तपाईं हामीले कहिल्यै सोचेका छौं- हावा, पानी र खानेकुरा भएन भने हाम्रो जीवनमा कस्तो प्रभाव पर्ला ? यो प्रश्न सुन्दा सामान्य लाग्छ तर यसको मर्म भने धेरै नै गम्भीर छ । नियमित कामकाजी मानिस हावा, पानी र खाना विना क्रमशः २ मिनेट, २ दिन र ५ दिन भन्दा बढी बाँच्न सक्दैन । तर हामी यो आधारभूत सत्य बिर्सेको स्वाङ पार्दै शुतुरमुर्गको शैलीमा यो शाश्वत सत्यबाट टाउको मात्र लुकाउने चेष्टा गरिरहेका छौं । यस्तो मर्ममा बुझपचाउनु भनेको एक खालको सामाजिक मनोरोग हो । यसलाई सच्याउने जिम्मेवारी लिनुपर्ने नेतृत्व त यस्तो मनोरोगले ग्रस्त दीर्घ रोगी नै भएका छन् ।
हावा र पानी आजसम्म प्रकृतिमा जसोतसो सित्तैं पाइँदैछ । यो पनि अब बजारका बिचौलिया र दलालको हातमा पुगिरहेको छ । हिजोआज शहरिया र बिरामीले बाध्य भएर र सौखिन दलाल, बिचौलिया र तिनका नेताले पैसाको तुजुकमा स्वास्थ्यका लागि भन्दै किनेर खाने गरेका छन् । तर खानेकुरा भने सक्ने वा नसक्ने सबैले चाहे आफैं उत्पादन गरेर खान होस् या बजारबाट किनेर खान पैसैको बन्दोबस्त गर्नु परेको छ । यसरी किनेर खान बन्दोबस्त मिलाउने बाध्यतासँगै खेतीपाती र खानेकुरा पैसामुखी, बजारमुखी हुँदै नाफाखोर र व्यापारमुखी भएको छ । यो प्रवृत्तिबाट नेपाली कृषि क्षेत्र पनि अछुतो छैन ।
Advertisement
योसँगै अहिले हामी धेरै नेपालीले पैसा भए खानेकुरा त सजिलै पाइन्छ भन्ने भ्रम पालेको अवस्था छ । यो प्रवृत्ति डँढेलो झैं निरन्तर सबैतिर फैलिंदो छ । उत्पादन र उपभोगको अर्थ-राजनीति बजार र बिचौलियाको नियन्त्रणमा पुगेको छ । नियन्त्रित उत्पादक र उपभोक्ता खेतीपातीको मर्म विचार गर्न भन्दा बिचौलिया र बजारको सेवा गर्न उद्यत छन् । उनीहरूले अहिले उत्पादनका लागि खेतीकिसानी र उपभोगका लागि खानेकुरा नै चाहिन्छ भन्ने आधारभूत मर्म समेत बिर्सेको अवस्था छ । फलस्वरूप समग्र जीवन पद्धतिकोे आधार खेतीपाती केवल नाफा र बजारमा सीमित हुन पुगेको छ ।
यसो हुनुमा उत्पादन र उपभोगले प्रकृतिसम्मत जैविक प्रक्रियाको बाटो बिराएको छ, बिराउँदै आएको छ । उत्पादन बाहृय स्रोतमा आधारित बन्दै उपभोग कृत्रिम र विषाक्त हुने प्रक्रियामा छ ।
खेतीपाती र खानाको अन्तरसम्बन्धको मुख्य आधार स्थानीय उत्पादन प्रणाली तहसनहस भएसँगै आम मानिसको खानेकुरालाई हेर्ने सोचमा व्यापक फेरबदल आएको छ । खासगरी मौसमी र विविध स्थानीय खानेकुरा घट्दै गएको छ भने खानेकुरा पूर्ण रूपमा आयातित हुने दिशाातर्फ उन्मुख छ । यो नै अहिले हाम्रो समग्र जीवन पद्धति धरापमा पार्ने मूल कारण समेत बन्दै गएको छ । यस प्रवृत्तिलाई नफेरी हामीले खानाका लागि गरिने खेतीपाती फेरिंदैन ।
त्यसो हो भने यस्तो प्रवृत्ति कसरी फेर्ने ? सायद हामी सबैका लागि यक्ष प्रश्न पनि यही होला । यो प्रश्नको सामना गर्न प्रकृतिको जैविक व्यवहारका शाश्वत नियम फर्केर हेर्ने र फेर्ने सोच हुनुपर्छ । एकपटक यिनलाई फर्केर हेर्ने कि ?
