काठमाडौं । विवाहको न्यूनतम उमेर घटाएर १८ वर्ष पुर्याउने तयारी भइरहेको विषयमा अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले असार १ गतेको संसद्मा विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने तयारी भइरहेको बताएपछि यसले पार्ने विविध प्रभावबारे बहस सुरु भएको हो ।
विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुवैले २० वर्ष नपुगी विवाह गरे बाल विवाह मानिने उल्लेख छ । २० वर्ष नपुगी विहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रूपैयाँसम्म सजाय हुने व्यवस्था छ । त्यस्तो विवाह स्वतः बदर हुने पनि अपराध संहितामा उल्लेख छ ।
मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक बालिग नागरिकले मन परेको व्यक्तिसँग सहमतिमा यौन सम्बन्ध राख्न पाउनुलाई मानवीय हकका रूपमा व्याख्या गरेको छ । तर, विवाहका लागि भने विभिन्न मुलुकले आआफ्नै मापदण्ड तोकेका छन् ।
Advertisement
किन घटाउन खोजिँदै छ विवाहको उमेर ?
विवाहको उमेर घटाउने विषयमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट गृहकार्य थालेको मन्त्री कोइरालाको भनाइ छ । कोइरालाले असार १ गतेको प्रतिनिधिसभा बैठकमा बताएअनुसार, ‘नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक छैन । यसले अपराधका घटनाहरू बढाइरहेको छ ।
विहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि मापदण्डले देखाउँदैन । २० वर्ष उमेर नपुगी भएका विवाहलाई बाल विवाह भयो भन्दै सजाय भइरहेको छ । व्यक्तिको प्राकृतिक आवश्यकताअनुसार विवाह गर्ने उमेर तोकिनुपर्छ त्यसैले पनि विवाहको उमेर पुनरवलोकन गर्नु आवश्यक छ ।’
मन्त्री कोइरालाले संसद्मा यो विषय प्रस्तुत गरेसँगै विवाहको उमेर घटाउँदाको सकारात्मक र नकारात्मक प्रभावबारे सरोकारवालाहरूले धारणा सार्वजनिक गर्न थालेका छन् । विवाहको उमेर १८ तोक्नु एकातिर महिलाको प्रजनन् स्वास्थ्यका लागि जोखिमयुक्त हुने र अर्कोतर्फ यसले मनोसामाजिक समस्या निम्त्याउने भन्दै विज्ञहरूले आपत्ति जनाएका छन् ।
१८ वर्षमा विवाह यसकारण जोखिमपूर्ण
सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)का अनुसार नेपालमा मातृ मृत्यदर २३९ प्रतिएक लाख जीवित जन्म रहेको छ ।
मृत्युको मुख्य कारण शिशु जन्मिएपछि अत्यधिक मात्रामा रगत बग्ने (पोस्टपार्टम हेमोरोज) रहेको छ । नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाज नेसोगका उपाध्यक्ष डा. पदमराज पन्त अत्यधिक रगत बग्ने समस्याको एक प्रमुख कारण ‘टिनएज प्रिग्नेन्सी’ (किशोरावस्थामा गर्भ रहने) रहेको बताउँछन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आर्थिक वर्ष २०७७–०७८ को तथ्यांकअनुसार अस्पतालले एक वर्षमा प्रसूति गराएका २२ हजार १४ जनामध्ये १५ वर्षमुनिका तीनजना छन् भने १५ देखि १९ वर्षसम्मका एकहजार ७२२ जना छन् ।
सरकारले दिगो विकास लक्ष्यअनुरूप सन् २०३० सम्ममा मातृ मृत्युदर प्रतिलाख ७० जनामा झार्ने लक्ष्य लिएको छ । त्यसका लागि ७३ जिल्लामा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागु गरिएको छ । आर्थिक वर्ष २०७९–०८० का लागि भर्खरै प्रस्तुत गरिएको बजेटमा आमा सुरक्षा कार्यक्रम लागु भएकामध्ये २५ जिल्लाका सुत्केरीलाई पोषण भत्ताबापत ५ हजार रुपैयाँ दिने उल्लेख छ । पोषण तथा सुरक्षित मातृत्व कार्यक्रमका लागि बजेट थप गरिएको छ ।
यो अवस्थामा विवाहको उमेर १८ वर्ष तोक्नु ‘महिलालाई चाँडै आमा बन्न प्रोत्साहन गर्नु’ भएको बुझाइ छ, डा. पन्तको ।
परिवार कल्याण महाशाखाअन्तरगत मातृ तथा नवशिशु स्वास्थ्य शाखा प्रमुख डा. पुन्या पौडेल पनि टिनएज प्रेग्नेन्सी र यसबाट हुने जटिलता कम गर्न सरकारले प्रयास गरिरहेको अवस्थामा ‘उमेर तोकेर भन्दा पनि सचेतनाका कार्यक्रममा जोड दिनुपर्ने’ बताउँछिन् ।
‘लहडको भरमा निर्णय गर्दा आत्मघाती हुन्छ’
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम सरकारले विवाहको उमेर घटाएर १८ वर्ष तोक्ने तयारी गर्नुलाई आत्मघाती निर्णयको रूपमा व्याख्या गर्छन् । उनकाअनुसार चिकित्सा विज्ञानले विवाहयोग्य उमेर २० वर्ष वा सोभन्दा बढीलाई मान्दछ ।
“टिनएजमा प्रेग्नेन्सीका धेरै जटिलताहरू हुन्छन्, आमा र बच्चामा धेरै समस्याहरू आउँछन् । १८ वर्षमा विवाह गर्दा यसले शिक्षा प्राप्त गर्न र स्वावलम्बी हुन समस्या हुने हुन्छ,” डा. गौतम भन्छन् “संसारभरि टिनएज प्रेग्नेन्सीलाई उच्च जोखिम मानिन्छ । विवाहको उमेर घटाएमा दिगो विकास लक्ष्यमा नकारात्मक असर पर्दछ । ऐन संशोधन गर्दा विज्ञानसम्मत गरौँ, परिणाम राम्रो आउँछ । विश्वभरिको अभ्यासलाई पनि ध्यान दिनुपर्दछ, । लहडको भरमा निर्णय गर्दा आत्मघाती हुन्छ ।”
टिनएजमा दिमागको विकास कति ?
