२०८१ पुष १०

‘मधुमेहमा पनि आँप खान हुन्छ, तर मात्रा जान्नुपर्छ’




काठमाडौं । मधुमेहका बिरामीले यो खान हुँदैन, त्यो खान हुँदैन हामीले धेरै सुन्दै आएका छौं । गुलियो त मधुमेहको बिरामीका लागि मन्द विष नै हो यो पनि हामीले सुनेका छौं । यस्तोमा गुलियो फलफूल पनि मधुमेहको बिरामीको लागि हानिकारक हुन सक्ला । तर डाक्टरहरुले फलफूल त स्वास्थ्यको लागि एकदमै राम्रो भनिरहेका हुन्छन् ।

अहिले आँपको सिजन चलिरहेको छ । जुन गुलियो फलफूलमा पर्छ । आँप गुलियो हुने र अन्य फलफूलको तुलनामा यसमा बढी सुगर हुने भएकाले मधुमेहको बिरामीले आँप खानु हुन्छ कि हुँदैन ? खाए कति मात्रामा खानुपर्छ ? यिनै विषयमा पोषणविद् आरेम कार्कीसँग गरिएको कुराकानी :



Advertisement



मधुमेहको रोगीले आँप खानुहुन्छ कि हुँदैन ?

मधुमेहको रोगीले आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ । अर्को ध्यान दिनुपर्ने कुरा भनेको ब्लड सुगर लेभल हो । ब्लड सुगर ४०० छ भने त्यस्ता व्यक्तिले एक टुक्रा मात्र खान मिल्छ र सुगर लेभल १५० देखि २०० छ भने दिनमा एउटा आँप खान मिल्छ ।

आँप र सुन्तलाको सिजनमा मानिसहरूले अलि धेरै नै मात्रामा यसको सेवन गर्ने गर्छन् । अन्य फलफूलको तुलनामा आँप, सुन्तला र केरामा सुगरको मात्रा धेरै हुन्छ । त्यसैले मधुमेहको बिरामीले सुगर लेभल जाँच गरेर खाजाको रूपमा दैनिक एउटा आँप खान सक्छन् ।

सामान्य मान्छेले धेरै मात्रामा आँप खाँदा सुगर लेभल बढ्न सक्छ ?

सामान्य मान्छेले धेरै मात्रामा आँप खाँदा सुगर लेभल बढ्दैन किन भने त्यसलाई हाम्रो शरीरले नै व्यवस्थापन गर्न सक्छ । तर मधुमेहको बिरामीको शरीरले भने त्यो आँपमा भएको सुगरलाई व्यवस्थापन गर्न सक्दैन र त्यो रगतमा गएर मिसिन्छ । सामान्य मान्छेले भने मात्रामा आँप, केरा र सुन्तला जस्ता गुलिया फलफूल खाँदा पनि शरीरले नै त्यसलाई व्यवस्थापन गर्ने भएकाले सुगर लेभल बढ्दैन ।

मधुमेहमा के कस्ता फलफूल खान हुँदैन ?

मधुमेहमा सबैखाले फलफूल खान हुन्छ । यो खान हुँदैन भनेर तोकिएको छैन । तर कुनै पनि फलफूल एकै पटक धेरै मात्रामा सेवन गर्नु हुँदैन । मधुमेहको बिरामीले दिनमा एउटा मात्र फलफूल खान मिल्छ जुन फलफूल खाए पनि ।

कस्ता फलफूल मधुमेहका लागि सर्वोत्तम मानिन्छ ?

मधुमेहका बिरामीहरूको लागि गुलियो कम भएको फलफूल सर्वोत्तम मानिन्छ । पहिलो नम्बरमा एभोकार्डो किनभने यसमा चिनीको मात्रा हुँदैन । त्यसको साथै किम्बु, जामुन, ऐंसेलु जस्ता फलफूल दुई नम्बरमा र अन्य फलफूल सुन्तला स्याउ, केरा आँप तेस्रो नम्बरमा पर्छ ।

फलफूल कति खाने र कुन समयमा खाँदा राम्रो हुन्छ ?

मधुमेहको बिरामीले दिनमा एउटा मात्र फल खानु उचित हुन्छ । त्यो पनि दिउँसोको समयमा खाजाको रूपमा खाँदा राम्रो हुन्छ । खाजामा एउटा आँप, अलिकति चना र एउटा अण्डा गरेर खान सक्छन् ।

मधुमेहका रोगीले के कस्ता खानेकुरा बार्नुपर्छ ?

मधुमेहको बिरामीले मुख्यता बार्नुपर्ने चिनीजन्य खानेकुरा र मैदाले बनेको खानेकुरा हो । अन्य खानेकुरा खासै बार्नुपर्दैन मात्रा मिलाएर खान मिल्छ । कार्बोहाइड्रेट भएको खानेकुरा कम खानुपर्छ भने भिटामिन र मिनरल्स भएको खानेकुरा बढी मात्रामा खानुपर्छ । चिनी, भात र आलु चाहिं पूरै खान छोड्ने, तर त्यसको सट्टामा टन्नै च्याँख्ला खानु हुँदैन च्याँख्लामा कार्बोहाइड्रेट हुन्छ ।

मधुमेहमा कार्बोहाइड्रेट चाहिं पूर्ण रूपमा निषेध नै हो ?

मधुमेहमा कार्बोहाइड्रेट पूर्ण रूपले निषेध गरिंदैन । खानामा २५ प्रतिशत कार्बोहाइड्रेट, २५ प्रतिशत प्रोटिन र ५० प्रतिशत भिटामिन र मिनरल्स सेवन गर्नुपर्छ । कार्बोहाइड्रेट पनि मैदा र सेतो चामल जस्तो खराब कार्बोहाइड्रेट भने कम सेवन गर्नुपर्छ ।

मधुमेह भएपछि धेरै किसिमको खानेकुरा बार्नुपर्छ भनिन्छ, यसले गर्दा उनीहरूमा पोषणको कमी हुँदैन ?

मधुमेहको बिरामीले धेरै किसिमको खानेकुरा बार्नुपर्ने हुन्छ, जसले गर्दा उनीहरूमा पोषणको कमी हुन्छ । किनकि सुगर लेभल घटाउन एकदमै खानेकुरा बार्ने नेपालीको बानी हुन्छ । स्वस्थ खानेकुरा नै धेरै मात्रामा बार्ने चलन हुन्छ । फलफूल खायो भने चिसो लाग्छ, अण्डा खायो भने पहेंलो भाग खानुहुँदैन जस्ता कुरालाई धेरै नेपालीले पछ्याउँछन्, जसले गर्दा पनि मधुमेह मात्र होइन, अन्य रोगका बिरामीमा पनि पोषणको कमी हुन्छ ।

Copy link
Powered by Social Snap