२०८१ पुष ७

पलिनाले ५ हजारमा थालेको ‘बोजु स्टोर’, अहिले मासिक साढे तीन लाखको कारोबार




भटमासको किनेमा चाहियो कि, फिलिंगेको अचार! याङबेनको परिकार बनाएर पो खाने कि! 

पहाडको घिउ र मह त मननपर्ने कुरै भएन। आलु, दाल, सुकुटी, चियापत्ती पनि चाहिन्छ?

चामलमा मार्सी, कालो र बेलगुटी खाने भए पनि पाइन्छ। पिठो, छुर्पी, मर्चा, सिलामको छोप किन्दा पनि भयो। फलफूल र तरकारी त नपाइने कुरै भएन। मासुका अचार नै बाह्र किसिमका!



Advertisement



यस्ता धेरै खाद्य सामग्री किन्न पाइन्छ ‘बोजु स्टोर’ मा। 

बोजु स्टोर चलाउँछिन् २६ वर्षीया पलिना राई। उनले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका नेपाली उत्पादन आफ्नो पसलमा राखेकी छन्। पूर्वको ताप्लेजुङ, इलाम, झापा, भोजपुर, तेह्रथुमदेखि पश्चिमको हुम्ला, जुम्ला, कालिकोट, डोल्पासम्मका विशेष उब्जनी उपलब्ध छ।

‘यहाँ सबै अर्गानिक र रैथाने उपज पाइन्छ,’ पलिनाले भनिन्।

बोजु स्टोर स्थापना भएको दुई वर्ष भयो। पलिनाले किराती खाना किनेमा, फिलिंगेको अचार र याङबेनबाट व्यवसाय सुरू गरेकी हुन्। खाद्य सामग्री थप्दै जाँदा झन्डै देशभरका उत्पादन बेच्ने भएकी छन्। 

किनेमा ‘फर्मेन्ट’ गरिएको भटमास हो। याङबेन भनेको उच्च पहाडी क्षेत्रमा पाइने एक किसिमको जंगली झ्याउ वनस्पति हो। फिलिंगेलाई कतैकतै झुसे तिल पनि भन्ने चलन छ। 

‘किनेमा निकै पौष्टिक र स्वास्थ्यवर्द्धक परिकार हो। यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ। खराब कोलस्ट्रोल हुँदैन, प्रोटिन धेरै हुन्छ,’ उनले भनिन्, ‘त्यस्तै याङबेनमा कब्जियतको समस्या कम गर्ने गुण हुन्छ। पाठेघरको समस्या कम गर्ने र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्ने तत्व पनि पाइन्छ।’

पलिना बोजु स्टोरमार्फत किरात समुदायका खाना काठमाडौंबासीलाई खुवाउन चाहन्छिन्। उनका अनुसार यहाँ पाइने हरेक परिकारका भिन्न विशेषता छन्। 

किनेमा, याङबेन, घिउ, मह र सुकुटी ताप्लेजुङको हो। सुकुटी सोलुखुम्बु र संखुवासभाको पनि छ। आलु र दाल भोजपुर, पाँचथर र तेह्रथुमको छ। चियापत्ती इलामको। डोल्पाको केसर पनि पाइन्छ। मार्सी चामल हुम्ला, जुम्ला, कालिकोट र सुर्खेतको हो। उतैको सिमी, थाइम चिया र सिलाजित पनि उपलब्ध छ। अर्गानिक गोल्डेन टी, ह्वाइट टी, ग्रीन टी लगायत आठ प्रकारका चिया उपलब्ध छन्। 

उनी चियालाई थप ब्रान्डिङ गर्ने विचारमा छिन्। यसलाई ‘प्रिमियम आइटम’ का रूपमा विदेश पुर्‍याउन सकिने उनको भनाइ छ। उनी चियाको गुणस्तर र प्याकेजिङमा सचेत छिन्।

पलिनालाई बोजु स्टोरको आइडिया तीन वर्षअघि आएको हो। २०७६ को कात्तिकमा उनी पहिलोपटक कञ्चनजंघा पदयात्रामा गएकी थिइन्। त्यही बेला ताप्लेजुङका दुर्गम गाउँमा रैथाने परिकारहरू खान पाइन्। राई समुदायकी पलिनाले त्यसअघि पनि किराती परिकार नखाएकी होइनन्। त्यस बेला भने मौलिक स्वाद चाख्न पाइन्।

‘त्यही पदयात्राले मलाई व्यवसायको एउटा नयाँ सोच दियो,’ उनले भनिन्, ‘तराई, काठमाडौं र अन्य सहरी क्षेत्रमा त्यस्ता रैथाने परिकार उपलब्ध थिएनन्। मैले त्यही समय गाउँघरतिरका रैथाने उत्पादन काठमाडौं ल्याउने सोचेँ।’

यो यात्राअघि उनको विचार अर्कै थियो।



झापाकी स्थायी बासिन्दा पलिना अठार वर्षको उमेरमा प्रेम बिहे गरेर धरान पुगिन्। दिन बित्दै जाँदा वैवाहिक सम्बन्ध खराब बन्दै गयो। 

