। यो अहिले नेपालको चिया पसलमा मैले पिउन पाएको छैन।’
सुजनले यो चियाको स्वाद विदेश पुग्दा चाखेका थिए। नामजस्तै कश्मिरमा होइन, केही वर्षअघि युएइ घुम्न जाँदा। आफूलाई मनपरेको उक्त त्यो स्वाद चियापार्कमा पनि रूचाइने उनको विश्वास छ।
चिया पसल भए पनि हामीमध्ये धेरैले त्यहाँ कफी पनि पाइने आश गर्छौं। सोधी पनि हाल्छौं- कफी पाइन्छ? सुजन यस्ता ग्राहकलाई फर्काउन चाहँदैनन्। फेरि कफी सप पनि त उनको सपना हो।
त्यसैले उनी चियापार्कमा फरक स्वादका कफी पनि राख्ने तयारीमा छन्। कफी बनाउने साढे पाँच लाख पर्ने मेसिन अमेरिकाबाट मगाइसके। उनले भने, ‘त्यसबाट धेरै स्वादका कफी बनाउन मिल्छ। ग्राहकको माग पनि छ।’
चियापार्कसँगै २४ वर्षीय सुजनको अर्को काम छ, क्याम्पस जानु। उनी मानविकी संकायमा स्नातक तह अध्ययन गर्दै छन्। बिहान सबेरै पुग्नुपर्छ। अहिले बिदा भएकाले बिहान चियापार्कमै भेटिन्छन्।
योबाहेक उनको अर्को मुख्य काम छ, जागिर। चार वर्षदेखि यती डिष्टिलरी र याक ब्रुअरी कम्पनीमा काम गरिरहेका उनी त्यहाँका सिनियर सेल्स सुपरभाइजर हुन्। काठमाडौं उपत्यकाका मार्ट, ठूला स्टोरहरूमा उनी मार्केटिङको काम हेर्छन्।
बिहान दस बजेदेखि बेलुका छ बजेसम्म उनी यही काममा व्यस्त हुन्छन्। दिनभरि जागिर सकेपछि बेलुका फेरि उनको गन्तव्य हो चियापार्क। चियापार्कमा पकाउन र बेच्न एक जना सहयोगी राखेका छन्।
‘जागिरबाट राम्रै कमाइ हुन्छ। तर आफैं केही गर्ने हुटहुटी भएकाले चियापार्क खोलेको हुँ,’ सुजनले भने।
युवाहरूका लागि देशमै अवसर भएको उनले महसुस गरेका छन्। चियापार्कका प्रायः ग्राहक पनि युवा नै छन्। ती ग्राहकको प्रतिक्रियाले उनी मख्ख पनि छन्।
‘साथीहरू र दाइभाइले फ्रेन्चाइज माग्न थालिसके,’ सुजनले खुसी हुँदै भने, ‘अब अध्ययन गरेर र ठाउँ हेरेर मात्र अघि बढ्नुपर्ला। एक वर्षमा पाँच वटा फ्रेन्चाइज विस्तार गर्ने सपना छ।’