हेटौँडा । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम जेठ १६ गते प्रस्तुत गर्ने भएको छ । प्रदेश सभा सचिवालय हेटौँडामा आज सम्पन्न कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
Advertisement
जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । त्यही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने तथा जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको हो ।
जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ । बैठकमा संसद् सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको पाँच अध्यादेश पेस हुने कार्यक्रम छ ।