सबैभन्दा पहिले प्रकृति र अन्य विवेकशील मानिसले सम्पूर्ण जैविक क्षेत्रको दिगो पुनरुत्पादनको लागि कसरी काम गरिरहेका हुन्छन् भन्ने कुरा सूक्ष्म तहमा नहेरी यसतर्फको यात्राबारे सोच्न समेत मुश्किल हुन्छ । यो आधारभूत जानकारीले हाम्रा व्यवहारहरूलाई प्रकृतिमैत्री बनाउन विगतमा भएका कमजोरी सच्याउँदै अघि बढ्न सघाउँछ । यो उन्नतितर्फको रूपान्तरण यात्राको सबैभन्दा आधारभूत नियम हो ।
यसको एउटा सानो उदाहरण विचार गरौं । हामी सबैलाई थाहा छ- हाम्रो सौर्य प्रणालीले पृथ्वीको जीवन प्रक्रियाका लागि अनन्तकालसम्म र प्रशस्त ऊर्जा प्रदान गर्छ । यही ऊर्जाको उपयोगबाट समग्र जीवन प्रक्रिया चलायमान र भरिपूर्ण हुन्छ । मानिसलेे प्रकृतिको यो नियमबाट सिक्दै यस्तो ऊर्जालाई उपयोग गर्ने प्रविधि र उपकरण समेत बनाएका छौं । तर यस्तो प्रविधि समेत बजार र व्यापारको चपेटामा परेको छ । यस्तो बजार नियन्त्रित ऊर्जा सिद्धान्ततः दिगो भए पनि उपयोगको चक्र धेरै फराकिलो हुने हुँदा यो स्थानीय विशेषताभन्दा भिन्न, महँगो र अनुपयुक्त हुने गरेको छ । यसरी फराकिलो ऊर्जाचक्र प्रकृतिसम्मत ऊर्जा व्यवस्थापनको नियम विरोधी छ ।
स्थानीय उत्पादन चक्र सकेसम्म सानो घेरामा सीमित गर्ने कुरा उत्तिकै मननयोग्य छ । मानिस जस्तै अरू चलायमान जीवले खाना सकेसम्म सानो ऊर्जाचक्रमा व्यवस्थित गरेका हुन्छन् । यो प्रकृतिको दिगो उपयोग गर्ने नियम हो । सँगै, प्रकृतिको स्वनियमबाट सिकेर घरपरिवारमा खेतीपाती र खानाको बन्दोबस्त गर्दा उपभोग घटाउने, पुनःउपयोग गर्ने र प्रकृति दोहनमा आधारित उपभोक्तावादी सोच र व्यवहार क्रमशः सच्याउँदै जानुपर्नेछ । यो नियमले हामीलाई प्रकृतिसम्मत खेतीपाती र यसमा आधारित जीवनशैली परिमार्जन गर्दै उन्नत बनाउन दिशाबोध गराउँछ ।
जीवनका आधारभूत पञ्चतत्वको सृजना, वृद्धि र पुनरुत्पादनलाई प्रभावकारी बनाउन नवीकरणीय क्षमताको विवेकशील उपयोग प्रकृतिसम्मत ऊर्जा व्यवस्थापनको अर्को महत्वपूर्ण नियम हो । खासगरी, घाम, पानी, हावाबाट उपलब्ध हुनसक्ने नवीकरणीय ऊर्जाको उपयोगले उत्पादन प्रक्रिया दिगो हुन्छ । अहिलेको खनिज ऊर्जामा आधारित प्रविधि र प्रवृत्तिलाई बदल्न यस्तो ऊर्जाको उपयोगको लागि प्रविधि र प्रवृत्ति प्राथमिकतासाथ फेर्नैपर्छ । यसो गर्न दीर्घकालीन सोचसहित संक्रमणकालीन रूपान्तरणमुखी अभ्यासको पहल गर्नुपर्छ ।
हामी सबैलाई थाहा छ, प्रकृतिले कुनै कुरा खेर फाल्दैन तर यो सामान्य नियमलाई बेवास्ता गरेर हामीले अहिले धेरै फाल्ने गरिरहेका छौं । फाल्नकै लागि बढी जगेर्ना गर्ने गरेका छौं । यो प्रवृत्ति प्राकृतिक नियमको विरुद्ध छ । यसले हामीलाई विवेकहीन उपभोक्तावादी बनाएको छ । अभाव र असुरक्षामा बाँच्न विवश निरीह मानिस बनाएको छ । चाहिने भन्दा बढी जगेर्ना गर्न र मानवीय मूल्यमान्यताबाट विचलित अन्यायी, अनैतिक र भ्रष्ट हुन समेत उक्साएको छ ।
परिवर्तन बहुआयामिक छ र यो परिवर्तन गतिशील र परिवर्तनशीलसमेत छ । यो आधारभूत सत्यको चेत विना खानाका लागि खेतीपाती समेत उन्नत हुँदैन । यो सबै बुझ्ने र बुझाउने कसले, कहिले र कसरी होला ?
