काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा पारित गर्दा संसद्मा भनिएको ‘व्याख्यात्मक घोषणा’को विषयमा अमेरिकाले लिखित धारणा नदिएसम्म परियोजना अघि नबढाउन माग गरेका छन् ।
Advertisement
बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले व्याख्यात्मक घोषणाको विषयमा अमेरिकाबाट लिखित धारणा नआएको भन्दै संसद्लाई जानकारी गराउनुपर्ने बताए ।
यस्तै, नेपाल–भारतबीचको ईपीजी प्रतिवेदनका विषयमा गठबन्धन सरकारको धारणा के हो ? भन्दै उनले भारतीय प्रधानमन्त्रीसँग कुरा राख्न किन नसकेको ? भन्दै प्रश्न गरे ।
सांसद रावलले देश अत्यन्त कमजोर भएको र निर्णय गर्ने अधिकार बाह्य शक्तिलाई दिइएको भन्दै परराष्ट्र नीतिमा प्रश्न उठाए ।
“अमेरिकी सहायक विदेशमन्त्री जो तिब्बत मामिला हेर्छिन्, उनलाई तिब्बती शरणार्थीस्थल र गुम्बा किन घुमाएको हो ? यो स्वतन्त्र र असंलग्न परारष्ट्र नीति हो,” उनले प्रश्न गरे ।
नीति तथा कार्यक्रममा धेरै अंग्रेजी शब्द लेखिएको भन्दै उनले नेपाली भाषामा संशोधन र रूपान्तरण गर्न पनि माग गरे ।