२०८१ मंसिर १३

पोखरा प्रमुखका उमेदवार भन्छन्- अंगदान गर्छु, फेरि चुनाव लड्दिनँ

पोखरा । नेकपा (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले आसन्न स्थानीय तह निर्वाचन नै आफ्नो लागि अन्तिम भएको बताएका छन् ।

शनिबार एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको उमेदवार परिचय तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा थापाले अन्तिमपटक निर्वाचन लड्न लागेको बताएका हुन् । “अर्को पुस्ता पार्टी नेतृत्वमा तयार भएको छ । म भन्न चाहन्छु, मेरो यो चुनाव अब अन्तिम चुनाव हुनेछ, म अब चुनाव लड्ने छैन,” उनले भने ।


Advertisement


आफूले जीवन नै पार्टी राजनीतिमा समर्पण गरेको भन्दै उनले शरीरमा अंग मात्र रहेको र अंगहरू पनि दान दिने घोषणा गरे । “अब बाँकी कुरा भनेको मेरा शरीरका अंगहरू मात्र छन्, दान दिनुपर्ने शरीरका सबै अंगदान गर्नेछु । सबैलाई यसरी नै आफ्नो जीवन देश र पार्टीका लागि काम गर्न अपिल गर्न चाहन्छु,” थापाले भने ।

पोखरामा आफूहरू विजयी हुने र महानगरका काम गर्न आफू अनुभवी रहेको उनको भनाइ छ । उनले ०५४ मा पोखराका प्रमुख भएर काम गरिसकेका छन् ।

विभिन्न प्रतिबद्धता कार्यकर्तामाझ प्रस्तुत गर्दै उनले बाँकी कुरा घरदैलोका क्रममा भन्ने बताए । पार्टीको घोषणापत्र जस्ताको त्यस्तै महानगरमा इमानदारिताका साथ कार्यान्वयन गर्ने, पार्टीलाई आँच आउने, नेताहरूको विरासतमा आँच आउने क्रियाकलालप हाम्रो जीवनभरि हुन नदिने उनको प्रतिबद्धता छ ।

थापाले भने, “हामी पोखराको मुहार, हाम्रो नेतृत्वमा फेर्न चाहन्छौँ । अहिलेका उमेदवारहरू त्यहाँ गएर सिक्नुपर्ने केही छैन । हाम्रो उपप्रमुख देशकै नम्बर १ हुनुहुन्छ । डे १ बाट नै काम हुनेछ । हिजोको २०५४ देखि ०५९ सम्म काम गरेको, सहयोग गरेको अनुभवका आधारमा म त्यहाँ गइसकेपछि सिक्नुपर्ने छैन, कर्मचारी चिन्नुपर्ने छैन । सेवालाई हामीले सर्वसुलभ बनाएर अगाडि बढाउनेछौँ ।”

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वास्थ्य, विमानस्थल बनेपछि अन्तर्राष्ट्रिय हबका रूपमा विकास गर्ने, निर्वाचित भइसकेपछि त्यहाँबाट पाउने सेवा सुविधा सम्पूर्ण गरिब जनताको सेवा र विकासमा लगाउने, आफूले कुनै सुविधा नलिने उनले घोषणा गरे । निर्वाचित भए पहिलो दिनबाटै कमिसनतन्त्र र भ्रष्टाचारको अन्त्य गर्ने उनको जिकिर छ ।

आसन्न निर्वाचनमा आफूहरूले कम्तीमा १५ देखि २० हजार मतान्तरले जित्ने र त्यो संख्या बढेर २५ देखि ३५ हजारसम्म पुग्न सक्ने उनको आकलन छ ।

Copy link
Powered by Social Snap