२०८१ कार्तिक ३०

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छ : प्रचण्ड




कास्की । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् ।



Advertisement



पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मिहिनेत गरेर काम गर्न निर्देशन दिए ।

उनले भने, “हामीले विजय हासिल गरेका १२१ पालिकालाई समाजवादी सत्ताका भ्रूणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ । म तपाईँहरूलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला । जनताबाट आलोचना र सुझाव निरन्तर प्राप्त हुने र त्यसको सुनुवाइ भइरहने कार्यक्रम बनाउनुहोला ।”

अध्यक्ष प्रचण्डले निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रले जितेका पालिकामा जनताको राय, सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिए । माओवादी पार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको उनको जिकिर छ ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टी पहिचानको संकटमा परेको र जनतामा सबै पार्टी एउटै हुन् भन्ने परेकाले फरक देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामी अहिले पहिचानको क्राइसिसमा छौँ । क्रान्तिकारी, जनयुद्धबाट आएको, जनआन्दोलन, गणतन्त्रका वाहक भनेर कुरामा पहिचान छ, तर व्यवहारमा त्यस्तो छैन । जनताले हेर्दा माओवादी,  कांग्रेस, एमाले सबै व्यवहारमा उस्तै छन् । अब यसपटक त्यस्तो हुनु हुँदैन ।”

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने आकलन गरिए पनि प्रभावकारी गठबन्धन नभएकाले आशातित नतिजा प्राप्त नभएको उल्लेख गरे । माओवादी प्रभाव भएका कतिपय जिल्लाहरूमा गठबन्धनका दलहरूले तालमेलको मर्मविपरीत नेकपा (एमाले)सँग तालमेल गरी माओवादीलाई पराजित गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले यस विषयमा गठबन्धनभित्र समीक्षा गरिने बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सत्तारूढ गठबन्धनलाई आउँदो संघ र प्रदेश निर्वाचनमा समेत कायमै राखिने बताउँदै स्थानीय तहमा भन्दा आउँदो निर्वाचनमा गठबन्धन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पार्टीका जिल्ला संयोजकले स्थानीय तह निर्वाचनका सम्बन्धमा रिपोर्टिङ गरेका थिए ।

Copy link
Powered by Social Snap