फेसन डिजाइनका सहपाठी सुरज राई र आरोही बलामीले चार हजार रूपैयाँको कपडा किनेर एउटा टेलरमा ज्याकेट सिलाउन दिएको एक वर्ष मात्रै भयो।
उनीहरूले आफूले डिजाइन गरेर सिलाउन दिएका थिए। चाहेजस्तो ज्याकेट तयार भएपछि थप कपडा दिएर जम्मा दस वटा ज्याकेट बनाए। फेसबुक र इन्स्टाग्राममा ‘डिस’ नामक पेज खोले। त्यहीँ ज्याकेटहरूको विज्ञापन गर्दै बिक्रीका लागि राखे। सोचेअनुसारै बिक्री भयो।
सुरज र आरोही उत्साहित भए। अनि ज्याकेट उत्पादनमा नयाँ नेपाली ब्रान्ड ‘डिस’ थप्ने निधो गरे।
‘डिसलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गराइरहेका छौं। नाम चलेका अरू ब्रान्डसँग प्रतिस्पर्धा गर्न खोज्दैनौं,’ सुरज भन्छन्, ‘उत्पादन थालेको छोटो समयमै बजारमा माग बढेको छ।’
Advertisement
डिसले खासगरी युवा ग्राहकको रोजाइअनुसार जाडो र गर्मीयाम दुवैका लागि उपयुक्त ज्याकेट उत्पादन गर्छ। विन्डप्रुफ (हावा नछिर्ने) र वाटरप्रुफ (पानी नछिर्ने) ज्याकेट उत्पादन हुन्छ।
आरोहीका अनुसार डिस ब्रान्ड युवापुस्ताको रोजाइमा परेको छ।
‘हाम्रो ज्याकेट झट्ट हेर्दा अलिक खुकुलो देखिन्छ। युवाहरू आजकाल खुकुलो ज्याकेट मन पराउन थालेका छन्,’ आरोहीले भनिन्, ‘हामीले तिनै युवापुस्तालाई लक्षित गरेका हौं।’
सुरज र आरोही दुवै फेसन डिजाइनिङमा स्नातक तहका विद्यार्थी हुन्। सामान्यतया उनीहरू आफ्नै ढंगले ज्याकेट डिजाइन गर्छन्, ग्राहकको सुझाव पनि लिन्छन्। सुरजका अनुसार हालसम्म उनीहरूले सयभन्दा बढी डिजाइनका ज्याकेट तयार गरिसके। सबभन्दा बढी ढाका प्रिन्ट र टाइगर प्रिन्ट रूचाइएको छ।
हाल डिसले साढे तीन हजारदेखि साढे चार हजार रूपैयाँसम्मको ज्याकेट बेच्छ।
ज्याकेट उत्पादनको काम गर्ने मुख्य सोच २२ वर्षीय सुरजकै हो। फेसन डिजाइनलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने उनको मान्यता छ।
यी दुई साथी कसरी आए त ज्याकेट व्यवसायमा?
झट्ट हेर्दा यसमा कोरोना भाइरसको योगदान छ। कोरोनाका कारण देश लकडाउनमा थियो। यही बेला सुरज र आरोहीले स्वरोजगार बन्ने उपाय खोजी गरे।
‘लकडाउनमा कलेज बन्द भयो। घरमा मोबाइल चलाएर बस्नेबाहेक केही काम थिएन,’ तीन दिन सम्झिँदै आरोहीले भनिन्, ‘त्यो फुर्सदको समयमा हामी दुबैले केही अध्ययन र अनुसन्धान गर्यौं।’
उनीहरूले घरमै बसेर थोरै लगानीमा गर्न सकिने कुनै कामको खोजी गरे। यही क्रममा उनीहरू फेसनदार ज्याकेट डिजाइन गर्ने निष्कर्षमा पुगे। कोरोना महामारी मत्थर हुँदै गयो। बजार खुल्न थाल्यो। ज्याकेटको माग र ग्राहकको रूचि बुझ्न सुरज र आरोही बजार घुमे। राजधानी उपत्यकाका विभिन्न ठाउँमा ज्याकेटको बजार बुझ्ने क्रममा उनीहरूले व्यापारीहरूसँग पनि भेटे।