‘दाम्पत्य बेमेलका कारण घरेलु हिंसामा परेँ। माइतीसँग पनि सम्बन्ध बिग्रियो,’ उनले भनिन्, ‘अनि चार वर्षअघि दुई वर्ष उमेरको छोरो बोकेर काठमाडौं आएँ।’

त्यस बेला उनी २२ वर्षकी थिइन्। काठमाडौंमा ठूलो बुबाका छोरा, दाइले सहयोग गरे। झापामै बाह्र कक्षा पूरा गरेकी उनी धरान हुँदा शिक्षण पेसामा थिइन्। स्नातक तह भर्ना भए पनि पढाइ अघि बढ्न सकेन। काठमाडौं आएर शिक्षण पेसामै लागिन्।

त्यसपछि उनी पोल्यान्ड जाने सोचमा थिइन्। प्रक्रिया थाल्ने तयारी हुँदै थियो। त्यहीबीच उनलाई एकपटक ताप्लेजुङतिर पदयात्रामा जाने विचार आएको थियो।

‘वैवाहिक सम्बन्धमा उत्पन्न खटपटले पनि केही दिन शान्त ठाउँ घुम्न प्रेरित गर्दै थियो,’ पलिनाले भनिन्, ‘सानैदेखि घुम्न र नयाँ ठाउँ पुग्न रहर थियो। वैवाहिक सम्बन्ध टुटेपछि मलाई विगतका सम्झनाबाट टाढिनु थियो। म पूर्वतिर पदयात्रामा गएँ।’

उनी करिब एक महिना कञ्चनजंघा क्षेत्रमा घुमेर काठमाडौं फर्किन्। आफूलाई ‘फ्रेस’ महसुस गरिन्। केही राम्रो काम गर्ने अठोट र स्फूर्तिका साथ दिनचर्या सुरू गरिन्।

ताप्लेजुङ जाँदा खाएका रैथाने खानामध्ये किराती समुदायको प्रख्यात किनेमाको स्वाद उनको जिब्रोमै झुन्डियो। पदयात्रामा हुँदै केही जानकारी लिएकी थिइन्, आफैं बनाउने प्रयास गरिन्। सोचेजस्तो सजिलो भएन। 

उनले भनिन्, ‘तरिका सुन्दा सजिलो लागेको थियो। तर राम्रोसँग बनाउन नजान्दा धेरै पटक भटमास खेर गयो।’ 

निकै प्रयासपछि अन्ततः पलिना मिठो किनेमा बनाउन जान्ने भइन्। आफन्त र साथीसंगीलाई कोसेली पठाएर चखाइन्। धेरैले मनपराए। सुरूमा कोसेली पाउनेहरूले बिस्तारै उनीसँगै किन्न थाले। 

‘किनेमा रूचाएको देखेर काठमाडौंमा रैथाने किराती खानाको व्यवसाय गर्न उत्साहित भएँ,’ पलिनाले भनिन्, ‘त्यसपछि फेरि पूर्वमा पदयात्रा जानेक्रममा विभिन्न ठाउँबाट रैथाने खानेकुरा किनेर ल्याएँ।’ 

गाउँघरमा पाइने रैथाने अन्न र खानाले बजार पाएका हुँदैनन्। यातायात सहज र नजिकै बजार क्षेत्र नहुँदा दुर्गमका उत्पादन खेर जान्छन्। किसानलाई आफ्नो उत्पादनको व्यावसायिक महत्त्व थाहा नहुँदा पनि बजार पुग्दैन। अनि नबिक्ने भएपछि किसानले उत्पादन पनि गर्दैनन्। 

यो अवस्था विचार गरेर पलिनाले त्यस्ता उत्पादन बजार पुर्‍याउने अठोट गरिन्। ‘बोजु स्टोर’ नाम राखेर सामाजिक सञ्जालमा एउटा खाता खोलिन्। आफूसँग भएका सामग्रीको फोटो पोस्ट गरिन्। किनेमासँगै किराती खाना चिम्फिङ, खानक्पा, अकबरे खुर्सानीको अचार, सिस्नुको धूलो, याङबेन, छुर्पी इत्यादिको अनलाइन व्यवसाय सुरू भयो।

‘त्यस बेला पाँच हजार रूपैयाँ लगानीमा सुरू गरेकी हुँ। त्यही पैसाबाट भटमास किनेर किनेमा बनाएकी थिएँ। खोकनाबाट तोरीको तेल ल्याएर अकबरे खुर्सानीको अचार हालेकी थिएँ,’ उनले सुरूआती दिनको लगानीबारे बताइन्।

व्यापार बढ्दै गएपछि उनले सामानका प्रकार बढाउँदै गइन्। ग्राहकले धेरै रूचाउने किनेमा, याङबेन, चियापत्ती, चामल, सिमी, मासुको अचार, घिउ हो।

