बुटवलका महेश श्रेष्ठ चाउचाउका पारखी हुन्। हतार भएका बेला उमालेर र काँचै खान पनि मिल्ने भएकाले दिउँसोको खाजामा चाउचाउ नै उनको रोजाइ हो।
स्कुल पढ्दादेखि एकैखाले चाउचाउले खाजा टारिरहेका उनको स्वाद अहिले भने फेरिएको छ। उनी पिरो चाउचाउ रूचाउन थालेका छन्।
बजारमा कोरियन पिरो चाउचाउ आएपछि महेश त्यसकै स्वादमा भुलेका थिए। अहिले नेपालमै उत्पादित चाउचाउको पिरो स्वादमा रमाएका छन्। ‘करेन्ट’ चाउचाउको ‘हट एन्ड स्पाइसी’ ले उनलाई स्वाद र बजेट दुवैमा सन्तुष्ट बनाएको छ।
‘कोरियन चाउचाउ महँगो थियो। एक प्याकेट २२५ रूपैयाँसम्म पर्ने,’ महेशले भने, ‘उस्तै स्वादिलो र स्पाइसी नेपाली चाउचाउ ५० रूपैयाँमा पाएपछि किन विदेशी खानु! डल्ले खुर्सानीको पिरो जिब्रोमा ट्वाक्क, स्वादै बेग्लै!’
महेश देशभरका करेन्ट चाउचाउप्रेमी उपभोक्ताका प्रतिनिधि मात्र हुन्। अहिलेका युवापुस्ताले चाउचाउमा नाम लिने नामै भइसक्यो करेन्ट।
यो चाउचाउ बजारमा पठाउने युवाहरू चाहिँ कमल मालपानी, चुन्नु पौडेल, नरिश्वर पौडेल, श्रवण बेरिवाल, मधु घिमिरे, ऋषि भण्डारी हुन्। उनीहरूलाई अरू केही साथीले पनि सघाएका छन्।
Advertisement
उनीहरूले पाँच वर्षपहिले रूपन्देहीको तिलोत्तमा पत्थरडाँडामा ‘यशोदा फुड्स प्राइभेट लिमिटेड’ सञ्चालन गरेका थिए। त्यसबाट ‘लाली’ ब्रान्डको चाउचाउ उत्पादन गरेर काम थाले। विभिन्न नामका चाउचाउसँगै कम्पनीले भुजिया, चिजबल्स, कुरकुरे थप्दै लग्यो।
यशोदा फुड्सका निर्देशक ऋषिराम भण्डारीका अनुसार उनीहरू आफैं बजार विस्तारका लागि विभिन्न स्थान पुग्थे। आफ्ना उत्पादनबारे उपभोक्ताको प्रतिक्रिया बुझ्थे। करिब दुई वर्षअघि बजार अध्ययन क्रममा किशोर र युवा उमेरका उपभोक्ताले महँगै भए पनि पिरो कोरियन चाउचाउ मन पराउने गरेको उनीहरूले थाहा पाए।
यता बजारमा उति साह्रो धमाल मचाउन नसके पनि यशोदाका उत्पादनले राम्रै कारोबार गरिरहेको थियो। हरेक साल नयाँ उत्पादन थपेर बजार पठाउँथ्यो।
‘उपभोक्ता कस्तो उत्पादन चाहन्छन् भन्नेमा हामी बसेर छलफल गर्थ्यौं र सुझावअनुसार उत्पादन थप्ने निर्णय गर्थ्यौं,’ भण्डारीले भने।
उद्योग क्षेत्रमा कमल मालपानी अनुभवी भएकाले सामान्यतया उनको प्रस्तावमा सबैको सहमति जुट्छ। एक वर्ष पहिलेको बैठकमा कमलले प्रस्ताव गरे– अब नियमित उत्पादनसँगै पिरो धेरै राखिएको हट एन्ड स्पाइसी चाउचाउ थपौं।
सधैंझैं उनको प्रस्ताव पारित भयो।
त्यसपछि यशोदा फुड्सले बजारमा ल्यायो ५० रूपैयाँ पर्ने करेन्ट हट एन्ड स्पाइसी।
