९ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल झण्डै ६ महिनापछि टिममा फर्किएका छन् । नेपालले केन्यासँग खेलेको टी–२० बाट उनी टिममा मात्र फर्किएनन्, नयाँ जर्सीमा देखिए ।
जबकी उनले ११ नम्बर जर्सी लगाउँदै आएका थिए । मेहबुब आलम राष्ट्रिय टिममा हुँदा उनले ११ नम्बर जर्सी लगाउँथे र ज्ञानेन्द्रले २२ नम्बर लगाउँथे ।
आलमले खेल्न छाडेपछि ज्ञानेन्द्रले ११ नम्बर लगाए । पछिल्ला वर्षहरुमा ज्ञानेन्द्र राष्ट्रिय टिमका नियमित सदस्य बने । पारस खड्काले राजीनामा दिएपछि कप्तानको जिम्मेवारी पनि सम्हाले ।
Advertisement
तर खेलाडीहरुको वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै नेपाल क्रिकेट संघले २९ मंसिर २०७८ मा मल्लसहित चार खेलाडीमाथि कारबाही ग¥यो । मल्ल कप्तानबाट हटाइयो भने चार जनालाई ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय गर्यो ।
खेलाडीहरुले त्यसको विरोध गरे । कारबाही फिर्ता नभए नखेल्ने चेतावनी दिए । ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय सच्याउन क्यान तयार भएपछि मल्लसहितका खेलाडीहरु क्याम्पमा त फर्किए, तर मल्लको कप्तानी खोसियो ।
त्यसका बाबजुद उनले मार्चमा दुबईमा भएको नेपाल, यूएई र पपुवा न्यूगिनी सम्मिलित क्रिकेट विश्वकप लिग टू श्रृंखला खेले । युएईमै पीएनजीविरुद्ध पहिलो रोजाईँमा नपरेका उनी त्यसपछि भने टिममै पर्न छाडे ।
नेपालले अमेरिकामा ओमान र अमेरिका तथा स्कटल्याण्डमा नामिबिया र स्कटल्याण्डसँग लिग टू श्रृखला खेल्यो । नेपालले खेलेको चारदेशीय टी–२० श्रृखला र जिम्बावे ए टिमसँग खेलेको दुवै फर्म्याटको श्रृंखलामा पनि उनी टिममा परेनन् ।
तर अहिले उनी टिममा फर्किएका छन् । राष्ट्रिय टिममा अनुभवी खेलाडीका रुपमा उनलाई भित्र्याइएको छ, जसलाई ज्ञानेन्द्रले पनि आफ्नो नयाँ सुरुवात मानेका छन् ।
त्यसकै सन्देश दिन उनले राष्ट्रिय टिमको सुरुवाती दिनमा लगाउने २२ नम्बरको जर्सी रोजेका हुन् । ‘फ्रेस स्टार्ट गरम् भनेर,’ केन्यामा रहेको उनले छोटो प्रतिक्रिया दिए ।
नेपालका प्रमुख छनोटकर्ता दिपेन्द्र चौधरीले पनि खेलाडीको चाहनामा जर्सी नम्बर राखिने बताउँछन् । ‘पारसको ७७ नम्बर जर्सी रिटायर गरेका छौं । अरु खेलाडीले जति नम्बर लगाउन चाहन्छन्, त्यहीं लगाउने हो । ज्ञानेन्द्रले पनि २२ नम्बर रोजे’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘यसमा अरु खासै केही छैन ।’