२०८१ आश्विन ३

वाग्मतीको नीति तथा कार्यक्रम जेठ १६ मा

मकवानपुर । वाग्मती प्रदेशसभाको शुक्रबारदेखि सुरु भएको दशौँ अधिवेनशनअन्तर्गत आज दुई बैठक सञ्चालन भएका छन् । आज बसेको पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।

बैठकमा दलगत रूपमा प्रदेशसभा सदस्यहरूले विनियोजन विधेयक, २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरे । बैठकमा २८ प्रदेशसभा सदस्यले धारणा राखेका थिए ।


Advertisement


बैठकमा सत्तारूढ गठबन्धन दलका सदस्य नरोत्तम वैद्य, न्हुक्षेनारायण श्रेष्ठ, विजुला बर्मा राणा, भीमसेन खत्री, विजया श्रेष्ठ केसी, सीता अधिकारी, प्रेमबहादुर पुलामी (छिन्तु), भावना सुवेदी, हीरानाथ खतिवडा, राधा घले, राजेन्द्रमान श्रेष्ठ, शोभा शाक्य, विराजभक्त श्रेष्ठ, मीना ज्ञवाली र मुनु सिग्देलले सरकारले ल्याएको बजेटको सिद्धान्त र प्राथमिकताले जनताको विषयलाई समेट्न सफल भएको तथा विगतमा लामो समयसम्म सरकारको नेतृत्वमा रहको नेकपा (एमाले)ले विरोध गर्नकै लागि सरकारको विरोध गरेको आरोप लगाए ।

यस्तै, प्रदेशको प्रमुख प्रतिपक्ष दल एमालेका कैलाशप्रसाद ढुंगेल, केशवप्रसाद पोखरेल, जुनेलीमाया श्रेष्ठ, प्रदीपकुमार कटुवाल, नारायण सिलवाल, मैना अछामी, सरेश नेपाल, सरस्वती बस्नेत, सीता लामा र शान्तिप्रसाद पौडेलले विगतको सरकारले ल्याएका राम्रा योजना कटौती गरेको आरोप लगाए । वर्तमान सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता विगतको सरकारको भन्दा फरक नभएको उनीहरूको भनाइ छ । उनीहरूले वर्तमान प्रदेश सरकारले जनताका समस्या र पीडालाई समेट्न नसकेको जिकिर गरे ।

त्यसैगरी, विवेकशील साझाका रमेश पौड्याललगायत सदस्यले सरकारका पाँचवर्षे यात्रालाई समीक्षा गर्नुपर्ने बताए । उनीहरूले बजेटको प्राथमिकताभन्दा पनि बजेट खर्चमाथि समीक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको प्रि–बजेटमा दलगत र क्षेत्रगत विभेद गरिएको आरोप लगाए ।

यस्तै, आजै बसेको प्रदेशसभाको दोस्रो बैठकमा सरकारले ल्याएको विनियोजन विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिए ।

मन्त्री जम्मकट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयन हुने प्रकृतिका नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकता तयार पारेको बताए । उनले विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।

उनले वर्तमान सरकारले मन्त्रालय थप गरी प्रशासनिक खर्च बढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु स्वाभाविक भएको उल्लेख गर्दै भने, “हो, तपाईँहरूले भनेको सत्य हो । गठबन्धन सरकार बनाउँदा तीन पार्टी मिलेका थिए, राजनीतिक घटनाक्रमले केही बढ्न गएको सत्य हो । हामीलाई त्यो महसुस भएको छ, हामी छलफल गरिरहेका छौँ ।”

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक यही जेठ १६ गते दिउँसो २ बजे बस्ने गरी आजको बैठक स्थगन भएको घोषणा गरे । जेठ १६ गते बस्ने बैठकमा वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारका तर्फबाट आउँदो आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

Copy link
Powered by Social Snap