२०८१ पुष १०

रुपन्देहीका नगर उपप्रमुखको साझा प्रतिबद्धता : महिलालाई आयमा जोड्छौँ

बुटवल । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा रुपन्देहीका सबै नगरमा महिला उपप्रमुख विजयी भएका छन् । रुपन्देहीमा १ उपमहानगरसहित ६ नगरपालिका छन् । रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा साबित्रादेवी अर्याल उपप्रमुखमा विजयी भएकी छिन् । तीन नगरपालिकामा उपमेयर दोहोरिएका छन् ।

तिलोत्तमा, देबदह र सैनामैना नगरपालिकामा अघिल्लो स्थानीय तहमा उपप्रमुख जितेका नै दोहोरिएका छन् । तिलोत्तमामा जागेश्वरीदेवी चौधरी, देबदहमा विद्यालक्ष्मी गुरुङ र सैनामैनामा बिना राना विजयी भएकी छन् । यस्तै सिद्धार्थनगर नगरपालिकामा उमा अधिकारी र लुम्बिनी सांस्कृतिक नगरपालिकामा कल्पना हरिजन विजयी भएकी छन् ।


Advertisement


उनीहरूले निर्वाचित भएसँगै महिलाहरूको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने प्रतिक्रिया दिएका छन् । प्रमुख वा उपप्रमुखमा महिला उठाउनुपर्ने ब्यवस्था कार्यान्वयन नभए पनि आफूहरूले जित हासिल गरेको भन्दै उनीहरूले उपप्रमुखमा महिलालाई नै जिताएको बताए । उनीहरूले जनताका आवश्यकताका आधारमा काम गर्नुका साथै महिला तथा बालबालिकाका लागि  काम गर्ने बताउँछन् । बुटवल क्षेत्रमा सडकको समस्या बढिरहेकाले यसको समस्या समाधन गर्ने बताइन् ।

बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा अर्यालले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सबै कामलाई प्राथमिकताका साथ गर्ने बताउँछिन् । पदभार ग्रहण गर्दा नै बजार अनुगमन गरी जनतालाई गुणस्तरीय बस्तु सहुलियतमा प्रदान गर्ने निर्णय गरेकी उनले बजारको सही व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले न्यायिक समिति बनेपछि न्यायका लागि आउनेलाई सधैँै ढोका खुला राखिने बताउँदै न्याय मर्न नदिई न्याय सम्पादन गरिने बताइन् । 

उनले भनिन्, “न्यायका लागि मैले धेरै काम गर्नेछु । कानुनले नछेकेसम्म न्यायीक समितिबाट नै सबै किसिमका न्याय दिने सोचमा छु ।” 

महिला सशक्तिकरण, महिलालाई आर्थिक उपार्जनमा जोड्ने, आत्मनिर्भर बनाउने मुख्य योजना रहेको उनी बताउँछिन् । उनले हाटबजारलाई आधुनिक बजारको रुपमा विकास गर्ने र  महिला उद्यमशिलतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।  

कृषि क्षेत्रमासमेत महत्तवपूर्ण काम गर्ने बताउँदै उनले सुरक्षित कृषिलाई ध्यानमा राख्ने बताइन् । उनले कृषकको समृद्धिका लागि काम गर्ने बताइन् । 

उपप्रमुख अर्यालले तराईमा हिउँदे याममा धेरै सर्प देखिने भएकाले सर्पदंश औषधिको व्यवस्था गर्ने बताइन् ।

गरिबी हाटाउन पहल गर्ने बताउँदै उपप्रमुख अर्यालले उधमशिलता विकास गर्नेमा जोड दिइन् । उनले भनिन, “मैले राजनीतिक क्षेत्र मात्र होइन शिक्षा, सामाजिक र संचार क्षेत्रमा गरेको योगदानको पनि कदर भयो भन्ने लाग्छ । मैले महिला पत्रकारलक्षित कार्यक्रम पनि ल्याउनेछु ।” 

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने बताउँछिन् । आफ्नो न्यायीक समितिको काम भए पनि अन्य कामको साथसाथै महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने बताइन् । 

निर्वाचन अघिसम्म फरक दल भनेर बिबाद भए पनि नगरको विकासको लागि हातेमालो गरेर अगाडि बढ्ने बताउँछिन् । उनले यसअघिको कार्यकालमा जनप्रतिनिधिबाट राम्रो काम भएकाले ती कामलाई अहिलेको जनप्रतिनिधिले पनि निरन्तरता दिने बताइन् । 