करिब सात महिना बजार अध्ययन र अवलोकनपछि उनीहरूले ज्याकेटका लागि डिजाइन बनाउने तयारी गरे।
‘बजारमा खोजेजस्तो ज्याकेट पाइँदोरहेनछ। हामीले ग्राहकको रूचिअनुसारको ज्याकेटको अभाव देख्यौं,’ सुरजले भने, ‘हामी दुबै जना ज्याकेटमै काम गर्ने निर्णयमा पुग्यौं।’
बढ्दो युवा उमेरका सुरज र आरोहीले आफूजस्ता युवाले रोज्ने डिजाइन बनाउनमा जोड दिए।
‘हामी पनि युवा, आफूजस्ता युवाहरूले रूचाउने ज्याकेट उत्पादन गर्ने र त्यसको नाम डिस राख्ने सोच भयो,’ सुरजले भने, ‘डिस भनेको र्यापरहरूले प्रयोग गर्ने शब्द हो।’
उनीहरूले एक महिनामा दस वटा डिजाइनका स्केच तयार गरे। अब चाहियो कपडा र सिलाउने ठाउँ।
आरोही असनकी बासिन्दा भएकाले कपडा पाइने पसलबारे उनलाई केही मेसो थियो। उनीहरूले असनबाट पहिलोपटक चार हजार रूपैयाँको कपडा किने। अलिक ठूलो लगानी पनि गर्न सक्थे र उनीहरू परीक्षण गर्दै अघि बढ्न चाहन्थे।
‘परिवारमा भनेर अलिक ठूलो लगानी पनि गर्न सक्थ्यौं,’ आरोहीले भनिन्, ‘थोरै लगानीमा थोरै उत्पादनबाट अघि बढ्ने भनेर सुरुमा चार हजार मात्र लगानी गर्यौं।’
सुरजका अनुसार खासमा उनीहरूले ‘पकेट मनी’ बाट कपडा किनेका थिए।
ज्याकेटको डिजाइन र कपडा बोकेर असनकै एक ‘लेडिज टेलर’ मा पुगे। करिब एक महिनामा आफ्नो डिजाइनको ज्याकेट तयार भयो। टेलरले ज्याकेट बिक्री भएपछि ज्याला लिने भयो।
सुरजका अनुसार ग्राहकले डिसको ज्याकेट निकै रूचाइयो। उनीहरूले क्रमशः उत्पादन बढाए। सुरूका ६ महिना टेलरमै सिलाउन लगाए। माग बढ्न थालेपछि सिलाइ मेसिन किने, कालिगढ राखे।
अहिले डिसको कारखाना असनमै छ। मेसिन तीन वटा छन्, कालिगढ पनि तीन जना छन्। उनीहरूसँग ज्याकेटका करिब सय डिजाइन छन्।
‘ज्याकेटमा ग्राहकहरूको रूचि बदलिइरहन्छ,’ सुरज भन्छन्, ‘ग्राहकहरू फरक डिजाइन खोजिरहेका हुन्छन्। यसपालिको जाडो यामका लागि हुडी निकाल्ने तयारी छ। अहिले यसको डिजाइन गर्दै छौं।’
डिसको ज्याकेट काठमाडौं उपत्यकासँगै देशका विभिन्न सहरहरूमा पुग्ने गरेको छ। अर्डर सामाजिक सञ्जालबाटै अर्डर आउने गरेको छ। हाल मासिक करिब एक लाख पचास हजार रूपैयाँको कारोबार हुने गरेको उनले बताए।
आगामी दिनमा बालबालिकाका लागि पनि ज्याकेट बनाउने तयारी छ। उत्पादन बढाउँदै देशका प्रमुख बजारमा पुग्ने लक्ष्य लिएका छन्।
डिसको व्यापार बढ्दै गए पनि हालसम्म पसल छैन। छिटै काठमाडौंमा एउटा पसल खोल्ने तयारी पनि छ।
‘व्यवसाय चल्न ठूला र आकर्षक शोरूम नै हुनुपर्छ भन्ने रहेनछ,’ उनीहरू भन्छन्, ‘गुणस्तरीय सामान उत्पादन गर्न सकेमा अनलाइनबाटै पनि राम्रो व्यापार हुने रहेछ।’
बजारमा अन्य स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि आफ्नै छुट्टै विश्वसनीय ब्रान्ड बनाउने लक्ष्यका दुई सहकर्मी सुरज र आरोही अघि बढेका छन्।