काठमाडौँ — निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराएको छ ।
Advertisement
आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो । आयोगको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराएका हुन् । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तराष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।
आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरूको बारेमा विस्तृत जानकारी गराएका थिए । उनले निर्वाचनमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरी व्यवस्था मिलाइएको जानकारी दिएका थिए ।
भटराईले ३ वटा अन्तराष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताएका थिए । कार्यक्रममा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूले संविधानमा उल्लेख भएअनुसार महिला सहभागिताको प्रत्याभूतिबारे जिज्ञासा राखेका थिए ।