‘करेन्टको पिरो चाउचाउ आएपछि साढे दुई सय रूपैयाँसम्म तिरेर कोरियन चाउचाउ खानेले सस्तोमा गुणस्तरीय उत्पादन पाएका छन्,’ भण्डारी भन्छन्, ‘नयाँ भए पनि नेपालमै उत्पादन भएपछि बजार लिन सकिन्छ भन्नेमा हामी ढुक्क थियौं। करेन्टले कोरियन चाउचाउको आयात कम भएको छ। बरू करेन्ट कोरिया जान्छ।’
उद्योग आफैंले चाउचाउ कोरिया पठाएको भने होइन, विक्रेताहरूले पठाएका हुन्। त्यसैले यसको यकिन तथ्यांक उद्योगसँग नभएको यशोदा फुड्सका प्रबन्धक सञ्चालक मधु घिमिरे बताउँछन्। विश्वका नौ वटा देशमा भने उद्योगले नै निर्यात गर्दै आएको छ।
करेन्ट हट एन्ड स्पाइसी भारतको असम, सिलोङ, सिलगुडी, गुवाहाटी लगायत सहरमा धेरै जान्छ। अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडा, मलेसिया, भुटान, जापान, नेदरल्यान्डस् लगायत देशमा निर्यात भइरहेको छ।
‘अमेरिका र युरोपमा यसको माग धेरै छ,’ घिमिरेले भने, ‘यशोदा फुड्सले महँगो हट एन्ड स्पाइसी चाउचाउ विस्थापन गरिदिएको छ।’
नेपाली उत्पादन प्रवर्द्धन गर्न सरकारले सोहीप्रकारको विदेशी उत्पादन आयात रोक्नुपर्ने उनको भनाइ छ। भन्छन्, ‘खपत जति धेरै हुन्छ उत्पादन पनि त्यति नै बढी हुने हो। स्वदेशी उत्पादन बढ्दा त्यसको लाभ नेपालीले नै पाउँछन्।’
पत्थरडाँडामा चार बिघा क्षेत्रफलमा फैलिएको यशोदा फुड्सले लाली र करेन्टसँगै अहिले जुप्पी, कालिज, गोलु, ओप्पो लगायत चाउचाउ उत्पादन गर्छ। सँगै चिजबल्स, कुरकुरे र भुजिया गरी ४० भन्दा बढी प्रकारका खानेकुरा उत्पादन गर्दै आएको छ। अहिले लालीको पनि हट एन्ड स्पाइसी स्वाद २० रूपैयाँमा पाइन्छ।
चाउचाउ उत्पादनका लागि उद्योगसँग तीनवटा प्लान्ट छन्। यहीमध्ये एउटा प्लान्टबाट करेन्ट हट एन्ड स्पाइसी मात्र उत्पादन हुन्छ। दैनिक २० टन बढी चाउचाउ उत्पादन भए पनि कहिलेकाहीँ बजार माग पूरा गर्न हम्मे पर्ने उद्योगको भनाइ छ।
मागका आधारमा सामान्य र हट एन्ड स्पाइसी सबैमा भेज र ननभेज दुवै प्रकारको उत्पादन हुन्छ। रातो र्यापरमा ननभेज र हरियोमा भेज प्याकिङ हुन्छ।
यशोदा फुड्सका प्रबन्धक घिमिरेका अनुसार हट एन्ड स्पाइसीले यसअघि उत्पादन भइरहेको साधारण चाउचाउको माग घटाएको छैन।
उनी भन्छन्, ‘यसअघिका हाम्रा उत्पादन नघटाई करेन्टको माग थपिनुले पहिले कोरियन चाउचाउ धेरै खपत धेरै हुँदो रहेछ भन्ने पुष्टि भएको छ।’
युवाको पहिलो रोजाइ पिरो चाउचाउ हुने डेढ दशकदेखि बुटवल योगीकुटीमा किराना पसल चलाउँदै आएका बालानन्द काफ्ले पनि बताउँछन्। उनले भने, ‘धेरै महँगो पर्ने भएकाले कोरियन चाउचाउ राखिएन। तर पिरोका कारण अरू नेपाली कम्पनीका चाउचाउ पनि राम्रै बिक्री हुन्थ्यो। करेन्टको पिरो चाउचाउ आएपछि भने माग धेरै नै बढेको छ।’
