काठमाडौं । प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भए मात्रै बेरुजुको मात्रा घट्ने काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले बताएका छन् । आज आन्तरिक लेखा परीक्षण तथा बेरुजु समपरीक्षण एकाइले वडासचिव, लेखापाल र इन्जिनियरहरूसँग गरेको अन्तर्क्रियाका क्रममा मेयर बालेनले यस्तो बताएका हुन् ।
“सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले गरेका कामका विषयमा प्रश्न आउन सक्छन्,” मेयर शाहले भने, “वित्तीय अनुशासनको पालना गरेर बेरुजु हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ ।” अन्तर्क्रियामा उपमेयर सुनीता डंगोलले, हतारमा काम नगर्न सुझाव दिइन् ।
Advertisement
“भोलि बेरुजु देखिने गरी काम गर्नुहुँदैन । अहिले सम्पन्न गरेका कामसम्बन्धी भोलि फाइल पल्टाएर सुरुदेखि हेर्नुनपरोस्,” उनले भनिन् । अन्तर्क्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले हिजोका बेरुजुलाई न्यूनीकरण गर्ने र आगामी दिनमा बेरुजु हुन नदिनेतर्फ आफूले काम गरिरहेको उल्लेख गरे । “हामी यो आर्थिक वर्षको अन्त्यसम्ममा पेश्की शून्य अभियानमा छौँ,” उनले भने, “लेखा परीक्षण प्रतिवेदनमा देखाइएका नियमित गर्न मिल्ने बेरुजुलाई नियमित गर्छौैँ । त्यस्तै, समपरीक्षण र असुलउपर विधिबाट बेरुजु घटाउँछौँ ।”
अन्तर्क्रियामा प्रशासन विभागका प्रमुख महेश काफ्ले, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आफूमातहत वडाबाट भएका काम र बेरुजु तथा फर्छ्योटका लागि अवलम्बन गरिनुपर्ने प्रक्रियाका विषयमा प्रस्तुतीकरण गरेका छन् । यस्तै वडासचिवहरू यम बसेल, शुशील सुवेदी, रमेश घिमिरे, सुबोध खड्का, कमल गौत्तम, सुरेश साहु, जयदेव घिमिरे, श्याम पाण्डे, शिवराज सोती, देवी वस्ती, टंक बराल, मञ्जु आचार्य, चन्द्रगोपाल प्रधान, सुनील राजभण्डारीसहित सहभागीले वडाबाट हुने प्राविधिक र प्रशासनिक कामको अन्तरसम्बन्ध मिलाउनुपर्नेमा जोड दिए ।
वडा सचिवलाई प्रत्यायोजन हुने अधिकार, योजनाको स्वीकृत गर्ने दायरालगायत व्यवहारिक कुराहरूमा उनीहरूले धारणा राखेका छन् । वडाबाट गरिने पूर्वाधारमा लगत इस्टिमेट, मूल्याङ्कन र भुक्तानी प्रक्रियाको सम्बन्धमा उनीहरूको भनाइ छ । उनीहरूले घटना दर्ता समयमा हुन नसक्दा सामाजिक सुरक्षाका कार्यक्रममा बेरुजु देखिएको औँल्याएका छन् । वडा १६ का लेखाप्रमुख चिनीकाजी महर्जनले वडाको वित्तीय व्यवस्थापनमा आन्तरिक समन्वय प्रणाली बलियो बनाउनुपर्ने बताए । यस्तै, इन्जिनियर सुमन बादे श्रेष्ठले प्राविधिक र प्रशासनिक विषयलाई छुट्याएर आफ्ना आफ्नै क्षेत्रमा जिम्मेवार हुनुपर्ने बताए ।
महानगरले वडामा पूर्वाधार विकास र प्रशासनिक खर्च निकासा दिने गरेको छ । यसरी निकासा गरिएको रकम खर्च गर्दा देखिएका बेरुजु व्यवस्थापनका लागि वडाका कर्मचारीहरूसँग अन्तक्र्रिया गरिएको हो । लेखा परीक्षण तथा समपरीक्षण एकाइ प्रमुख गोपालप्रसाद पोखरेल भन्छन्, “हामीले बेरुजु फर्छ्योटको २९ प्रतिशत लक्ष्य हासिल गरिसकेका छौँ । प्रक्रियामा रहेको प्रगति ४५ प्रतिशत पुग्न लागेको छ । यो वर्षको अन्त्यसम्ममा ५० प्रतिशत पुर्याउने प्रयासमा छौँ ।” अन्तर्क्रियामा वडासँग सम्बन्धित पूर्वाधार, राजस्व, वित्त र प्रशासन क्षेत्रमा छलफल गरिएको थियो ।