काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनदेखि सँगै रहेका नेता डा. शेखर कोइरालासँग अहिले पनि सँगै रहेर पार्टीभित्र विधि स्थापित गर्न लागिपरेको बताएका छन् ।
विराटनगरमा कांग्रेस नेता गुरु घिमिरेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले देश बनाउने अभियानमा लाग्दा उमेर सोध्ने काम भएको बताउँदै अभियानबाट पछि नहट्ने स्पष्ट पारे ।
Advertisement
“देश बदल्छौं भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने ?,” उनको प्रश्न थियो, “कुन दाइ रिसाउनुहुन्छ मतलब गर्नुहुँदैन । अब मनको डर निकाल्नुपर्छ ।”
उनले विचारको कारणले महाधिवेशनमा शेखर कोइरालासँग एकैठाउँमा उभिएको हुँदा फेरि पनि पार्टीभित्र सुधारका एजेन्डा सँगै लिएर अघि बढ्ने बताए ।
“हामी उहाँकै नेतृत्वमा, उहाँसँगै रहेर काम गर्छौँ । पार्टीभित्र पनि सुधारका एजेन्डा अघि सार्छौँ । विधिको शासन स्थापित गर्न व्यापकरुपमा काम गर्छौँ,” उनले भने, “कांग्रेसको लोकप्रिय मत घट्यो भन्ने चिन्ता लाग्नु स्वाभाविक हो । हामी एक्लै लडेर आएको होइन मिलेर लड्दा आएको सिट हो ।
कांग्रेसले यसपल्ट सरकार यसरी चलाउँछ भनेर देखाउन सके लाखौँ मतदाता कांग्रेसतिरै आउँछ । अर्कोपल्ट कांग्रेस ४० प्रतिशतको पार्टी बन्छ ।”