पिरो चाउचाउको माग बढे पनि अरू स्वादको बजारमा असर पारेको छैन। पिरो चाउचाउ किन्नेमा १५ देखि २५ वर्ष उमेर समूहका धेरै छन्। त्यसैले चाउचाउका नयाँ उपभोक्ता थपिएको अनुमान उनी गर्छन्।
उद्योगका अनुसार अहिले मासिक तीन लाख कार्टुन करेन्ट चाउचाउ उत्पादन हुन्छ। प्याकेट हिसाबले दैनिक २ लाख। चाउचाउका लागि दैनिक ६० टन मैदा खपत हुन्छ भने हट एन्ड स्पाइसीमा दैनिक चार सय किलो नेपाली डल्ले खुर्सानी प्रयोग हुन्छ। अन्य उत्पादनमा भने साधारण खुर्सानी प्रयोग हुन्छ। अकबरे र सामान्य गरी वार्षिक पाँच लाख किलो खुर्सानी प्रयोग भइरहेको छ।
‘अरू खुर्सानीको पिरोले पेट पोले पनि अकबरेले पोल्दैन,’ सञ्चालक भण्डारी भन्छन्, ‘औषधि समेत मानिने, आफ्नै देशमा फलेको अकबरे हाल्छौं। पिरो भए पनि असर नगर्ने गरी अकबरे राखेका हौं।’
चाउचाउ बनाउन प्रयोग हुने ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ अर्ग्यानिक रूपमा नेपालमै उत्पादन हुने गरेको उनको भनाइ छ। करेन्टको उत्पादन र बजारसँगै अकबरेको बजार पनि उकासिएको छ। पहिले ६०–७० रूपैयाँ किलोमा नबिकेको अकबरे उद्योगले १२ सय रूपैयाँ किलोसम्म किनेको भण्डारीले बताए।
‘अकबरेले यसरी मूल्य पायो कि, केही समय त किलोको १२ सयसम्म किन्यौं। अहिले भने तीन सय रूपैयाँ किलोमा किनिरहेका छौं,’ उनले भने।
अहिले उद्योगले पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीबाट खुर्सानी ल्याइरहेको छ। नपुग अकबरे स्याङ्जा, भोजपुर, इलाम, मकवानपुर, काभ्रे लगायतबाट पनि आउँछ।
खपत बढेपछि पहाडका पाखाबारीमा अहिले अकबरे खेती हुन थालेको छ। खेती गर्न चाहने किसानलाई उद्योगले मल र बिउ व्यवस्था गरिदिन्छ। लगानी गर्न नसक्ने कतिपयलाई सहयोग पनि गर्दै आएको छ। दैनिक २४ घन्टा सञ्चालन हुने उद्योगमा साढे चार सयभन्दा बढी मानिस काम गर्छन्।
यशोदा फुड्सका प्रबन्धक घिमिरेका अनुसार उत्पादन थपिँदै जाँदा उद्योगको कारोबार पनि बढ्दै गएको छ।
उनले भने, ‘गत वर्ष चार अर्ब रूपैयाँको कारोबार गर्ने लक्ष्य राखेको कम्पनीले त्योभन्दा बढी काराबोर गर्यो। यस वर्ष अझै बढी लक्ष्य निर्धारण गरेका छौं। अहिलेसम्मको माग र उत्पादन हेर्दा पूरा गर्न सकिन्छ भन्ने लागेको छ।’
चार वर्षमै वार्षिक कारोबार चार अर्ब पुर्याउन सफल यशोदा फुड्सलाई पिरो करेन्टको तड्का साँच्चै फलदायी भएको छ!