२०८१ मंसिर २

बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उमेदवारी

काठमाडौं । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका छन् । उनले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सदस्यमा उमेदवारी दर्ता गराएका हुन् ।


Advertisement


शुक्रबार एन्फाको अध्यक्षका लागि पंकजविक्रम नेम्वाड तथा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्कासहित पाँचजनाले केन्द्रीय सदस्यका लागि उमेदवारी दिएका छन् ।

पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भूमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्षदेखि बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन् । बाँके जिल्ला फुटबल संघमा सदस्यका रूपमा प्रवेश गरेका शाहीले दुई कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन ।

बाँकेमा सुरुआतमा उनले ओशोनिक क्लबमार्फत ग्रासरुट कार्यक्रम सञ्चालन गरेका थिए । जसले बाँकेका आधा दर्जन खेलाडीलाई नेपाली राष्ट्रिय महिला टोलीसम्म पुग्न सहयोग गरेको थियो । नेपालगन्जमा फुटबलका भौतिक पूर्वाधार, एन्फा ग्रासरुट फुटबल मैदान निर्माण, नेपालगन्ज गोल्ड फुटबलको सुरुआत उनको नेतृत्वमा भएको थियो ।

पश्चिम क्षेत्रमा फुटबलको विकासमा शाहीलाई कुशल नेतृत्वका रूपमा चिनिन्छ । नेपाली फुटबललाई अनुशासित रूपमा गतिशीलता प्रदान गर्न आफूले उमेदवारी दिएको अध्यक्ष शाहीले बताए । उनले भने, “समाज परिवर्तन गर्न, देशको प्रतिष्ठा बढाउन फुटबलले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर, पश्चिम नेपालमा हामीले सोचेजस्तो विकास गर्न सकेको छैनौँ । थुप्रै समस्या र चुनौती छन् हामीसँग । हामीले राम्रो गरेका जिल्ला र क्लबको अनुभवबाट सिक्दै पश्चिम क्षेत्रमा फुटबलको विकास गर्न जरुरी छ ।”

Copy link
Powered by Social Snap