नेकपा माओवादी केन्द्रले पोखरा महानगरको उपमेयरमा सिर्जना त्रिपाठीलाई उपमेयरमा सिफारिस गरेको छ। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले मेयर र उपमेयर सिफारिस गर्दा त्रिपाठी उपमेयरमा सिफारिस भएकी हुन्।
Advertisement
उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी पनि हुन्। अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालले त्रिपाठीसँग विवाह गरेका थिए।उनीहरूका एक छोरा पनि छन्। त्रिपाठीपछि प्रकाशले बिना मगरसँग विवाह गरेका थिए।
प्रकाशको मृत्युपछि त्रिपाठी पोखराको राजनीतिमा क्रियाशील छिन्।
महानगर समितिको बैठकले मेयरमा प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने, सीता खड्का र जिल्ला संयोजक बखानसिंह गुरूङलाई सिफारिस गरेको छ।
यस्तै,उपमेयरमा प्रदेश कमिटी सदस्यसमेत रहेकी त्रिपाठीसहित गोमा ढकाल र महानगर सदस्य सूर्यप्रकाश तिवारी सिफारिस भएका छन्। मेयर र उपमेयरका लागि महानगर कमिटीले सर्वसम्मत नाम सिफारिस गरेको केन्द्रीय सदस्य दीपक कोइरालाले जानकारी दिए।
पोखरा महानगरको मेयरमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच रस्साकस्सी चलिरहेको छ।
कांग्रेसले हैसियतभन्दा ठूलो भाग खोजेको भन्दै समाजवादीलाई गठबन्धनबाट बाहिरिएर स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरिसकेको छ।
गठबन्धनमा माओवादी केन्द्रलाई महानगरको उपमेयर दिन कुनै समस्या नभएको कांग्रेसले जनाएको छ। प्रदेश सांसदसमेत रहेका माओवादी नेता कोइरालाले महानगरका विषयमा केन्द्रले निर्णय गर्ने बताए।