२०८१ मंसिर ११

अमेरिकी राजदूत बेरी भन्छन्- अमेरिकीहरू नेपालीलाई चार कुराले चिन्छन्

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकीहरूले नेपालीलाई चार कुराले चिन्ने बताएका छन्। 

नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै बेरीले ७५ वर्षको यस अवधिमा हाम्रा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिँदै आएका बताएका छन्।

‘अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत् विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्दछन्,’ बेरीले भनेका छन्। 

उनले नेपाल र अमेरिकाको सम्बन्ध पुस्तौंदेखि चल्दै आएको र अझै चलिरहने उल्लेख गरेका छन्।


Advertisement


सम्बन्धको सुरूआतदेखि नै अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको राजदूत बेरीको भनाइ छ।  

‘नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउँछ। सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको थियो। युएसएआइडीमार्फत् अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्‍यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको संख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झर्‍यो,’बेरीले भनेका छन्,‘महामारी सुरू भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको छ।’

गत फागुनमा पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौताले नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्ने र २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग उनले उल्लेख गरेका छन्।

‘नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्दछ। सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ। झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ ओटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ। यस कार्यक्रमका परिणाममध्ये काठमाडौंको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ,’ बेरीले भनेका छन्। 

जनता-जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग भएको उनले उल्लेख गरेका छन्। 

‘आजको दिनमा जलवायु संकटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ। यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौं र यसबाट फल प्राप्त गर्नेछौं, जसरी पुस्तौंदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ,’ वक्तव्यमा भनिएको छ।

Copy link
Powered by Social Snap