२०८१ मंसिर १३

देउवालाई ३ नम्बर ‘प्यारो’ ! प्रचण्डले भनेका थिए– ओलीलाई ‘बर्बराउने’ मौका नदिऔँ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको तेस्रो वरीयतामा रहेका धिरतप्रताप सिंहलाई महानिरीक्षक ‘आईजीपी’ बनाएका छन् । 

नेपाल प्रहरीमा १६ महिनाअघि एआईजी भएका विश्वराज पोखरेल र ११ महिना अघि एआईजी बनेका सहकुल थापालाई छोडेर केही महिना अघिमात्र आफैँले एआईजी बनाएका धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको लगाव धिरजप्रतापप्रति बढी नै देखिएपछि कांग्रेसका मुख्य पदाधिकारीहरुले वरीयता मिचेर विवादित नबन्न निरन्तर आग्रह गरिरहेका थिए । 


Advertisement


तर देउवाले अडान छाडेनन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि देउवालाई वरीयता नमिच्न पटक पटक आग्रह गरेको स्रोतले जानकारी गरायो ।

यसबीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलमा पनि ती पदाधिकारीले वरीयता मिचेर चुनावको मुखमा विवादित नबन्न आग्रह गरेपछि अध्यक्ष दाहालले समेत वरीयताकै आधारमा अघि बढ्न देउवालाई आग्रह गरेका थिए । 

“प्रचण्डले त केपी ओली एजेन्डाविहीन भएर हिँडेका छन् । उनलाई एउटा एजेन्डा दिएर चर्किने ठाऊँ नदिनुहोला, उनलाई बर्बराउने मौका नदिऔँ भन्नुभएको थियो,” कांग्रेसका एक पदाधिकारीले भने, “त्यसमा सभापति देउवाले जवाफ नै दिनुभएन ।” 

आइतबार बिहान पनि कांग्रेसका तीन पदाधिकारीले चुनावको मुखमा पार्टीलाई विवादमा नतान्न बालुवाटारमै पुगेर देउवाको ध्यानाकर्षण गराएका थिए । 

उनीहरुको ध्यानाकर्षणले नपुगेपछि पदाधिकारीहरुले अघिल्लोपटक चुनावको क्षति स्मरण गराएका थिए ।

“हामी चुनावको मुखमा छौँ । विगतमा आएको विवादले पार्टीलाई क्षति पुर्‍याएको विषयमा तपाईँ आफैँ जानकार हुनुुहन्छ,” आइतबार बिहानको बैठकमा महामन्त्री थापाले राखेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “वरीयता मिचेर निर्णय गर्नुभयो भने भोलिको परिस्थितिको जिम्मा पार्टीले लिन सक्दैन । तपाईंले व्यक्तिगतरुपमा थेग्न पनि सहज हुँदैन ।” 

उनले सभापतिको अडानको मूल्य पार्टीलाई महंगो पर्नसक्ने भन्दै निर्णय गर्दै नगर्न भनेको स्रोतले बतायो । 

कांग्रेस पदाधिकारीले ओली सरकारका गलत निर्णयविरुद्ध प्रश्न उठाइरहेका तर उनीहरुको चुनौती, दबाब स्वीकार नगरेका देउवाले सुझाव पनि लिएनन् । अन्ततः उनले वरीयतामा तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरे ।

यसबीचमा गृहमन्त्री बालकृष्ण खाँणको भूमिका पनि विभागीय मन्त्रीका रुपमा नदेखिएको स्रोत बताउँछ ।

एकहप्ता अघिसम्म खाँण वरीयताअनुसार नै आईजीपी नियुक्ति हुनुपर्ने अडानमा थिए । उनले एकहप्तादेखि ‘टोन डाउन’ गरेको स्रोतले बतायो । तर आइतबार बिहान पनि एकपटक उनी पार्टीलाई क्षति पुग्ने अवस्थामा वरीयता नमिचौँ भन्ने अवस्थामा पुगेका थिए तर धेरैबेर अडान राख्न सकेनन् ।

उनले पनि अन्तिममा प्रधानमन्त्रीकै इच्छाअनुसार हुने बताएपछि देउवालाई बल पुगेको थियो ।

कांग्रेस उपसभापति खड्काले ओलीले जे गरे त्यसको निरन्तरता दिएर चुनावको मुखमा भोट घटाउने काम नगर्न ध्यानाकर्षण गराएका थिए ।

पाँच वर्षअघिको आईजी नियुक्ति प्रकरण दोहोरिँदै पाँच वर्षअघि पनि ओली सरकारमै सहभागी माओवादीले समर्थन फिर्ता लिएपछि सरकार फेरिएको थियो । 

फेरिएको सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि थिए । तर, देउवाको एकल अडानले सरकारले आईजीपी भने तेस्रो वरीयताका जयबहादुर चन्दलाई नियुक्त गरेको थियो ।

गृहमन्त्री निधिको त त्यही घटनाले देउवासँगको सम्बन्ध नै चिसिन पुगेको थियो । पहिलो वरीयतामा आफू रहेको दाबी गरिरहेका नवराज सिलवाल त्यसपछि सर्वोच्च गएका थिए । 

सर्वोच्चले सरकारको निर्णय उल्टाइदियो । तर, सरकारले त्यसपछि सर्वोच्चमा कार्यसम्पादन मूल्यांकन विवरण पेस गर्दा सिलवालले नक्कली विवरण पेस गरेको आरोप लाग्यो ।

सर्वोच्चको त्यही निर्णयले सर्वोच्च–सरकार संघर्षको रुप धारण गर्‍यो । त्यसपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भयो । 

महाभियोग प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट दायर गरे । उक्त रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग उल्ट्याइदिए । 

सरकारले फैसलाविरुद्ध प्रश्न उठाएन ‘भ्याकेट’ पनि गरेन । कार्यसम्पादन मूल्यांकनको नम्बरलाई आधार बनाएर सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएको थियो । 

त्यो मुद्दाले कांग्रेसले चुनावमा हार्नुको एउटा कारण भएको भन्दै छलफलको विषय बनाएको थियो । 

“अहिले महाभियोगसम्म नपुगिसकेका कारण विगतकै अवस्था निर्माण भएको छैन, तर यसले विपक्षलाई मसला भने दिएको छ,” कांग्रेसका एक नेताले भने, “पहिलो र दोस्रो वरीयताका व्यक्तिहरुले अदालत जाने कुरा गरिसकेका हुँदा भोलि त्यो अवस्था नआउन भन्न सकिन्न ।” 

उनले सामान्य अवस्थामा सरकारको निर्णय बेठिक नभए पनि चुनावका समयमा भएको निर्णयको परिणाम गलत आउने दाबी गरे । 

ती नेताले भने, “तर चुनावको मुखमा वरीयता मिच्दा मिचिएका व्यक्ति र उनको पक्षमा रहेका सेन्टिमेन्ट उल्टिन सक्छ भने विपक्षीले पनि मसला बनाएर आफ्नो माहोल बनाउन सक्छ । यति पनि मूल्यांकन गर्न नसक्ने नेताका कारण कांग्रेसलाई क्षति पुग्न सक्छ ।”

Copy link
Powered by Social Snap