उनका अनुसार सुरूआती दिनमै पूर्व मिस नेपाल माल्भिका सुब्बाले बोजु स्टोरको किनेमा र याङबेन खाएर सामाजिक सञ्जालमा प्रतिक्रिया लेखिन्। यसले बोजु स्टोरको व्यवसाय प्रवर्द्धनमा मद्दत पुग्यो। धेरै नेपाली सेलेब्रिटी र कलाकारहरू बोजु स्टोरका ग्राहक छन्।

‘मैले बेच्ने सामग्री गुणस्तरीय र सहुलियत मोलको छ,’ पलिनाले भनिन्।

बोजु स्टोरमा ५० भन्दा बढी प्रकारका सामग्री छन्। ग्राहकको सहजता र रूचिअनुसार प्लास्टिक थैला, सिसाको बट्टा वा बाँसका टोकरीमा प्याकेजिङ गरिएको हुन्छ। नेपाली संस्कृति झल्काउने प्याकेजिङमा उनले जोड दिएकी छन्।

‘हामी वातावरणमैत्री प्याकेजिङमा जोड दिन्छौं। कतिपय खाद्यवस्तु भने प्लास्टिकमै प्याक गर्न सहज भइदिन्छ,’ पलिना भन्छिन्, ‘हरेक प्याकेजिङ वातावरणअनुकूल बनाउनेबारे अध्ययन गर्दैछौं।’ 

पलिनाका अनुसार हाल काठमाडौं उपत्यकासँगै ४० जिल्लाका सहरमा बोजु स्टोरको सामग्री पुगिरहेको छ। विदेशमा खाडी राष्ट्रहरू, हङकङ, अमेरिका र बेलायत पनि पुगेको छ। उपत्यकाभित्र केही डेलिभरी कम्पनीसँग सहकार्य छ। ग्राहकको प्रतिक्रिया प्रत्यक्ष थाहा पाउने उद्देश्यले आफैं पनि डेलिभरीमा जान्छिन्। 

कोरोनाको दोस्रो लकडाउनपछि बोजु स्टोरको बजार बढेको पलिना बताउँछिन्। लकडाउन खुलेको एक सातामै पचास हजार रूपैयाँको सामान बिक्री भएको थियो।

‘हाल मासिक साढे तीन लाख रूपैयाँसम्मको कारोबार भइरहेको छ,’ उनले भनिन्।

सुरूमा उनी अनलाइन व्यवसाय मात्र गर्ने सोचमा थिइन्। धेरै ग्राहकले सामान हेरेर किन्ने इच्छा र पसल सञ्चालन गर्न आग्रह गरेपछि उनले गत साउनमा बालुवाटारस्थित उत्पला क्याफेमा बोजु स्टोर सुरू गरेकी हुन्। 

बोजु स्टोरमा हाल चार जना कर्मचारी छन्। ग्रामीण क्षेत्रमा सामान जम्मा गरेर पठाउने काममा पनि सहयोगीहरू छन्। ग्रामीण किसानका रैथाने उत्पादन स्टोरले किन्छ। गुणस्तरमा कुनै सम्झौता नहुने पलिनाको दाबी छ।

भन्छिन्, ‘धेरै ग्राहक बटुल्नभन्दा भएका ग्राहकलाई गुणस्तरीय सामान दिने उद्देश्य हो। खोजेको सामान नभए छैन भन्छु तर अन्यत्रको बेच्दिनँ।’

बोजु स्टोरमा विभिन्न ठाउँबाट वर्षमा एक वा दुई पटकसम्म सामान ल्याइन्छ गरिन्छ। त्यसैले धेरै भण्डार हुँदैन। ग्राहकले आफूले खोजेको सामान महिनौं कुरेर पनि लिने उनी बताउँछिन्। 

अब उनी स्टोर विस्तार गर्ने योजनामा छिन्। विभिन्न जिल्लाका संस्कृति र कला झल्काउने भाँडाकुडा, कपडा, पूजा सामग्री लगायत पनि राख्ने विचार छ। त्यस्तै यो व्यवसायमा अझ एक-दुई पाइला अघि बढ्ने योजनाअनुरूप गुणस्तरीय अर्गानिक कृषि उपजका परिकारको रेस्टुरेन्ट चलाउने सपना छ। 

कुनै बेला विदेश जाने सपना देखेकी पलिनाको बाटो पदयात्राले मोडिदिएको छ। उनी स्वदेशमा आफ्नै व्यवसायमा अगाडि बढिरहेकी छन्। 

विगतमा जे हुनु थियो भइहाल्यो, अहिले जे हुँदैछ सबै ठीकै हुँदैछ भन्ने लाग्छ उनलाई।

उनी भन्छिन्, ‘हरेक मानिसको जीवनमा संघर्षको पाटो हुन्छ। मेरो पनि थियो। हिजोको दिनप्रति कुनै पछुतो छैन, बरू आभारी छु। त्यही संघर्षकै कारण आजको स्थानमा पुगेकी छु।’

Copy link
Powered by Social Snap