२०८१ आश्विन १

प्रेस युनियनको महाधिवेशन गर्न नसकेका बद्री सिग्देललाई सल्लाहकारले झपारे   

काठमाडौं । प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन गर्न नसकेका युनियनका अध्यक्ष बद्री सिग्देललाई सल्लाहकारले झपारेका छन् । 


Advertisement


युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा थापागाउँमा आयोजना गरेको कार्यक्रममा युनियनका पूर्व अध्यक्ष र सल्लाहकारलाई बोल्न नदिई आफू एक्लैले मात्र बोलेपछि सल्लाहकारले झपारेका हुन् । 

युनियनका कोषाध्यक्ष सरोज अधिकारीको डिजाइनमा अध्यक्ष सिग्देलले स्थापना दिवसजस्तो कार्यक्रममा पूर्वअध्यक्ष र सल्लाहकारहरुलाई बोल्न नदिएपछि युनियनका सल्लाहकार कविर राणाले सिग्देललाई सार्वजनिक कार्यक्रममा नै झपारेका हुन् । राणाले अध्यक्ष सिग्देललाई प्रेस युनियन ‘तँ एक्लैको हो’ भनेर सार्वजनिक कार्यक्रममा झपारेको कार्यक्रममा सहभागी एक पत्रकारले बताए । 

समकक्षी प्रेस संगठनका अध्यक्ष एवम् पदाधिकारीलाई समेत आमन्त्रण गरिएको कार्यक्रममा अध्यक्ष सिग्देलमाथि भएको व्यवहारले युनियनकर्मीसमेत रमिता हेरेर बसेका थिए । 

वि.सं. २०७१ भदौ २४ गते पोखरामा सम्पन्न आठौँ महाधिवेशनबाट तीन वर्षका लागि अध्यक्ष बनेका सिग्देलले ८ वर्ष ९ महिना १३ दिनसम्म पनि नवौँ महाधिवेशन गर्न सकेका छैनन् । 

सिग्देलले ६ पटकसम्म महाधिवेशनको मिति तोक्दै सार्दै गरेपछि उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युनियनका पदाधिकारी एवं सदस्यले महाधिवेशन सुनिश्चितताका लागि छुट्टै विशेष भेलाको आयोजनासमेत गरेका छन् । 

बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा आयोजना गरेको कार्यक्रममा पार्टीका नेताहरु एवम् युनियनका पूर्व अध्यक्ष एवम् सल्लाहकारको उपस्थिति थियो । प्रेस युनियनका संस्थापक नेता हरि अधिकारी, शोभाकर पराजुली, युनियनका पूर्व अध्यक्षहरु रमेश तुफान, कुलचन्द्र वाग्ले, किरण पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु डा. सुरेश आचार्य, तारानाथ दाहाललगायतको उपस्थिति रहेको उक्त भेलाले युनियनलाई बन्धक बनाएर राख्न नहुने नित्कर्ष निकालेको छ । 

युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले अध्यक्षता गरेको उक्त भेलाले यही भदौ २८ र २९ गते काठमाडौंमा नवौँ महाधिवेशनको मितिसमेत तोकेको छ ।

Copy link
Powered by Social Snap