काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले मंगलबार स्वास्थ्योपचार गराइरहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई गरी कुल पाँच लाख ५६ हजार ८४३ रुपैयाँ सहयोग गरिएको हो ।
Advertisement
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएका एथलेटिक्सका जितबहादुर केसी र कराँतेका विष्णु नेपालीलाई समान एक लाख २५ हजार रुपैयाँ प्रदान गरियो । भलिबलकी रिया कुँवरलाई ६३ हजार ९२९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई ८७ हजार ९१४, कराँतेकी कोपिला विष्टलाई ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीलाई ८० हजार रुपैयाँ सहयोग गरिएको हो ।
जितबहादुरको हातमा चोट लागेको थियो । विष्णुलाई पक्षघात भएको थियो भने रिया, सीमा र कोपिलाको घुँडामा चोट लागेको थियो । दीपकलाई काँघको समस्या छ ।
कोषका अध्यक्ष तथा राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । कोषका सदस्यसचिव तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायत पदाधिकारीको उपस्थितिमा सहयोग वितरण गरिएको हो ।
“सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सहयोगका लागि अन्य निकायको पनि सहयोग खाँचो छ,” सदस्यसचिव घिसिङले भने, “कोषको आयतन बढाउन आवश्यक छ । यो कार्यमा म लागिरहेको छु । तपाईंहरूको पूर्ण स्वास्थ्यलाभको कामना गर्छु ।”