केही समयअघि एक प्रसंगमा अनुसन्धानकर्ता सुशील देवकोटाले ट्विट गर्दै लेखेका थिए– शारीरिक रूपमा विकसित हुँदैमा मानसिक रूपमा शारीरीक सम्पर्क राख्न तयार हुँदैनन् । स्तन बढ्दैमा वा यौनांगको विकास हुँदैमा शारीरिक सम्पर्कको लागि तयार हुने होइन । २० वर्र्ष पुग्दासम्म पनि दिमागको विकास भइसकेको हुन्छ । टिनएजर्स र बयस्कको दिमाग नै फरक हुन्छ । दिमागको रूपमा उनीहरू छुट्टै प्राणीजस्तै हुन् । पहिले पहिले बलबालिका ७–८ वर्ष पुगेपछि दिमाग विकास भैसकेको हुन्छ ।
तर, दिमागको परीक्षण गर्ने प्रविधिले अहिले २० वर्र्षसम्म पनि विकास भैरहेको हुन्छ भन्ने कुरा प्रामाणित गरिसकेका छन् । मानिसको दिमागमा दुईवटा भाग हुन्छन्, प्रिफ्रन्टल कोर्टेक्स र अमिग्ला । बयस्कको दिमागमा प्रिफ्रन्टल कोर्टेक्सको पुरै भाग विकास भैसकेको हुन्छ । यो भाग संसारभरका सबै प्राणीहरूमध्ये मान्छेमा सबैभन्दा विकसित हुन्छ । यो भागको काम योजना, तर्क विचार बनाउने हो । के गर्दा के हुनसक्छ भनेर विश्लेषण गर्ने दिमागको सबैभन्दा तर्कसंगत भाग हो । यो भागले राम्रोसँग सोबचेर सबै कुराको नाफाघाटा हेर्दछ । यसलाई दिमागको सीईओसमेत भनिन्छ । तर यो मानिसको दिमागको सबैभन्दा अन्तिममा विकास हुने भाग हो । २०–२५ वर्र्षसम्म पनि यसको विकास भइरहेको हुन्छ । टिनएजमा यो भागको विकास पूरा भएको हुँदैन सयर्थ के सही के गलत भनेर छुट्याउन सक्नेगरी दिमागको विकास भैसकेको हुँदैन ।
टिनएजमा दिमागको अर्को भाग अमिग्लाले नियन्त्रण गरेको हुन्छ । अमिग्लाको भावनाको केन्द्र हो, विचार र तर्कहरूको होइन ।
त्यसैले टिनएजर्स वैचारिक वा तर्कयुक्त भन्दा पनि भावुक बढी हुन्छन् । उनीहरू दीर्घकालीन परिणाम हेर्दैनन् किनकि उनीहरूमा प्रिफ्रन्टल कोर्टेक्स विकास नै भएको हुँदैन । जब बच्चाहरू टिन एजमा पुग्छन्, यौन हर्मोनहरू उत्पादन हुन थाल्छ, तब यौनांगको साथै भावनाको विकास हुनथाल्छ । यसले उनीहरूलाई अलि रिसाउने, जोखिम मोल्न खोज्ने, परिवारभन्दा साथीसँग घुलमिल हुने जस्ता बानीको विकास गर्छ । साथै यो बेला पछिको कुरा नसोचेर क्षणिक आनन्दमा खुसी हुने, प्रकृतिको पनि विकास हुन्छ । यो सबै अभिभावकले बुझ्नुपर्ने कुरा हो ।
यही समयमा टिनएजर्स यौनको तथा चुरोटको लतमा लाग्नसक्ने हुन्छ । अरूको प्रमाणीकरण पाउन आफूलाई हानि पुग्ने काम गर्न पनि पछि पर्दैनन् । ती बालिकाको दिमाग नै पुरै विकास भइसकेको छैन, उनको दिमागले प्रमाणीकरण खोज्यो त्यही कुराको फाइदा उठाउन काम पीडकबाट भयो । यस्तो घटना जोसुकै टिनएजर्समा पनि हुनसक्छ अनि यौनको विषयमा मात्रै होइन अरू कुलत र कूसंगतको कुरामा जोडिनसक्छ । टिनएजर्सलाई यस्ता घटनाबाट जोगाउन घर परिवार, नातेदार अनि समाजको ठूलो भूमिका हुन्छ ।
२० वर्षमुनिको विवाह र गर्भावस्थाबारे मानसिक अस्पताल पाटनकी मनोचिकित्सक डा. तृष्णा कुँवर भन्छिन्, “टिनएज म्यारिज र टिन एज प्रेग्नेन्सीले मानिसलाई डिप्रेसनदेखि दीर्घकालीन समस्या निम्त्याएका उदाहरण प्रशस्तै छन् । सरकारका हरेक निर्णयमा नागरिकको मानसिक र मनोसामाजिक पाटोलाई पनि ध्यान दिने कि ?”