उत्पादन, किनबेच, उपभोग जस्ता सबै प्रक्रियामा प्रकृतिको खेर नफाल्ने नियमकोे पालना गरेर मात्र खानाका लागि खेतीपातीको सोच फेरिन्छ । यो विना बृहद् मानवीय मूल्यमान्यताको जगेर्ना गर्दै मानव सभ्यता उन्नत बनाउने हाम्रो प्रयास सार्थक हुँदैन ।
तसर्थ प्रकृतिको सृजना, वृद्धि र पुनरुत्पादनको ढाँचाबाट सिकेर खाना, खेतीपाती र समग्र जीवन प्रक्रिया व्यवस्थित गर्न परीक्षण र परिमार्जनबाट सिक्दै जानुपर्छ । यसलाई उन्नत बनाउने दृष्टिकोण र अभ्यासमा ध्यान दिनुपर्छ । यस्तो ढाँचा बनाउँदा एकीकृत र बृहद् चित्रमा जोड दिन आवश्यक छ । प्रकृतिले सबै व्यवहार एकीकृत प्रणालीको रूपमा व्यवस्थित गर्छ । यो नै विविधताको कारण र परिणामको नियम समेत हो ।
परम्परागत एकीकृत मिश्रति खेतीपाती प्रणाली यसको एउटा उदाहरण मात्र हो । यस अर्थमा प्रकृति, जैविक क्षेत्रीयता, सूक्ष्म वातावरण, वासस्थान, भिन्न प्रजाति, समाज, समुदाय र व्यक्तिको आपसी सहकार्य, समन्वय र अन्तरनिर्भरता, सोच र अभ्यास अपरिहार्य छ ।
यी सबैको सहकार्य, समन्वय र अन्तरनिर्भरताको सुरुवात विन्दु हुन्छ । यसको वृद्धि विस्तारै बृहद् र जटिल हुँदै जान्छ भन्ने कुरा समेत बिर्सनुहँुदैन । यस अर्थमा प्रकृतिले आफ्नै गतिमा स्वचालित रूपमा कार्य गरिरहेको हुुन्छ । यही नियमकोे जगमा टेकेर हतार नगरी सानोबाट विस्तारै हुने परिवर्तनको ढाँचा बनाउनुपर्छ । सानो परिवर्तन थोरै थोरै जोखिम र स्थायी प्रकृतिको हुन्छ । यसले संक्रमण र परिवर्तनलाई विस्तारै संस्थागत गर्न र परिवर्तनलाई दिगो बनाउन सघाउँछ । उदाहरणका लागि ठूलो खेतीपातीको योजना बनाउन भन्दा सानो व्यवसायलाई विस्तारित गर्ने दृष्टिकोण बढी प्रभावकारी भएका बलिया उदाहरण बग्रेल्ती छन् ।
प्रकृतिको एकीकृत प्रणाली जस्तै विविधताको मर्म र यसको उपयोग उत्तिकै महत्वपूर्ण हुन्छ । सबै तह, वर्ग, क्षेत्रका प्रजातिको गुणात्मक समीकरण बढी उपयोगी र उत्पादनशील हुन्छ । खेतीपातीदेखि जीवन पद्धति सबैमा यी नियम स्थापित गर्नुपर्छ । यो प्रकृतिसम्मत जीवन पद्धतिको आधारभूत पक्ष हो ।
हामी सबैलाई थाहा छ, अहिलेको ज्ञान पद्धति मूल प्रवाह केन्दि्रत छ । यसले विशेषमा जोड दिने भएकाले अन्य ज्ञान र सीप सीमान्तकृत भइरहेका छन् । दिगो प्रणालीमा किनारा र सीमान्तमा रहेका सबैलाई समेट्ने सोच र अभ्यास अपरिहार्य छ । यो कुरा प्रकृति र मानवसमाजका सबै आयाममा उत्तिकै लागु हुन्छ । यो घरको कुनाकाप्चा, खेतबारीको छेउकुना मात्र हैन जीवनका झिनामसिना आवश्यकता र व्यवहार जस्तै महत्वपूर्ण छन् । यो अर्को हिसाबले अहिलेको प्रचलित सोच भन्दा बाहिरबाट सोच्ने र व्यवहार गर्ने नियम समेत हो ।
यी सबैको सिर्जनशील व्यवहार गर्दै परिवर्तनको सार्थक पहल गर्नु नै खानाका लागि खेतीपाती प्रकृतिसम्मत व्यावहारिक बनाउने सबैभन्दा उत्तम उपाय हो । हामीले बेला-बेलामा बिर्सिए पनि परिवर्तन प्रकृतिको शाश्वत नियम हो । जीवन नाशवान छ भन्नुको तात्पर्य पुनरुत्पादन सृष्टिको शाश्वत नियम हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो र यस्ता प्रकृतिका नियमबाट सिकेर गरिने स्थायी खेतीपाती, मानिस घरपालुवा भएदेखि खाना जोहो गर्ने अहिलेसम्मकै उन्नत विधि हो । यी नियमहरूकोे बुझाइ खेतीपाती सपार्ने यात्राका कोसेढुंगा हुन् । यिनको बुझाइसँगै यिनलाई उन्नत बनाउँदै जाने अभ्यासले खेतीपाती मात्र हैन, हाम्रो जीवनपद्धति समेत दिगो हुन्छ ।
अन्त्यमा परिवर्तन बहुआयामिक छ र यो परिवर्तन गतिशील र परिवर्तनशीलसमेत छ । यो आधारभूत सत्यको चेत विना खानाका लागि खेतीपाती समेत उन्नत हुँदैन । यो सबै बुझ्ने र बुझाउने कसले, कहिले र कसरी होला ?