भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आएको छ। दुवै सेजका सबै प्लट उद्योगले भरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए।
‘अहिले दुवै सेजको प्लट सबै अकुपाई भइसक्यो,’ उनले भने, ‘एक वर्ष भित्रमा उनीहरूले उत्पादन सुरू गर्छन्।’
५२ विगाह क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा ६९ वटा प्लट छन्। जसमा १० अर्ब २१ करोड रूपैयाँ लगानीको ३२ वटा उद्योग सञ्चालन हुने भएका छन्।
Advertisement
यस सेजमा एउटा प्लट ६ हजारदेखि १२ हजार वर्ग मिटरका छन्।
ती उद्योगले कुल ११ अर्ब रूपैयाँ बरारबरको निर्यात गर्ने जनाएको प्राधिकरणका कार्यकारी निर्देशक भट्टले जानकारी दिए। त्यसमध्ये भाडा–वर्तनका लागि २० करोड रुपैयाँ वैदेशिक लगानी आएको छ।
सेजमा सञ्चालित उद्योगले तीन हजारभन्दा बढीलाई रोजगारी दिने बताइएको छ।
सेजमा खनीज, पानी ट्याङ्की, एलइडी लाइट, भाडा–वर्तन, हर्बल प्रोसेसिङ, आल्मुनियमको कन्टेनर, खाद्यान्न प्रशोधन, मूर्ती बनाउने, ग्रेनाइट, मेटल र प्लाष्टिक रिसाइकल, इन्डक्सन चुल्हो, सिमेन्ट बोर्ड, फर्निचर, गार्मेन्ट र एग्रो प्रोसेसिङ लगायतका उद्योग सञ्चालन हुनेछ।
त्यस्तै, एक सय ६३ विघामा स्थापित सिमरा सेजमा ६८ वटा प्लट छन्। कुल ९ अर्ब लगानीमा ४० उद्योग सञ्चालन हुने छन्।
उद्योग सञ्चालनमा आएपश्चात ४ हजारभन्दा बढीले रोजगारी पाउने उद्योगले बताएको भट्टले जानकारी दिए।
यस सेजमा भएका एउटा प्लट १५ सय देखि ३५ सय वर्ग मिटरका छन्।
सिमरा सेजमा पाइप, इलेक्ट्रिक स्कुटर एसेम्बल, बायो फर्टिलाइजर, गार्मेन्ट, इनर्जी ड्रिंक, फेल्ट तथा ऊनी, सिल्भर ज्वेलरी, एग्रो प्रोसेसिङ, आर्टिफिसियल मार्बल, मसला, न्याप्किन, टिस्यु पेपर र कुकुरको खाना उत्पादन गर्ने उद्योग सञ्चालन हुनेछ।
सेजमा स्थापित उद्योगले आयकरदेखि भन्सार शुल्कमा समेत छुट सुविधा दिएको भट्ट बताउँछन्।
उनका अनुसार उद्योगले सञ्चालमा गरेको पाँच वर्षसम्म आयाकर तिर्नु पर्दैन। त्यसपछि भने २५ वर्षसम्म लाग्ने करको ५० प्रतिशत मात्रै आयकर तिरे पुग्नेछ।
सेजमा रहेका उद्योगले आवश्यक मेसिनरी, कच्चा पदार्थ तथा प्याकेजिङ सामग्री आायत गर्दा भन्सार शुल्क लाग्ने छैन।
उद्योगले दिने लाभांशमा पनि पाँच वर्षसम्म छुट सुविधा छ। त्यसपछि भने तीन वर्षसम्म लाभांशमा लाग्ने करको ५० प्रतिशत छुट पाउने छन्।
विशेष आर्थिक क्षेत्रभित्र प्रशासनिक भवन, सेवा भवन, बैंक, इन्स्योरेन्स, उद्योगलाई आवश्यक पर्ने बत्ति, पानी र आन्तरिक बाटोको सुविधा छ।
त्यसका साथै, उद्योगीहरूले एकद्वार प्रणालीबाट सेवा सुविधा लिन सक्नेछन्। उद्योगमा काम गर्ने श्रमिकका बच्चाहरूलाई राख्ने ठाउँको समेत व्यवस्था सेजमा छ।
आगामी दिनमा उद्योग अनुमति, दर्तादेखि सेयर खरिद–बिक्रीको सेवा पनि सेजबाटै दिइने योजना रहेको भट्टले बताए।
संरचना निर्माण भएको छ वर्षपछि भैरहवा सेज सञ्चालनमा आएको हो। त्यस्तै, सिमरा सेज निर्माण भएको तीन वर्ष भयो।
पटक/पटक प्रस्ताव आह्वान गर्दा पनि उद्योगीहरू आउन अनिच्छिुक देखिएपछि सेज प्राधिकरणले यहाँ स्थापना हुने
उद्योगहरूलाई विभिन्न प्रोत्साहन सुविधा दिएपछि उद्योगी आकर्षित भएका हुन्।
यसअघि प्रति वर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडा लिने गरिएकोमा भाडादर घटाएर पहिलो वर्ष प्रति वर्गमिटर प्रतिमहिना १० रुपैयाँ लागू गरिएको छ।
त्यस्तै, दोस्रो वर्ष १२, तेस्रो वर्ष १५, चाथौ वर्षदेखि २० रूपैयाँ लाग्नेछ।
सेज सञ्चालनको सुरूआती समयमा यहाँ उत्पादित उद्योगले पहिलो वर्ष निर्यात गर्न नपर्ने सुविधा दिइएको छ। त्यसपछि भने स्थापनाको दोस्रो, तेस्रो र चौथो वर्षमा क्रमशः २० प्रतिशत, ४० र चौथो वर्षदेखि ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान बारे छलफल भइरहेको भट्टले जानकारी दिए।
‘हामी उद्योगीलाई कसरी सजह वातावरण दिन सकिन्छ भनेर छलफल गर्दै छौं,’ उनले भने, ‘अझै छुट सुविधा बढाउने हाम्रो योजना छ।’
उनका अनुसार सहुलियत ऋण र विद्युत महशुलमा छुट दिनेबारे पनि छलफल भइरहेको छ।
विश्वका एक सय ४७ देशमा पाँच हजारभन्दा बढी सेज सञ्चालनमा छन्। निर्यात बढाइ ब्यापार घाटा कम गर्न सेजको अवधारणा आएको हो।