उपप्रमुख अधिकारीले पछिल्लो समय महिला तथा बालहिंसा बढेकाले त्यसको न्यूनीकरणका लागि नगरपालिकाबाट आफूले पहल थाल्ने बताइन् । उनले भनिन्, “छोरीचेली सुरक्षित नभए समाज सुरक्षित हुन सक्दैन । छोरीचेलीलाई बलियो बनाउनुपर्छ ।” 

काम गर्नेक्रममा कमिकमजोरी हुनसक्ने भएकाले नगरवासीलाई ती कमजोरी औंल्याउने पूर्ण अधिकार रहेको बताइन् । 

सैनामैना नगरपालिका उपप्रमुख विना राना दोस्रो कार्यकालका लागि विजयी भएको बताउँदै अघिल्लो कार्यकालका अपूरा कामको पूर्णता गर्नुका साथै महिलाको क्षेत्रमा काम गर्ने बताउँछिन् । उनी भन्छिन्, “यो कार्यकालमा अघिल्लो कार्यकालमा पूरा नभएका कामलाई प्राथमिकता दिनेछु । महिलाहरूको क्षेत्रमा काम गरेकी थिए, यो पटक पनि गरेर देखाउने छु ।” 

सैनामैना नगरपालिकालाई महिला हिंसामुक्त नगर बनाउन पहल गर्ने बताइन् । उनले मदिरा सेवनले गर्दा बढेको महिला हिंसा न्यून गर्न मदिरा उत्पादन र वेचविखनमा व्यवस्थापन पहिलो प्राथमिकतामा रहने बताइन् । 

उनले अघिल्लो कार्यकालमा दिएका तालिमको क्षमता अभिबृद्धी गराउने बताइन् । उनले भनिन्, “अघिल्लो कार्यकालमा महिलालाई उद्यमी बनाउन लेभल १ को तालिम चलाएर उद्यमी बनाएको अब लेभल २ को तालिम प्रदान गर्ने योजनामा छु ।”  

दोस्रो कार्यकालको लागि उपप्रमुख छानिने मध्यकी देबदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ पनि हुन् । नगरप्रमुख पदको दाबी गरेकी गुरुङले प्रमुख नपाएपछि उपप्रमुखमा उठेकी थिइन् । उनले महिलाको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने उनको मुख्य योजना छ । उनले महिलाकै कारणले आफूले जितेको बताउँदै महिलालाई रोजगार तथा आर्थिक आयआर्जनमा जोड्न काम गर्ने बताइन् । उनले कृषि र पर्यटनमा नगरबासीलाई जोडन आवश्यक नीति तथा कार्यक्रम ल्याउने बताइन् । अघिल्लो कार्यकालमा गर्न नसकेका कामलाई पूर्णता दिने योजना रहेको उनी सुनाउँछिन् । सुखी र समृद्ध देवदह बनाउने अभियानलाई तिव्रता दिने उनको प्रतिबद्धता छ ।

यस्तै पटक–पटक उत्कृष्ट नगरपालिकाको उपाधि हासिल गरेको तिलोत्तमा नगरपालिकाको उपप्रमुखमा जागेश्वरी चौधरी नै दोहोरिएकी छन् । सर्वोत्कृष्ट नगरमा दोहोरिएर आएकोमा खुसी ब्यक्त गर्दै चौधरीले पिछडिएको समुदाय र महिलाका लागि काम गर्ने बताउँछिन् । उनले महिलाको क्षमता अभिवृद्धि गर्ने  काम गर्दै तालिम तथा कृषीमा आत्मनिर्भर बनाउन कृषि औजार प्रदान गर्ने बताइन् । 

रुपन्देहीका नगरमा सबैभन्दा कान्छी उपप्रमुख कल्पना हरिजन लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपमेयर हुन् । उनले आफूले जितेसँगै आफ्नो कार्यकालमा महिला हिंसा अन्त्यका पहल गर्दै हरेक क्षेत्रमा युवा सहभागिता बढाइने बताइन् । उनले आफूले सानो उमेरमै उपप्रमुख जितेको बताउँदै युवालाई सहभागिता र पिछडिएका क्षेत्रका ब्यक्तिलाई तालिम तथा रोजगारमा जोड्ने कार्यक्रम ल्याउने बताइन् । 

Copy link
Powered by Social Snap